शहीद स्मारक ए डिभिजन लिग : च्याम्पियन बन्यो चर्च ब्वाइज

काठमाडौं । चर्च ब्वाइज युनाइटेड पहिलो सिजनमै शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन बनेको छ । मंगलबार दशरथ रंगशालामा थ्रीस्टारसँग गोलरहित बराबरी खेलेपछि चर्च ब्वाइजले लिगको एक खेल अगावै उपाधि जितेको हो ।

नेपाली घरेलु फुटबल संरचनामा सी डिभिजन छनोटदेखि ए डिभिजनसम्म लगातार च्याम्पियन बन्ने दुर्लभ इतिहास बनाउने चर्च ब्वाइज दोस्रो टिम बनेको छ । यसअघि मनाङ मस्र्याङ्दी क्लबले डी देखि ए डिभिजनसम्म लगातार च्याम्पियन बनेर इतिहास बनाएको थियो । २०३९ देखि २०४३ सालसम्म मानङ डी, सी, बी र ए डिभिजन च्याम्पियन बनेको थियो ।

मनाङको कीर्तिमान बराबर गरेको चर्च ब्वाइज २०६६ सालमा स्थापना भएको क्लब हो । सी डिभिजन छनोटमा लगातार पाँचपल्ट असफल भएको यो टिमले २०७६ सालमा सी डिभिजन छनोटको उपाधि जितेको थियो ।

२०७७ मा सी डिभिजन, २०७८ मा बी डिभिजनको उपाधि जितेको यो टिमले यस सिजन ए डिभिजन लिगको उपाधि जितेको हो । यसपल्ट उसले लगातार दुईपल्टको साविक विजेता मछिन्द्रलाई पछि पारेर उपाधि जितेको हो ।

प्रतिक्रिया