पुँजीबजारमा ३९ प्रतिशत कर नमान्ने भन्दै प्रदर्शन

काठमाडौं । सेयर लगानीकर्ताहरूले पुँजीगत लाभकरलाई अन्तिम कर नै कायम गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । उनीहरूले सेयर कारोबारमा बजेटले गरेको व्यवस्थाप्रति आपत्ति जनाउँदै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५ प्रतिशत र ७ दशमलव ५ प्रतिशत पुँजीगत लाभकर अन्तिम गर्नुपर्ने, पुँजीबजारमा ३९ प्रतिशत कर नमान्ने जनाएका छन् ।

प्रदर्शनमा सहभागीहरूले आर्थिक विधेयक संशोधन गर, पश्चगामी कर नीति खारेज गर, लगानीकर्तामाथि जालझेल बन्द गरलगायका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनमा रास्वपा सांसद हरि ढकालले ऐक्यबद्धता जनाउँदै सेयर लगानीकर्ताको माग पूरा गर्न सरकार गम्भीर हुनुपर्ने बताए । लगानीकर्ताको सम्पत्तीमाथि लामो हात गर्ने प्रयासलाई असफल बनाउने उनले बताए । उनले यस मुद्दालाई सम्पूर्ण लगानीकर्ताहरू एकजुट भएर अघि बढाउन सुझाव दिए । उनले यस विषयमा संसदमा सशक्त रूपमा आवाज उठाउने जानकारी दिए । यता अर्थमन्त्री डा प्रकाशशरण महतले भने सेयर लगानीकर्ताहरू आयकरको दायरामा नआउने भन्दै भ्रममा नपर्न आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया