अस्थायी करार कर्मचारीको म्याद थप गर्ने निर्णय

झिमरुक गाउँ कार्यपालिका बैठक

प्युठान । प्युठानको झिमरुक गाउँपालिकाको आर्थिक वर्षको पहिलो बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । झिमरुक गाउँपालिकाको आज बसेको गाउँ कार्यपालिकाको बैठकले आर्थिक वर्ष २०७९/०८० को लागि गाउँ सभाबाट स्वीकृत आयोजना तथा कार्यक्रमको लागि उपभोक्त समिति गठन गर्ने निर्णय गरेको छ । पालिकाका ८ वटै वडाका सबै बस्तिका आयोजना स्थल पुगेर आम उपभोक्तहरुको रोहवरमा यहीँ भदौ २० गते सम्म उपभोक्त समिती गठन गरिसक्नुपर्ने समय सिमा बैठकले निर्धारण गरेको गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले जानकारी दिए ।

त्यस्तै गाउँपालिकामा कार्यरत अस्थायी करार कर्मचारीको म्याद थप गर्ने, योजना तथा कार्यक्रमको लागत तयार गर्ने,टेन्डर गर्नुपर्ने आयोजनाको लागि लागत अनुमान तयार गरि आवश्यक प्रक्रिया अगाडि बढाउने,जग्गा वर्गीकरण गर्ने,गिट्टी बालुवा ढुङ्गा निकासीको ठेक्का दररेट तोक्ने र त्यस्को लागि आवश्यक प्रक्रिया पुर्याइ टेन्डर खोल्ने निर्णय भएको पालिकाले जनाएको छ ।

बैठकले भुमी आयोग सम्बन्धि स्थानीय सहजीकरण समितीमा दलित अल्पसंख्यकबाट सदस्यमा चोपबहादुर बिक र महिला सदस्यमा पार्वता बिकलाई मनोनीत गरेको छ । त्यस्तै गाउँ शिक्षा समितिमा परिच्छेद ४ बमोजिम कार्यपालिका सदस्य कल्पना थापा एमसी र तुलस बस्नेतलाई मनोनीत गर्ने निर्णय भएको गाउँपालिकाका सुचना अधिकारी हरि प्रसाद पोख्रेलले बताए ।

पालिका भरका जग्गा वर्गीकरण गरि भुउपयोग ऎन २०७६ को दफा १८ ले ब्यवस्था गरे अनुसार स्थानीय भुउपयोग परिषद गठन गरि पुर्णता दिने र भुउपयोग क्षेत्रको वर्गीकरण गरि यस् आर्थिक वर्षबाट भुउपयोग ऎन अनुसार कार्य थालनी गर्ने निर्णय भएको सूचना अधिकारी पोख्रेलले बताए । झिमरुक गाउँपालिकाभित्रका ८ वटै वडामा निर्माणाधीन क्रमागत तथा अधुरा अपुरा आयोजना तथा कार्यक्रमहरु क्रमश पूरा गर्न बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिए ।

पालिकामा हामिले ल्याउने योजना तथा कार्यक्रम जनताको माग र आवश्यकतामा आधारित रहेकोले यसबाट प्रत्यक्षरुपमा स्थानीय जनता लाभान्वित हुने अध्यक्ष महतरा क्षेत्रीले जानकारी दिए । गाउँपालिकाले चालू वर्षमा पालिकाको सबै वडामा अपुरा अधुरा योजना पुरा गर्ने योजनासहित अगाडि बढेको गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले बताए । यस आर्थिक वर्षको लागि शिक्षा स्वास्थ्य कृषिलाई सिंचाइ, खानेपानी, ग्रामीण सडक, विद्यालय भवन, झोलुङ्गे पुल लगाए योजना मुख्य प्राथमिकता दिएर बजेट तयार गरिएको पालिका उपाध्यक्ष प्रमोद पोख्रेलले बताए । कार्यपालिका बैठकमा पालिकाले गरेका समग्र कार्यक्रमको समिक्षा गरि अनुमोदन गरेको छ ।

प्रतिक्रिया