नदीजन्य उत्खनन् रोक्दा धम्की आएपछि…

धादिङ । त्रिशुली नदी बगर र आसपासका क्षेत्रमा बढेको अवैध उत्खनन् रोक्न खोज्दा धम्की आएको भन्दै यहाँका एक गाउँपालिका अध्यक्षले प्रधानमन्त्री र गृहमन्त्री गुहारेका छन् । अवैध उत्खनन् रोेक्न खोज्दा धम्की आउने गरेको भन्दै सिद्धलेक गाँउपालिकाका अध्यक्ष परशुराम खतिवडाले प्रधानमन्त्री र गृहमन्त्री गुहार्दै प्रमुख जिल्ला अधिकारीसमक्ष उजुरी दर्ता गराएका छन् ।
सार्वजनिक भएको पत्रअनुसार अध्यक्ष खतिवडाले त्रिशुली नदी र आसपासका क्षेत्रमा रहेका बालुवाका ढिस्काहरुमा अवैधानिक उत्खनन् बढेपछि उत्खनन् रोक्दा आफु लगायतका व्यक्तिहरुमाथी सामाजिक सञ्जाल र टेलिफोनमार्फत धम्की आएकोले उक्त कार्य रोकिदिन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय धादिङ मार्फत् प्रधानमन्त्री र गृहमन्त्रीसम्म उजुरी दिएका हुन् । अध्यक्ष खतिवडाले गत मंसिर २१ गते धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल र जिल्ला प्रहरी प्रमुख एसपी राकेश सिंहसमक्ष उजुरी दर्ता गराएका हुन् ।

उजुरीमा सिद्धलेक गाउँपालिका वडा नम्बर ३ देखि ७ भित्रका त्रिशुली नदीको बगर र आसपासका क्षेत्रका बालुवाका ढिस्को, ढुंगा, गेगर लगायतको प्राकृतिक श्रोतबाट प्राप्त हुने कच्चा पदार्थ ठेक्का विना नै केही व्यक्तिहरुले चोरी निकासी र पैठारी गर्ने गरेको उल्लेख छ । उजुरीमा त्यस्ता व्यक्तिहरुले प्रशासनलाई समेत मुठ्ठीमा लिएर चोरी निकासी गरेको दाबी गरिएको छ । उजुरीमा भनिएको छ, ‘केही स्थानीय व्यक्तिहरुले गाउँपालिकाबाट कुनै स्विकृति र सहमति नै नलिई, आफू खुसी ढंगबाट कानुन समेत आफ्नो हातमा लिई बलपूर्वक वडा नं. ६ को फूर्केखोला पूलदेखि वडा नं. ७ को आदमघाट वारीसम्मका त्रिशुली नदी किनार र आसपासका बालुवाको ढिस्कोमा रहेको प्राकृतिक श्रोतको कच्चा पदार्थहरु दिन÷रात उत्खनन् गरी गराई ट्रकका ट्रक ढुंगा, गिट्टी, बालुवा निकासी गरिरहेको र स्थानीय तहबाट सम्झाउन बुझाउन मानिस पठाउँदा उल्टै त्यहाँ कार्यरत विभिन्न व्यक्तिले धादिङका प्रहरी र प्रशासन हाम्रो मुठ्ठीमा छ उनीहरुले यस सम्बन्धमा कुनै रोकतोक गर्न सक्दैनन् ।
तिमीहरुले उत्खनन् निकासी रोक्ने प्रयास गरे तिमीहरुले नराम्रो परिणाम भोग्नुपर्ला होस गर, भन्ने सम्मका धम्की आएको र विभिन्न समयमा विभिन्न टेलिफोन नम्बरसमेत बाट पटक पटक धम्की आउन थालेको हुँदा जिल्ला प्रशासनद्वारा प्रहरी परिचालन गरि गराई अवैध तथा अनाधिकृत ढंगबाट भइरहेको दोहन कार्य तत्काल रोक्का गरी गराई यस सिद्धलेक गाउँपािलका कार्यालयलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।’

उता गाँउपालिका अध्यक्ष खतिवडाले आफु र गाँउपालिकाका बिभिन्न व्यक्तिहरुमाथीे टेलिफोन र सामाजिक सञ्जालका माध्यमहरुमा पटक पटक धम्की आउने गरेको भन्दै जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रमुखसमक्ष लिखित रुपमा जानकारीसहित उजुरी दर्ता गराएको बताए । त्यस्तै उक्त उजुरी प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव र प्रहरी प्रधान कार्यालय नक्सालमा समेत पेश गर्न प्रजिअ समक्ष माग गरेको खतिवडाले बताए । ‘सिडिओसमक्ष उजुरी दर्ता गराएपछि उक्त स्थानको उत्खनन् त रोकिएको छ, तर उत्खनन् गरी उत्खनन् स्थलसंगै रहेको क्रसर उद्योग परिसरमा सयौं ट्रिप नदीजन्य पदार्थ थुपारिएको छ ।’ उनले भने , ‘उक्त थुपारिएको नदीजन्य पदार्थ पनि गाँउपालिकाले कव्जा गरेको छ । तर उक्त पदार्थलाई के गर्ने भन्ने विषयमा भने निर्णय गरिसकेका छैनौं ।’ अव बस्ने कार्यपालिका बैठकले उक्त पदार्थलाई करको दायरामा ल्याएर उक्त क्रसरमा प्रयोग गर्न दिने वा नदिने निर्णय गर्ने खतिवडाले बताए । आफ्नो कार्यकालमा अवैधानिक गतिविधि र प्राकृतिक सम्पदामाथीको हस्तक्षेप हुनै नदिने खतिवडाले बताए । उक्त विषयमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रशासन कार्यालयसंग पनि परामर्श गरिरहेको खतिवडा बताँउछन् ।

उता धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पनि सिद्धलेकमा पछिल्लो समय त्रिशुली नदीको बगर र आसपासका क्षेत्रमा रहेका बालुवाका ढिस्काहरुमा चोरी निकाशी हँुदै आएको भेटिएको बताएका छन् । स्थानीयहरुको गुनासो र गाउँपालिका अध्यक्षको उजुरीपछि प्रहरी प्रमुखलाई बोलाएर तुरुन्त अनुगमन गरी उक्त उत्खनन् कार्य रोकिएको प्रजिअ लम्सालले जानकारी दिए । ‘पालिका अध्यक्ष ज्यूले उजुरी दिएपछि हामीले सबै निकायलाई राखेर अनुगमन गर्ने र रोक्ने काम गर्यौं तर, स्थानीय तहहरुकै व्यवस्थापकीय पाटोमा कमजोरी हुँदा देशैभरी यस्तो समस्या आएको छ ।’ प्रजिअ लम्सालले भने ।

प्रजिअ लम्सालले नदीजन्य पदार्थ उत्खनन् र निकासीमा नीतिगत सुधारको आवश्यकता रहेको समेत बताए । उनले नदीजन्य पदार्थको उत्खनन् निजि क्षेत्रलाई दिन नहुनेसमेत बताएका छन् । यसअघि आफु लामो समयसम्म स्थानीय विकास अधिकारी भई काम गरेको अनुभवको हिसाबले राज्यले नै उत्खनन् गर्दा पारदर्शिता हनेसमेत उनले बताए । बरु मार्केटिङ र विक्री गर्ने कार्यमा भने निजि क्षेत्रलाई खटाउन सकिने प्रजिअ लम्सालले सुझाव छ ।

प्रतिक्रिया