भेट्टाएको नागरिकताबाट किर्ते र ठगी

बैंक र रजिष्ट्रार कार्यालयको लापरबाही

काठमाडौं । सरकारले भर्खरै राष्ट्रिय परिचयपत्र बाँड्दै छ । नागरिकको मुख्य पहिचान अहिले पनि नागरिकताको प्रमाणपत्र नै हो । त्यसैले नागरिकतालाई नागरिकको जीवनसँग जोडिएको महत्वपूर्ण र संवेदनशील कागजात मानिन्छ ।

नागरिकताजस्तो संवेदनशील कागजात हराए त्यसको दूरुपयोग हुनसक्ने सम्भावना पनि उत्तिकै रहन्छ । यस्तै एउटा घटना बिहीबार सार्वजनिक भएको छ । यो घटना, दोस्रो व्यक्तिले भेट्टाएको नागरिकताबाट सिर्जित अपराधको विषयसँग सम्बन्धित छ ।

बैंकमा खाता खोल्न होस् वा कुनै उद्योग दर्ता गर्न, सम्बन्धित ब्यक्तिको नागरिकता अनिवार्य मानिन्छ । अझ शैक्षिक प्रयोजन र वैदेशिक प्रयोजनमा त नागरिकता नभई हुँदैन । नागरिकतासँगै जोडिएको एउटा घटनामा प्रहरीले यस्ता अभियुक्त पक्राउ गरेको छ, जसले अर्काको हराएको नागरिकता भेट्टाएर कम्पनी खोली ठगी गरेका छन् ।

हराएकोे नागरिकता दुरूपयोग गरी कम्पनी खोलेर ठगी गर्ने तीन जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका–९ का सुरेश भन्ने २८ वर्षीय प्रदिप कर्मचार्य, मुगु खत्याड गाउँपालिका–११ घर भई हाल बुढानीलकण्ठ नगरपालिका–२ बस्ने २४ वर्षीय बिशाल कार्की र मुगु खत्याड गाउँपालिका–८ का २१ वर्षीय रामकृष्ण रावत रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट जारी भएको निजर पाण्डको हराएको सक्कल नागरिकताको दुरुपयोग गरी उनीहरूले ०७८ मंसिर २८ गते काठमाडौंको ज्ञानेश्वरमा एभरेष्ट लिंक इन्टनेसनल एजुकेसन प्रालि नामको प्राइभेट कम्पनी दर्ता गरे ।

अर्कैको नागरिकता प्रयोग गरी खोलिएको उक्त कम्पनी तीन जना मिलेर कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता पनि गरेका थिए । कम्पनीको दर्ता नम्बर २७९५९६ हो । त्यति मात्र होइन, सोही नागरिकताको आधारमा उनीहरूले सेञ्चुरी बैंकमा १३७००००१३८सी५ र कुमारी बैंकमा ०३७०१२९२७३००००१ नम्बरको खाता पनि खोले ।

त्यसपछि उनीहरूले बैदेशिक रोजगारीमा रुस पठाई दिने प्रलोभनमा केही व्यक्तिलाई ठगी गरे । पक्राउ परेकामध्ये प्रदिप उक्त कम्पनीको सीईओ, रामकृष्णले सहजकर्ता र विशालले पीडितकै नाममा बैंकमा खाता खोल्न सहयोगी भूमिका निर्वाह गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाका अनुसार पक्राउ परेकाले अर्कै व्यक्तिको नागरिकतामा फोटो टाँसेर बैंक खाता खोलेको र कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता गरेको पाइएको छ ।
विदेश पठाउने नाममा उनीहरूले विभिन्न व्यक्तिबाट २१ लाख रुपैयाँ बैंक खातामा जम्मा गर्न लगाएको प्रमाण प्रहरीले फेला परेको छ । तर, उनीहरूले पैसा लिएर पनि विदेश पठाउन नसकेपछि पीडितहरू प्रहरी समक्ष पुगेका थिए ।

बैंकले खाता खोल्न नागरिकता अनिवार्य गरे पनि खातावालले पेश गरेको नागरिकता उसैको हो वा होइन भन्ने प्रमाण खोज्न जरुरी रहेको यो घटनाले पुष्टि गरेको छ । एसपी कोइरालाले भने, ‘नागरिकता प्रमाणीकरणको आवश्यकता देखियो । यो घटनाबाट बैंक र कम्पनी रजिष्ट्रार कार्यालयले पैसा तिरेकै भरमा खाता वा कम्पनी खोल्ने काम गरेको पुष्टी पनि भएको छ ।’

प्रतिक्रिया