अब भरतपुर विमानस्थलमा पनि ७२ सिटको जहाज

चितवन । ६ दकपछि भरतपुर विमानस्थलको स्तरोन्नति र विस्तार हुने भएको छ । भरतपुर महानगरपालिकाले नगरभित्रको गौरवको आयोजनाको रूपमा लिएको उक्त विमानस्थलको स्तरोन्नति र विस्तार गर्न लागिएको हो ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालका अनुसार तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी हुँदा सुरु गरिएको पहलकदमी मन्त्री सुदन किराँतीसम्म आइपुग्दा काम अघि बढ्ने अवस्थामा पुगेको छ । उनले भनिन्, ‘यो पाँच वर्षको अवधिमा हामीले ६ पर्यटन मन्त्रीसँग नियमित छलफल ग¥यौँ । महानगर, प्राधिकरण, मन्त्रालय हुँदै प्रधानमन्त्रीको निजी निवास र कार्यालयमा धेरैपटक छलफल भएको छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निरन्तरको पहलले सार्थकता पाएको हो । पर्यटनमन्त्री अधिकारी हुँदा तत्कालीन समयमा चितवन क्षेत्र नम्बर ३ का सांसदसमेत रहेका प्रधानमन्त्री दाहालसहित जिल्लाका सरोकारवालाको उपस्थितिमा बृहत् छलफल गरेर अभियानको थालनी गरिएको थियो । प्रमुख दाहालले भनिन्, ‘झण्डै पाँच वर्ष फाइल बोकेर भरतपुर र काठमाडौं ओहोरदोहोर गरेँ ।’

विमानस्थलको धावनमार्ग विस्तारका लागि घोडा प्रजनन केन्द्रलाई गणेशस्थान र नेपाली सेनाको कालीबहादुर गणलाई दियालो बंगला सारिने भएको छ । ब्यारेक सार्ने निर्णय भइसकेको उल्लेख गर्दै उनले घोडा प्रजनन केन्द्र सार्न वनको जग्गा भएकाले केही निर्णय बाँकी रहेको बताइन् । बाँकी निर्णय दुई साताभित्रमा गरेर काम अघि बढ्नेछ ।

केही दिनअघि विस्तारका लागि प्रधानमन्त्रीको निवास बालुवाटार र कार्यालय सिंहदरबारमा नेपाली सेनासहितको सरोकारवाला बसेर टुंगोमा पुगेको दाहालले जानकारी दिए । यो विमानस्थलबाट मकवानपुरदेखि दाउन्नेसम्मका बासिन्दाले हवाई सेवा लिँदै आएका छन् । त्यस्तै तनहुँ र गोरखा आसपासका बासिन्दाले पनि यो विमानस्थलबाट सेवा लिँदै आएका छन् । ०१५ सालदेखि सञ्चालनमा आएको उक्त विमानस्थलमा ०१८ मंसिर १२ गते हवाई कार्यालय स्थापना गरिएको थियो । तत्कालीन समयमा टुइनेटरजस्ता १८ सिटे जहाज मात्रै सञ्चालन हुँदै आएकामा पछिल्ला वर्षमा एटिआर ४२, जेटस्टिम बिचक्राफ्टजस्ता मझौला र आधुनिक जहाजको उडान हुँदै आएको छ ।

१ हजार २ सय मिटर मात्र धावनमार्ग भएको तथा उडान र अवतरण क्षेत्रमा भौतिक संरचनाका कारण यो विमानस्थल जोखिमपूर्ण मानिएको छ । धावनमार्गलाई १ हजार ५ सय मिटर लामो बनाएर एटिआर ७२ वा सोसरहका ७२ सिटे जहाजले उडान गर्न मिल्ने गरी विस्तार गर्न लागिएको हो । यससँगै आधुनिक ट्रमिनल भवन बनाइँदै छ । १ अर्ब ९२ करोडको लागतमा निर्माण गर्न लागिएको अत्याधुनिक ट्रमिनल भवनको बिहीबार प्रधानमन्त्री दाहालले शिलान्यास गरेका छन् । छोटो धावनमार्ग, उडान र अवतरण क्षेत्र अतिक्रमण तथा उच्च जोखिमसँगै महँगो हवाई भाडा तिर्न यहाँका बासिन्दा बाध्य छन् । हाल यहाँबाट काठमाडौं र पोखरा बुद्ध एयरले उडान भर्दै आएको छ । दैनिक आठ उडान हुँदै आएको छ । कोभिड–१९ अघिसम्म यो संख्या १२ रहेको विमानस्थलले जनाएको छ । दैनिक सात सयभन्दा बढी यात्रुले सेवा लिँदै आएका छन् ।

सन् १९५८ मा निर्माण कार्य सम्पन्न भई पहिलो उडान सन् १९६१ मार्च ५ मा भएको तथ्यांक छ । सन् १९९४ मा १ हजार १ सय ५८ मिटर धावनमार्ग बनाइएको सो विमानस्थलको सन् १९९८ मा एसियाली विकास बैंकको सहयोगमा कालोपत्र सम्पन्न भएको नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रदीप अधिकारीले जानकारी दिए ।

देशको मध्य भागमा पर्ने भएकाले सन् १९८८ मा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने उद्देश्यले अध्ययन गरिए पनि वातावरणीय र पर्यावरणीय दृष्टिकोणले क्षति हुनसक्ने भएपछि काम अघि बढ्न सकेको थिएन । विमानस्थल ५८ बिघामा फैलिएको छ । सन् १९५८ मा संयुक्त राज्य अमेरिकाको सहयोगमा मलेरिया नियन्त्रण कार्यक्रमअन्तर्गत यो विमानस्थल निर्माण गरिएको हो । अहिले विमानस्थल १० घण्टाको हाराहारीमा मात्र सञ्चालन हुँदै आएको छ । विस्तारसँगै रात्रिकालीन उडानसमेत गरिनेछ ।

भरतपुर विमानस्थलको समयसापेक्ष विकास र विस्तारमा ढिलाइ भएको अधिकारीले बताए । विमानस्थलको आवश्यकता, औचित्य र महत्वबारे आफैँले बुझेर हृदयंगम गर्ने नेतृत्वको अभाव हुँदा विस्तार र विकास हुन नसकेको उनको भनाइ छ । विमानस्थल विस्तारका लागि १९ बिघा नेपाली सेनाको लिनुपर्नेहुन्छ । यस क्षेत्रमा बाँकी रहेको जमिनमा नेपाली सेनाको हेङ्गर र उद्यान बनाइने बताइएको छ ।

प्रतिक्रिया