मच्छिन्द्र र आर्मीले अंक बाँडे, एपिएलले जावलाखेललाई हरायो

‘ए’ डिभिजन लिग

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी एफसी र साविक विजेता मच्छिन्द्र एफसीले बराबरी खेल्दै अंक बाँडेका छन् । च्यासल मैदानमा शनिबार भएको खेलमा दोस्रो स्थानको मछिन्द्र र आर्मीले १–१ को बराबरी खेले । खेलमा आर्मीले पहिले अग्रता लिएपनि जोगाउन सकेन भने उसकै आत्मघाती गोलको मद्दतमा मच्छिन्द्रले एक अंक खोस्न सफल भयो ।

खेलको २३ औं मिनेटमा दिनेश हेम्जनले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । तर ६० औं मिनेटमै आर्मीकै युद्ध शाहीले आत्मघाती गोल गर्दा मछिन्द्रले खेल बराबरी ग¥यो भने आर्मी जितबाट वञ्चित रह्यो ।

यस बराबरीले मछिन्द्रको उपाधि होडमा धक्का लागेको छ । २२ खेलबाट मछिन्द्रको ३६ अंक छ र शीर्ष स्थानको चर्च ब्वाइज भन्दा २ अंकले पछि छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको अर्को खेलमा एपीएफले जावलाखेल युथ क्लबलाई २–० गोल अन्तरले हराएको छ । एपीएफको जितमा अर्मान्ड बिडोम र आवास लामिछानेले एक एक गोल गरे । खेलको २३ औं मिनेटमा बिडोमले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए ।

शरन बिक्रम बस्नेतको क्रसमा उनले उत्कृष्ट गोल गरे । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा आवासले गोल गर्दै एपीएफलाई २–० को जित दिलाए । खेलको ८६ औं मिनेटमा एपीएफ र जावलाखेल दुबै टोली १० खेलाडीमा समेटियो । मैदान भित्र झगडा गरेपछि रेफ्री प्रकास नाथ श्रेष्ठले एपीएफका कप्तान नविन लामा र जावलाखेलका अब्दुलाजिज निशोनवेभलाई रातो कार्ड दिदै मैदान बाहिर पठाए । एपीएफको यो आठौं जित हो । एपीएफले २२ खेलमा २९ अंक जोडेको छ ।

प्रतिक्रिया