प्रकृतिको अनुपम उपहार ‘खप्तड’

बझाङ । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तड हरेक मौसममा अवलोकन गर्न सकिने प्राकृतिले सुशोभित क्षेत्र हो । भू–स्वर्गको उपमा पाएको खप्तडलाई स्वदेशी एवं विदेशी पर्यटकले प्रकृतिको अनुपम उपहारका रूपमा चित्रण गर्छन् । यहाँको विशाल फाँट हिउँदमा सेताम्मे तथा वसन्त, शरद र ग्रीष्म ऋतुमा रंगीविरंगी फूलले छोपेको हुन्छ ।

वर्षायाममा हरियाली फाँट र हिउँदमा सेताम्य बाक्लो हिउँको अनुभूति गर्नेहरूको नजरमा खप्तड शास्त्रमा वर्णित अमरावतीभन्दा कम लाग्दैन । त्यसैले हुनसक्छ, पहिलोपटक खप्तड भ्रमण गर्नेहरू स्वर्गमा पुगेको टिप्पणी गर्छन् । खप्तडका विभिन्न स्थानले आ–आफ्नै महत्व बोकेको छ । जसको पौराणिकता पनि यथार्थ जस्तै झल्किन्छ ।

खप्तडको अर्को छोटो परिचय हो, २२ पाटन, २५ मैदान र ५२ वटा थुम्का (झोती) । यी दृश्यको अवलोकनसँगै हरेक मानिसले जीवनका दुःख, पीडा केही क्षणका लागि भए पनि बिर्सिन्छन् । पौराणिककालमा ऋषिमुनिहरूले तपस्या गरेको यो क्षेत्रलाई ‘खेचरादी’ पर्वतका रूपमा वर्णन गरिएको छ । खेचरादी पर्वतको नाम विस्तारै अपभ्रंश हुँदै खप्तड रहन गएको किंवदन्ती छ । पौराणिकताअनुसार पाण्डवहरूले १४ वर्ष वनबास बस्दा केही समय खप्तडमा पनि बिताएका थिए । खप्तडमा भीमले हलो जोत्दा माटोबाट थुम्का (झोती) बनेको कथन छ ।

खप्तडमा रहेको केदार ढुंगा पनि पाण्डप भाइ भीमले भारतको केदारनाथबाट गादो (शरीरमा लगाएको अगाडिपट्टिको भाग)मा बोकेर ल्याएको स्थानीयहरू बताउँछन् । त्रिवेणी पाटनमा केदारढुंगा राखेपछि त्यो ठाउँमा पानीको मूल फुटेको किंवदन्ती छ । यसरी नै खप्तडमा रहेका चर्चित स्थान सीतापाइला, छिन्तेढुंगा, जेठी बहुरानी ढुंगा, नागढुंगा, सहस्त्रलिंग, खप्तड दह, त्रिवेणी, डाँफेकोट, बलेमेला, माइकाथान, सुकी दहलगायतका चर्चित ठाउँहरूको छुट्टै पौराणिकता रहेको छ । त्योमध्ये केही स्थानमा भने स्थानीयले शिवको रूपमा पूजाआजा गर्छन् ।

०४२ सालमा राष्ट्रिय निकुञ्ज स्थापना भए पनि खप्तडको प्रचार भने ७५ वर्षअघि नै भइरहेको थियो । जतिबेला खप्तड बाबा (श्री १००८ ब्रह्मविद् परमहंस योगी सच्चिदानन्द सरस्वती) तपस्या गर्न खप्तड पुगे, त्यसपछि खप्तडको प्रचार हुँदै गयो । २००२ सालमा बझाङी राजा रामजंगबहादुर सिंहको अगुवाइमा खप्तडका जंगलमा खप्तड बाबासँगै स्थानीय तपस्या गर्न पुगेका थिए । पछि खप्तड बाबामात्रै तपस्यामा समाहित भए । त्यसपछि खप्तड देवभूमिका रूपमा प्रख्यात हुँदै गयो । देश–विदेशमा यसको महत्व र धार्मिक पर्यटनको महत्वबारे प्रचार–प्रसार हुँदै गएपछि खप्तडको महिमा बढ्दै गएको हो ।

समुद्र सतहबाट २४–३७ सय मिटर उचाइ र २ सय २५ वर्गकिमी क्षेत्रफलमा फैलिएको खप्तडमा दुई सयभन्दा बढी प्रजातिका फूल र बहुमूल्य जडीबुटीका साथै कस्तुरी, मृग, बँदेल, डाँफेजस्ता जंगली जनावर र पक्षीको सुरक्षाका लागि राष्ट्रिय निकुञ्ज स्थापना भएको पाँच वर्षपछि ०४७ सालमा नेपाली सेनाको ब्यारेक स्थापना गरियो । बझाङ, बाजुरा, अछाम र डोटीको संगमस्थल खप्तड राष्ट्रिय निकुञ्जले मध्यपहाडी वातावरण, वनस्पति र वन्यजन्तुको प्रतिनिधित्व गर्दछ । यो क्षेत्रमा झुलेसल्लो, खस्रु, पाउमेल, निगाला, भोजपत्र, गुराँस, रानीसल्लो, ठिगेसल्लो, लौठसल्लालगायतका रूख–वनस्पति पाइन्छन् भने कालकुट, पाँचऔंले, नीरमसी, सतुवा, वायुजडी, हत्वाजडी, गँदाल्नो, वनप्याजजस्ता सयौँ प्रकारका जडीबुटी पाइन्छन् । हरियो छेपारो, खस्रे भ्यागुता, बझाङे पाहा आदि दुर्लभ जीवदेखि भालु, बँदेल, कस्तुरी, चितुवा आदि जनावर खप्तडमा प्रशस्तै भेटिन्छन् ।

तथ्यांकमा हेर्दा खप्तडमा वन क्षेत्र १ सय ९९ दशमलव ७३, घाँसेमैदान १३ दशमलव ४७, कृषिभूमि ९ र झाडी बुट्यान २ दशमलव ८ वर्गकिमीमा फैलिएको छ । खप्तडमा ३ सय ८२ प्रकारका रूख, वनस्पति तथा जडीबुटी पाइन्छन् । जसमा रूख ५७, बुट्यान ७८, घाँसपात २ सय ३, लहरा आठ र उन्यु १९ प्रजातिको भएको खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्यांकमा उल्लेख छ । कार्यालयको तथ्यांकअनुसार १२ वटा गुफा भएको खप्तड क्षेत्रमा २ सय ८७ प्रजातिका पक्षी, २३ प्रजातिका स्तनधारी, १७ प्रजातिका सरिसृप र ६ उभयचर प्रजातिका वन्यजन्तु पाइन्छन् ।
हरेक वर्ष जेष्ठ शुल्कपक्ष दशमी तिथिमा पर्ने गंगा दशहरा मेलामा हजारौँ तीर्थालु खप्तड पुग्ने गर्छन् । गंगा दशहराको दिन त्रिवेणीमा नुहाउँदा पाप पखालिने, पितृलाई तर्पण दिँदा पितृले मुक्ति पाउने र स्वर्ग जाने, मनको इच्छा पूरा हुने गहिरो विश्वास रहेकाले गंगा दशहरा मेला खप्तडको प्रमुख आकर्षण हो ।

मेला दुई दिनसम्म चल्ने भए पनि पछिल्लो समय विभिन्न जिल्लाले सांस्कृतिक कार्यक्रम तथा खेल प्रतियोगिता गर्ने हुँदा दशहरा हप्ता दिनसम्म पनि चल्ने गर्छ । दशहराको पहिलो दिन देउडाले मेलास्थल गुञ्जायमान हुन्छ । भोलिपल्ट त्रिवेणी नदीमा स्नान गर्नुका साथै सुदूरपश्चिमकै प्रसिद्ध हुड्के नाच, रनपुतला नाचलगायतका नाचबाट तीर्थयात्रीले रोमाञ्चित हुने अवसर पाउँछन् ।

राजधानी काठमाडौंबाट करिब १५ घण्टाको समयमा बसबाट कैलालीको अत्तरिया पुगिन्छ । अत्तरियाबाट खप्तड जान बझाङ, बाजुरा, अछाम र डोटीबाट जाने प्रवेशद्वार बनाइएको छ । त्यसमा पनि खप्तड पुग्न सबैभन्दा नजिक रहेको सडक सञ्जाल बझाङ छान्नाको मेल्तडी हो । मेल्तडीबाट खप्तड जान अढाई घण्टा समय मात्रै लाग्छ ।

खप्तडछान्ना गाउँपालिकाका सबै वडाबाट पनि खप्तड प्रवेश गर्न धेरै समय लाग्दैन । मध्यवर्ती क्षेत्रका बासिन्दाको भने चरिचराउन गर्ने लेक नै हो खप्तड । बझाङको खप्तडछान्ना र थलाराका विभिन्न गाउँ, बाजुरा (साविकको काँडा गाविस), अछाम (साविकको खप्तड गाविस) र डोटीको सायल, झिग्राना, काँडामाडौँबाट खप्तड प्रवेश गर्न सजिलो पर्छ ।

काठमाडौंबाट खप्तड पुग्न, घुम्न र फर्कन ठूलो खर्च लाग्दैन । काठमाडौंबाट हवाइजहाजमा धनगढी पुग्न एक घण्टामा ६–आठ हजारसम्मको टिकट मूल्य लाग्छ । त्यस्तै धनगढी–बझाङ हवाई टिकट पाँच हजार तोकिएको छ । हवाई यात्रामा करिब १२ हजार खर्च हुन्छ बझाङको देवल विमानस्थल पुग्न । त्यसै दिन खप्तड पुग्न सकिन्छ । विमानस्थलबाट खप्तड पुग्नसम्म बाटोमा खाना, खाजामा बढीमा दुई हजार रूपैयाँ खर्च हुन्छ । हवाईयात्रा गर्दा काठमाडौँबाट बझाङ पुग्न १४ हजार खर्च हुन्छ ।

बसमा जाँदा राजधानीबाट २ हजार २ सयमा १५ घण्टापछि कैलालीको अत्तरिया पुगिन्छ । अत्तरियाबाट खप्तड जानका लागि खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसम्म १ हजार ५ सयसम्म गाडी भाडा लाग्छ । बेलुका अत्तरियाबाट हिँड्दा भोलिपल्ट बिहान बझाङको तमैल बजार पुगिन्छ । तमैलबाट दिउँसो १२ बजेसम्ममा खप्तडछान्नाको मेल्तडी पुगिन्छ । मेल्तडी खाना÷खाजा खाएर केहीबेर आराम गरेर हिँडेपछि दिउँसो २–३ बजे खप्तड पाटन पुगिन्छ । बुकिङ गाडीमा भने अत्तरियाबाट एकै दिनमा खप्तडछान्ना र भोलिपल्ट बिहानै खप्तडमा घामझुल्कै (बिहान घामका किरण पर्नु) पुग्ने सकिन्छ ।

प्रतिक्रिया