लघुचलचित्र ‘थर्ड आई’ सर्वोत्कृष्ट

काठमाडौं । दुई दर्जन नेपाली लघुचलचित्र बीचको प्रतिस्पर्धामा सर्वोत्कृष्ट सर्ट फिल्मको अवार्ड चलचित्र ‘थर्ड आई’ हात पारेको छ । राजधानीमा स्टार वन इन्टरटेनमेन्ट र विलक्षण क्रिएसनले आयोजना गरेको ‘तेस्रो नेपाल सर्ट फिल्म अवार्ड २०२२’ मा आसुतोष प्रोडक्सनको उक्त चलचित्र उत्कृष्ट भएको हो । प्रतियोगितामा विभिन्न १३ विधामा अवार्ड प्रदान गरिएको थियो ।
प्रतिस्पर्धामा ‘थर्ड आई’ ले अन्य तीन वटा अवार्डसमेत जित्न सफल भएको छ । जसमा यसै चलचित्रबाट सोसिएल फिल्मतर्फको उत्कृष्ट निर्देशकको अवार्ड आशुतोष अधिकारीले प्राप्त गरेका छन् भने अभिनेत्रीतर्फ जुरी अभिनेत्री कमला अधिकारीले हात पारेकी छन् । यही चलचित्रबाट केडी प्रसितले सहअभिनेताको अवार्ड हासिल गरे ।


प्रतिस्पर्धामा सर्वोत्कृष्ट सर्ट फिल्म निर्देशकको अवार्ड चलचित्र ‘अवसान’ बाट कल्याण अधिकारीले प्राप्त गरेका छन् । उत्कृष्ट अभिनेताको अवार्ड प्रदीप बाँस्तोलाले हात पारेका छन् । अभिनेत्रीको अवार्ड फिल्म ‘म मेरी बहिनी र उ’ बाट सुजाता तिमल्सिनाले पाएकी छन् । यस्तै, प्रतिस्पर्धामा चलचित्र ‘दानव’ बाट मोहम्मद रफी शाहले निर्देशनतर्फको जुरी अवार्ड प्राप्त गरे भने चलचित्र ‘१२ ए एम’ बाट नवनिर्देशकको अवार्ड दिवस गिरीले हात पारे । उत्कृष्ट छायाँकारको चलचित्र ‘कलेज लाइफ’ बाट मनोज चौधरीले पाउन सफल भए । उत्कृष्ट सम्पादनको अवार्ड चलचित्र ‘इति’ बाट नवीन निरौला, नवअभिनेताको अवार्ड ‘द टाइम’ बाट अभिषेक खकुरेल र नवनिर्देशकको अवार्ड पनि सयै चलचित्रबाट सुदीप कुँवरले जितेका छन् ।

नेपाल सर्ट फिल्म अवार्डको निर्णायकमा चलचित्र निर्देशक मधुसुदन भट्टराई, पत्रकार तथा चलचित्र निर्देशक लक्ष्मण सुवेदी, पत्रकार विष्णुप्रसाद सुवेदी, अभिनेता विकाश चापागाईं, गजित बिष्ट, गोपाल ढकाल ‘छन्दे’ र चलचित्र लेखक शिवम अधिकारी थिए ।

प्रतिक्रिया