संसद् भवन अगाडि आत्मदाह

मंगलबार संसद् भवन अगाडि पुगेर आफ्नो शरीरमा आफैँले आगो लगाएका युवा व्यवसायी प्रेमप्रसाद आचार्यको उपचारका क्रममा बुधबार निधन भएको छ । बैठक चलिरहेकै बेला संसद् भवनअगाडि आत्मदाह गरिनु मामुली कुरा होइन । आत्मदाह गर्नुअघि उनले आफ्नो फेसबुकमा गरेको पोस्ट ज्यादै मार्मिक छ । उनले फेसबुकमा उल्लेख गरेका कुरा के कति सत्य हुन् ? त्यसको छानविन गर्नुपर्छ । आत्महत्याका लागि दुरुत्साहन गर्ने पनि कारबाहीको भागिदार हुने कानुनी व्यवस्था छ । प्रेमप्रसाद के कति अन्यायमा परेका थिए ? भन्ने कुरा छानविनपछि सतहमा आउने नै छ, तर अन्यायकै कारण आत्मदाह गरिएका तथा आत्मदाहको प्रयास गरिएका घटनाहरू नेपालमा धेरै छन् । केही महिनाअघि निहारिका राजपूतले राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गरेकी थिइन्, समयमै प्रहरीले थाहा पाएका कारण अप्रिय घटना भएन ।

उनी साँच्ची नै अन्यायमा पेरकी रहिछन् भन्ने कुरा अदालतलेसमेत पुष्टि गरिसकेको छ । छिनिसकेको विवाह केटा पक्षद्वारा बदर गरिएको निहुँमा केही महिनाअघि काठमाडौंको सुकेधारामा एक युवतीले आत्महत्या गरेकी थिइन् । तर कारण जुनसुकै होस्, जो सुकैले गरेको होस्, आत्महत्याको औचित्य कुनै पनि हालतमा सावित गर्न सकिन्न । कुनै कुनै परिस्थितिको आत्महत्यालाई आन्दोलन या दबाबको रूपमा लिने गरिएको पनि पाइन्छ । प्रेमप्रसादले गरेको आत्महत्यालाई पनि केही व्यवसायीहरूले दबाबका रूपमा लिएका छन् । गरिखान सकिने बाटो राज्यसञ्चालकद्वारा नै बन्द गरिएकोले प्रेमप्रसाद आत्महत्याको निर्णयमा पुगेको उनीहरूको दाबी छ । तर दबाबका पनि विभिन्न चरण हुन्छन् । डा. गोविन्द केसीले गर्ने गरेका आमरण अनसन यसका उदाहरण हुन् । एक्कासि आत्मदाह गर्नु कुनै दबाब होइन । बरु ठूलो संभावनालाई खेर फाल्नु हो ।

साना तथा मझौला व्यवसायीहरू यतिबेला चर्को पीडामा छन् । सात प्रतिशत व्याजमा ऋण लिएर व्यवसायअघि बढाएका थिए । बैंकले व्याज बढाएर १५ प्रतिशत पुर्याइदियो । उता आर्थिक मन्दीका कारण व्यवसायमा घाटा लाग्दै गयो । तिर्ने कसरी ? यतिबेला यो समस्या प्रेमप्रसाद एक्लैको होइन आमसाना तथा मझौला व्यवसायीहरूको हो । नेपाल राष्ट्र बैंकको प्रत्यक्ष संलग्नताविना यो समस्या समाधान हुँदैन । व्यवसायीहरूले गत कात्तिकदेखि नै आन्दोलन गरेका थिए । चुनावपछि नयाँ सरकार आउँछ, त्यसपछि पहल गर्ने भनेर आन्दोलन स्थगित गरियो । स्थगित गरिएको आन्दोलन अघि बढाउने समय बल्ल आएको छ । हदैसम्म दबाब दिन सकिने ठाउँ हुँदाहुँदै एक्कासि आत्मादाहको बाटो रोज्नु हुँदैनथ्यो ।

प्रायः मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नुभन्दा मर्न सजिलो ठानेर मानिसले आत्महत्या गर्छन् । तर, यस किसिमको पीडा नहुँदा पनि मानिसले रिसको आवेगमा आत्महत्या गरेको पनि पाइन्छ । कतिपय देशमा आत्महत्या तथा आत्महत्याको कोशिस सामाजिक दृष्टिमा पाप र कानुनी दृष्टिमा अपराध मानिन्छ । धार्मिक दृष्टिमा त आत्महत्या गर्ने मानिस सिधै नर्कमा जान्छन् भन्ने मान्यता छ । तर मनोवैज्ञानिक दृष्टिमा आत्महत्या एकप्रकारको मानसिक विकृति (रोग) हो । यो विकृति पछिल्लो ५० वर्षको अवधिमा ६० प्रतिशत बढेको छ ।

हिजोआज आत्महत्या मृत्युको प्रमुख कारण बनेको छ । संसारभर बढी आत्महत्या हुने मुलुकहरूमध्ये नेपाल सातौँ स्थानमा पर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा बर्सेनि औसत ८ हजार ६ सय ४० जना मानिसले आत्महत्या गर्ने गरेका छन् । आफ्ना अत्यन्त प्रियजनलाई बाँचुन्जेल रुवाएर बैरीको मेख मार्छु भन्ने सोच सामान्य दिमागको उपज हुन सक्दै सक्दैन । बैरीसँग बदला लिने त बाँचेर, संघर्ष गरेर हो, आफ्ना परिवारजनलाई आजीवन पीडा दिने बाटो रोज्नु भनेको उल्टै बैरीलाई खुसी बनाउनु हो ।

प्रतिक्रिया