सहिद दिवसको सार्थकता

आज हामी संघीय लोकतान्त्रिक शासन व्यवस्थामा छौँ । यो शासन व्यवस्था स्थापनाको अवस्थासम्म मुलुकलाई ल्याइपुर्याउन धेरैको योगदान छ । कसैले राजनीतिकदल स्थापना गरेर योगदान पुर्याएका छन् । कसैले समाजमा चेतना फैलाएर योगदान पुर्याएका छन् । कसैले हतियार उठाएर योगदान पु¥याएका छन् । जनतालाई अधिकार सम्पन्न बनाउने संघर्षमा धेरैले आफ्नो प्राणको बलिदान गरेका छन् । जनअधिकार प्राप्ति तथा देशको रक्षाका लागि संघर्ष गर्दागर्दै आफ्नो प्राण आहुती दिनेहरूलाई सहिद भनिन्छ । सहिद भनेको राज्यद्वारा दिइने अत्यन्त ठूलो सम्मान हो । सहिदहरूको संझानामा हरेक वर्ष माघ १६ गते विशेष कार्यक्रम गरिन्छ । इतिहासका विभिन्न कालखण्डमा जनअधिकार प्राप्तिका लागि संघर्ष भए । संघर्षका क्रममा धेरैले शहादत प्राप्त गरे ।

विसं १९९७ माघ १० देखि १६ गतेसम्मको घटनालाई मानक बनाएर सहिद दिवस मनाउने गरिएको छ । नेपालमा जनअधिकार बहालीका लागि संगठित विद्रोह १९९३ सालमा नेपाल प्रजापरिषद् नामक राजनीतिक पार्टी स्थापनापछि आरम्भ भएको हो । प्रजापरिषदमार्फत जनअधिकार बहालीका लागि संघर्ष गर्नेमध्ये शुक्रराज जोशी (शास्त्री) (१९९७ माघ १० टेकुमा), धर्मभक्त माथेमा (१९९७ माघ १३ गते सिफलमा), दशरथ चन्द ठाकुर (१९९७ माघ १५ गते शोभाभगवतीमा) र गंगालाल श्रेष्ठ (१९९७ माघ १५ गते विष्णुमतिको बगरमा) लाई राणा सरकारद्वारा फा“सी दिइयो । राणाशासनको अन्त्यपछि त्यसैको स्मृतिमा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । हुन त राणाविरुद्ध संघर्ष गर्नेक्रममा विसं १९२२ मा अछामका बाँकावीर शाह तथा १९३३ मा गोरखाका लखन थापामगरले पनि शहादत प्राप्त गरेका थिए । तर यो विद्रोह संगठित थिएन ।

जसका कारण सजिलै दबाउन तत्कालीन शासकहरू सफल भए । १९९७ सालमा भएको विद्रोह भने संगठित थियो । राणाशासन हटाएपछि जनताले आफ्ना लागि आँफै शासन व्यवस्था निर्माण गर्ने मार्गचित्रका साथ यो विद्रोह भएको थियो । यही विद्रोहको जगमा नेपाली कांग्रेसले ०७ सालको जनक्रान्ति सफल गरेको हो । त्यति मात्रै होइन, त्यसपछिका सबै उपलव्धीको जग भनेकै १९९७ सालको विद्रोह हो ।

१९९७ सालको विद्रोहका सहिदहरूको सपनाप्रति बेइमानी नभएको भए अरू हजारौंले शहादत प्राप्त गर्ने स्थिति आउने थिएन । तर ०७ सालमा स्थापित प्रजातन्त्र खोसेर ०१७ सालमा तत्कालीन राजाद्वारा फेरि निरंकुश शासनको सुरुआत भयो । पञ्चायती व्यवस्थाका नाममा सुरु भएको निरंकुश शासन ३० वर्षसम्म चल्यो । यो अवधिमा जनअधिकार प्राप्तिका लागि धेरै संघर्ष भए । यस क्रममा धेरैले ज्यान गुमाए । ०४६ सालको जनआन्दोलनद्वारा प्राप्त उपलव्धी ०५९ असोज १८ गते राजाद्वारा पुनः खोसियो । जनताहरू फेरि आन्दोलिन भए । यस क्रममा धेरैले प्राणको आहुति दिए । यस हिसाबले नेपालमा सहिदहरूको संख्या निकै ठूलो छ ।

पछिल्ला दिनमा सहिद दिवसलाई कर्मकाण्डमा मात्रै सीमित गरिएको छ । आप्mनो निजी स्वार्थका क्रममा मारिएकाहरूलाई पनि राजनीतिक दाउपेचका आधारमा सहिद घोषणा गरिदिने विकृति मुलुकमा बढेर गएको छ । को बास्तविक सहिद हुन् ? कसलाई राजनीतिक दाउपेचका आधारमा सहिद घोषणा गरिएको हो ? भन्ने भेउ नयाँ पुस्ताले पाउन छाडेका कारण सहिद शब्दकै अवमूल्यन भएको छ । सहिद दिवसको गरिमा घटेको छ । पञ्चायति व्यवस्था विरुद्धको संघर्षका क्रममा ०२० सालमा प्राण आहुति दिएका दुर्गानन्द झालाई ०७२ सालमा मात्रै सहिद घोषणा गरिएको तीतो यथार्थता हाम्रासामु छ ।

०४६ सालको परिवर्तन लगत्तै झालाई सहिद घोषणा गर्न कुन शक्तिले रोक्यो ? उनलाई सहिद घोषणा गर्न गणतन्त्र नै पर्खनु किन प¥यो ? भन्ने प्रश्नको उत्तरले धेरै कुराको छिनफोनो गर्छ । त्यसैले विगतका गल्तीहरू ढाकछोप गर्नुभन्दा सच्याउँदै जानु उपयुक्त हुन्छ । को बास्तविक सहिद हुन् ? को नक्कली सहिद हुन् ? भन्ने वर्गीकरण गर्नु जरुरी छ । बास्तविक सहिदहरू धेरैको अभिलेख गायब छ । धेरैको जीवनी लेखिएको छैन । लोकतन्त्रका नाममा राज्य सत्तामा सधैँ हुनेखाने वर्गको हालीमुहाली चल्दै आएको छ । जनअधिकार कागजमा मात्रै सीमित छ । वास्तवमा पञ्चायतकालमा सहिद दिवस मनाइनुको र यतिबेला सहिद दिवस मनाइनुमा तात्विक अन्तर देखिन्न ।

प्रतिक्रिया