सूर्य नेपाल च्यालेन्जमा दोस्रो दिन धनबहादुरको छलाङ

काठमाडौं । अघिल्लो दिन दशौँ स्थानमा रहेका धनबहादुर थापा सूर्य नेपाल च्यालेन्स गल्फ प्रतियोगिताको दोस्रो दिन ४–अन्डर ६४ स्कोर गर्दै शीर्ष स्थानमा उक्लन सफल भएका छन् । समग्रमा ३–अन्डर १३३ स्कोर गरेका धनबहादुरले भुवनकुमार रोक्का र रवि खड्कालाई एक स्ट्रोकले पछि परेका छन् ।
सूर्य नेपाल गल्फ टुर २०२२/२३ को छैटौँ प्रतियोगिताको दोस्रो दिन सकिँदा भुवनकुमार र रवि समग्रमा २–अन्डर १३४ को स्कोरसहित दोस्रो स्थानमा छन् । भुवनले दोस्रो दिन १–अन्डर ६७ को स्कोर गरे भने रविले ३–ओभर ७१ को स्कोर गरेका थिए । पहिलो दिन सकिँदा रवि शीर्ष स्थानमा थिए भने भुवनकुमार पाँचौँ स्थानमा थिए ।

दोस्रो दिन शीर्ष स्थानमा उक्लिएका धनबहादुरको फ्रन्ट नाइन नाटकीय बनेको थियो । पहिलो होलमा इगलको सफलता प्राप्त गरेका धनबहादुरले दोस्रो होलमा बोगी खेपे । पाँचौँ होलमा डबल बोगीको सामना गरेका धनबहादुरले त्यसपछि सातौँ र नवौँ होलको बर्डी प्रहार गरेपछि फ्रन्ट नाइन १–अन्डर ३३ को स्कोरमा सकाए ।

५–पारको दशौँ होलमा अर्को इगल प्रहार गरेका धनबहादुरले १७औँ होलमा एक सट बचाएर ब्याक नाइन ३–अन्डर ३१ को स्कोरमा सकेका थिए । धनबहादुरले पहिलो दिन १–ओभर ६९ स्कोर गरेका थिए ।

भुवनकुमार रोक्काले फ्रन्ट नाइन २–अन्डर ३२ को स्कोरमा पूरा गरेका थिए । त्यसक्रममा उनले पहिलो होलमा एक सट बचाएका थिए । तेस्रो होलमा डबल बोगी खेपेका भुवनकुमारले चौथो होलमा इगल र पाँचौँ होलमा बर्डी प्रहार गरका थिए । १०औँ होलमा बर्डी खेले पनि १७औँ होलको डबल बोगी खेपेपछि भुवनकुमारले ब्याक नाइन १–ओभर ३५ को स्कोरमा सकाएका थिए ।

पहिलो दिन शीर्ष स्थानमा रहेका रविले आज एकनासको प्रदर्शन गर्न सकेनन् । पहिलो, दोस्रो र चौथो होलमा बर्डी प्रहार गरेका रविले तेस्रो र नवौं होलमा एक–एक सट खेर फालेपछि फ्रन्ट नाइन १–अन्डर ३३ को स्कोरमा सकेका थिए । उनले ब्याक नाइनको सुरूआत इगलबाट गरेका थिए । त्यसपछि लय गुमाउँदा ११, १२ं र १८औँ होलमा बोगी खेपेका रविले ५–पारको १३औँ होलमा ट्रीपल बोगीको सामना गरेपछि ब्याक नाइन ४–ओभर ३८ को स्कोरमा सकाएका थिए । यही प्रदर्शनले गर्दा रवि शीर्ष स्थानबाट तेस्रोमा झरेका हुन् ।

एमेच्योरद्वय सदभाव आचार्य र सुवास तामाङ तथा प्रोफेसनल गल्फर दीपक मगर र दिनेश प्रजापतिले समग्रमा १–अन्डर १३५ को स्कोरसहित संयुक्तरुपमा चौथो स्थान बाँडेका छन् । राष्ट्रिय टिमका सदभावले दोस्रो दिन २–अन्डर ६६ र नेपाल नम्बर एक एमेच्योेर सुबाश तामाङले इभन–पार ६८ को स्कोर गरे । त्यसैगरी दीपकले दोस्रो दिन १–ओभर ६९ र दिनेशले ३–ओभर ७१ को स्कोर गरेका थिए ।

पहिलो दिन तेस्रो स्थानमा रहेका भुवन नगरकोटीले आज २–ओभर ७० को स्कोरमा खेल सकाउँदा समग्रमा इभन–पार १३६ स्कोरसहित आठौं स्थानमा झरेका छन् । ४–ओभर १४० को स्कोरमा युवराज भुजेल र शिवराम पौडेल संयुक्तरुपमा नवैँैं स्थानमा छन् । दुवैले आज समान ३–ओभर ७१ को स्कोमा खेल सकाएका थिए । सूर्यप्रसाद शर्मा र रामे मगर समग्रमा ५–ओभर १४१ स्कोरसहित संयुक्तरुपमा ११औँ स्थानमा छन् ।

३६ होलको समाप्तिमा १५–ओभर १५१ सम्म स्कोर गर्ने सञ्जय लामा, टंकबहादुर कार्की, रमेश अधिकारी, रामकृष्ण श्रेष्ठ, कमल तामाङ, जयराम श्रेष्ठ, प्रदीपकुमार लामा, प्रभातकुमार राजबाहक, राजेन्द्र श्रेष्ठ प्रधान, सञ्जोक मोक्तान, बसन्तराज गुरुङ र कृष्णमान राजबाहकले कट बनाउन सफल भएका छन् । यस्तै एमेच्योरतर्फ सद्भाव र सुवाससँगै टासी छिरिङ, सुरेश तामाङ र निश्चयजंग रायमाझीले कट बनाएका छन् ।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित र सुर्य नेपाल प्रालिको प्रायोजनमा जारी प्रतियोगितामा ३० प्रोफेसनल र ८ एमेच्योर गरी कुल ३८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विजेताले उपाधिसँगै १ लाख प्राप्त गर्नेछन् । दोस्रो हुनेले ६५ हजार र तेस्रो हुनेले ४६ हजार प्राप्त गर्नेछन् । साथै उत्कृष्ट २१ मा पर्ने व्यवसायिक खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया