आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोटमा २ सडक धमाधम कालोपत्रे भइरहेका छन् । आठबिसकोट नगरपालिका–९ राडीबजार र वडा–४ र ५ को गोतामकोटका सडकखण्ड कालोपत्रे हुने भएका छन् । करिब २ दशक पुरानो आठबिसकोट सडक कालोपत्रे नहुँदा यातायात सञ्चालन गर्न असहज भएको थियो । सो सडक कालोपत्रे सम्पन्न भएपछि जाजरकोट, डोल्पा र रुकुम पश्चिमका स्थानीयहरूलाई आवतजावत गर्न सहज हुने भएको हो ।
उक्त सडक खण्ड ठेक्का आह्वान भएपछि सडक कालोपत्रे हुनेमा आशावादी रहेको र सडकको ट्रयाक खुलेको लामो समयदेखि कालोपत्रे नहुँदा स्थानीयहरूले सास्ती बेहोर्नुपरेको वडा–९ का वडाध्यक्ष जनकबहादुर बटालाले जानकारी दिए । सडक पालोपत्रे भएपछि कृषि उपज निर्यातसँगै यातायात सञ्चालन सहज हुने बटालाले बताए । आठबिसकोट नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको राडी बजार–पसाने, क्याम्पस रोड सडकखण्डको कालोपत्रे अन्तिम चरणमा पुगेको छ । नगरपालिकास्थित राडीबजारदेखि भेरी करिडोर भेरी नदीको पुल जोड्ने ४ किलोमिटर दुरीभित्र सडक कालोपत्रेको काम धमाधम भइरहेको छ ।
कालोपत्रे जिम्मेवारी पाएको गोर्खा मंगलदीप जेभीले समयमै काम सम्पन्न गरेको छ । केही महिना पहिले नै पिचको अन्तिम चरणमा पुगेको सो सडक भुक्तानी नपाउँदा समस्यामा परेको थियो । २०८० वैशाखमा सम्झौता भएको उक्त सडक खण्डमा सम्पन्न गर्नुपर्ने समयमै कम्पनीले सडक निर्माण गरेको हो । कम्पनीका निर्देशक राज शाहीका अनुसार अबको १–२ दिन भित्रमा सबै कालोपत्रेको काम सम्पन्न हुने बताए । शाहीका अनुसार राडीबजारको तल्लो बजार, नगरपालिकादेखि सहिद स्मृति स्कुल सम्मको सडक, पिपलबोटदेखि क्याम्पस रोडअन्तर्गत सडक खण्डको नापी कार्यालय र पसाने, सहिदगेटसम्मको सडकमा कालोपत्रेको काम सकिएको जानकारी दिए ।
कम्पनीका अनुसार ५ किलोमिटर सडक कालोपत्रे गर्नुपर्नेमा ३ किलोमिटर सकिएको र बाँकी १ किलोमिटर भइरहेको जनाएको छ । ‘सुरुदेखि नै कामलाई तीव्रता दिँदै आएका छौँ, रकम अभाव नभएको भए ६ महिना पहिले नै कालोपत्रेको काम सकिन्थ्यो’, निर्देशक शाही भन्छन्, केही समय सरकारले बजेट नदिएर अल्झाए पनि अब करिब कालोपत्रेको काम सकिएको छ । मंगलदीपले सडक कालोपत्रे सँगै ठाटीखोला नजिकै बसपार्क पनि निर्माण सम्पन्न गरेको छ । उक्त सडक कालोपत्रे गर्नका लागि २०८० वैशाख १४ गते भ्याटसहित कुल २० करोड ७९ लाख ४६ हजार रुपैयाँमा मंगलदीप कम्पनीले सम्झौता गरेको थियो ।
त्यस्तै राप्ती राजमार्गअन्तर्गत पर्ने छरीबगर गोतामकोट पाटागाउँ सडकखण्ड पनि धमाधम कालोपत्रे भइरहेको छ । सो सडक कालोपत्रे गर्ने जिम्मा लिएको यति बिल्डर्सले कालोपत्रेको कामलाई तीव्रता दिएको हो । गोतामकोटको बगेनाहदेखि थापागाउँ सम्मको १० किलोमिटर सडक कालोपत्रे भइरहेको छ । भेरीकरिडोर हुँदै वडा–४ र ५ लाई जोड्ने राप्ती राजमार्ग कालोपत्रेपछि डोल्पा र रुकुमपश्चिमका बासिन्दालाई आवतजावतमा थप सहज हुने छ । वडा–४ का नरसिङ बिष्टले गोतामकोटमा पहिलोपटक सडक कालोपत्रे भएकोले बर्खामा हिलो र हिउँदमा धुलोबाट वडाबासी मुक्त बताए ।
सो सडक कालोपत्रे गरिएसँगै गोतामकोटको धार्मिक तथा पर्यटकीय क्षेत्र चित्रीपाटन, मालिका मन्दिर दर्शन गर्न आउने पर्यटकलाई सहज भएको छ । सोही सडक हुँदै गोतामकोटदेखि खदी पुग्ने बाँकी सडक खण्डको समेत निर्माण भइरहेको छ । आठविसकोट नगरपालिकाको केन्द्रसमेत रहेको उक्त सडक खण्डमा कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । यो सँगै आठबिसकोटमा १४ किलोमिटर सडक पिच भएको छ ।
पालिकाको मुख्य सडक अलपत्र
२ सडक कालोपत्र भइरहँदा मुख्य सडक भने अलपत्र अवस्थामा छ । रुकुमपश्चिमको आठबिसकोटमा सबैभन्दा बढी व्यस्त सडकअन्तर्गत पर्ने चिसापानी–राडीबजार जोड्ने सडक कालोपत्र गर्ने योजना अलपत्र परेको हो । सडक कालोपत्र गर्ने ठेक्का लिएको ठेकेदार कम्पनीको लापरबाहीका कारण सडक आयोजनाअन्तर्गत कालोपत्र योजनाको काम अलपत्र परेको हो ।
कालोपत्र आयोजनाको ठेक्का एमएस पिएस जियसएचसी जेभी कपनले २०७८ जेठ ३ गते लिएको थियो । ठेकेदारको अटेरीले ५ वर्षमा पनि आयोजनाले पूर्णता पाउन नसक्दा यात्रु, यातायात व्यवसायी र स्थानीयबासी सास्ती पाएका छन् । आठबिसकोट नगरपालिका–११ चिसापानीदेखि पालिकाको केन्द्र राडीबजारसम्म ८ किलोमिटरसहित चिसापानी, राडी नदुवा मुसिकोट माछिमी सडक आयोजनाअन्तर्गत सडक कालोपत्र गर्न ठेकेदार कम्पनी र पूर्वाधार विकास कार्यालय चौरजहारीबीच ३३ करोड ४८ लाख ८९ हजार ८७३ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । कार्यालयका अनुसार आयोजनाको अहिलेसम्म भौतिक प्रगति करिब ४० प्रतिशत सम्पन्न भएको छ ।
सम्झौताअनुसार निर्माण कम्पनीले २०८२ जेठ २० भित्र काम सम्पन्न गर्नुपर्ने छ । तर, उक्त सडकमा अहिलेसम्म काम नभएको जनाइएको छ । पूर्वाधार विकास कार्यालय चौरजहारीका प्रमुख रामचन्द्र बिसीका अनुसार ठेकेदार कम्पनीलाई छिटो काम गर्न ताकेता गरिएको र कम्पनीले अटेरी गर्दै आएको बताए । उक्त सडक छिटो निर्माण गर्न नगरपालिकाले पटकपटक ताकेदा गर्दा पनि ठेकेदारले अटेरी गर्दै आएका कारण सडक अलपत्र परेको हो । कर्णाली प्रदेश सरकारले अघिल्लो वर्ष चिसापानी, राडी, नुवाकोट, नदुवा, मुसीकोट सडक निर्माणलाई निरन्तरता दिन ३२ करोड विनियोजन गरेको थियो । जाजरकोटदेखि चिसापानीसम्म भेरीकरिडोरभित्र पर्ने ११ किलोमिटर सडक कालोपत्रे छ । तर चिसापानीदेखि राडीबजारसम्मको सडक भने ट्रयाक खुलेदेखि नै अलपत्र अवस्थामा छ ।
रुकुम पश्चिम
प्रतिक्रिया