बालीघरे प्रथाको मारमा दलित समुदाय

भोजपुर । गाउँघरमा बालीघरे प्रथामा काम गर्दै आएका व्यक्तिले श्रमअनुसारको ज्याला पाउन नसकेको गुनासो गर्दै आएका छन् । यस प्रथामा काम गर्दा श्रमको उचित मूल्य नपाउँदा जीविकोपार्जनमा समस्या भएको उनीहरूको गुनासो छ । बालीघरे प्रथामा काम गर्दा धेरै दलित समुदायका व्यक्ति ठगिँदै आएका छन् । गरिबीको कारण दलित समुदायका व्यक्ति बालीघरे प्रथामा काम गर्न बाध्य भएका हुन् । भोजपुरका ४० प्रतिशत बढी दलित बालीघरे प्रथामा काम गर्न बाध्य रहेको नगरस्तरीय दलित सञ्जाल समितिका अध्यक्ष दुर्गा रणपंहेलीले बताए । जिल्लाभरि नै यो प्रथाको अन्त्यका लागि अभियानमार्फत सचेतनाका कार्यक्रम चलाए पनि उनीहरूमा बालीघरेमा काम गर्नुपर्ने बाध्यता रहेको उनले सुनाए ।


‘हाम्रो जिल्लामा अझै पनि बालीघरे प्रथा छ,’ अध्यक्ष रणपंहेलीले भने, ‘यसरी काम गर्ने दलित ठगिएको अवस्था छ । उनीहरूले श्रमअनुसारको ज्याला पाउँदैनन् । दश पाथी अन्न, चाडबाडमा एक–दुई माना चामल पाएको भरमा वर्षभरि काम गरिरहेका छन् । यसरी काम नगरभन्दा मान्ने अवस्था छैन ।’ उनीहरूलाई राज्यले विकल्प नदिएसम्म यो प्रथा अन्त्य नहुने उनले सुनाए ।
यसमा आवद्धलाई अन्न लिनुको साटो पैसा लिएर काम गर्नुभन्दा समेत नमान्ने अवस्था रहेको रणपंहेलीले बताए । ‘सामाजिक सचेतनाका काम भइरहेका छन् । तर यहाँ अझै पनि बालीघरे प्रथा हट्न सकेको छैन,’ उनले भने । सामाजिक सुधारका लागि राज्यले अझ ध्यान दिनुपर्ने उनले सुनाए ।

बालीघरे प्रथा भन्नाले वर्षभर काम गरेको ज्यालाको रूपमा अन्न लिने प्रथालाई बुझिन्छ । सहरी तथा शिक्षित समाजमा यस खालको प्रथाको अन्त्य भए पनि यहाँका ग्रामीण क्षेत्रमा अझै यो चलन छ । युवापुस्ताले यस्ता खालको काम नगरे पनि पुरानो पुस्तामा अहिले पनि यसरी काम गर्ने चलन छ । केही रकम तथा अन्न लिएर फलामका सामग्री बनाउने र कपडा सिलाउने चलन छ । कपडा सिलाउने काम गरेवापत वर्ष दिनको प्रतिघर १० पाथीदेखि एक मुरी अन्न, चाडपर्वमा भाग भनेर फलाम पिट्नेले दसैँमा खसीको गर्धन र कपडा सिलाउनेलाई पुच्छर तथा साउने, माघे संक्रान्तिलगायत चाडमा चामल, नुन, सेलरोटी दिने चलन अझै कायम छ ।

टेम्केमैयुङ गाउँपालिका–९ का हर्कबहादुर विकले वर्षौँदेखिको दिनचर्या यसरी नै बितिरहेको बताए । गाउँमा फलाम पिट्ने काम न्यूनतम ज्यालाको रूपमा बाली लिएर काम गर्ने बाध्यता रहेको उनले सुनाए । यो काम छाडे जीवनयापन गर्न झनै समस्या हुने विकले बताए ।

‘बाउबाजेको पालाबाट बालीघरेमा फलामको काम गर्दै आएको छु,’ उनले भने, ‘अन्य पेसा गर्ने राम्रो सीप छैन । सहरमा गएर व्यवसाय गर्न पैसा हँुदैन । परिवार धान्न मुस्किल हुन्छ । श्रमअनुसारको मूल्य नपाए पनि दैनिकी चलाउन काम गर्नुपर्ने बाध्यता छ । यस्तो काम गर्न मन त छैन । बाउबाजेले बालीघरेमै काम गरे, आफू पनि त्यही लयमा लागियो ।’

टेम्केमैयुङ गाउँपालिका–५ का गोरे विकले पनि वर्षौँदेखि बालीघरे काम गर्दै आएको बताए । पुस्तौँदेखि बालीघरेमा काम गरे पनि आर्थिक अवस्था कमजोर रहेको उनले सुनाए । बालीघरे प्रथामा काम गरेर जीवनयापन गर्न कठिन रहेको विकले बताए । ‘वर्षौँदेखि यसरी नै काम गर्दै आएको छु,’ उनले भने, ‘पहिलाबाट गर्दै आएको काम भएकाले गर्न मन लाग्छ । यसले सहज जीवनयापन गर्न त कठिन छ । तर पनि यही काम गरेर जसोतसो परिवार पाल्नुपर्ने अवस्था छ ।’

आफ्नो सीपमा बाँच्नु राम्रो भए पनि श्रमअनुसारको ज्याला पाउन भने मुस्किल रहेको रामप्रसादराई गाउँपालिका–४ का हर्षबहादुर दर्जीले बताए । वर्षभरि एक परिवारको लुगा सिलाएको १०–१२ पाथी अन्न दिने गरेको उनले सुनाए । बाउबाजेले बसालेको प्रथाको मारमा पछिल्लो पुस्ता पनि परेको दर्जीले बताए । बालीघरेमा काम गर्दा उचित ज्याला पाउन नसक्दा युवापुस्ताले विस्तारै यो पेसा गर्न छाडेको उनले सुनाए । बालीघरे प्रथाअनुसार काम गर्दा अन्नबालीको रूपमा न्यूनतम ज्याला लिनुपर्ने बाध्यता देखिन्छ ।

प्रतिक्रिया