कर्णालीमा औलाकोे ३२ बिरामी !

कर्णाली । कर्णाली प्रदेशमा पर्ने भित्री मधेसबाट हिमाली भेगसम्म औलो रोगको संक्रमण देखिएको छ । आर्थिक वर्ष २०७८/७९ प्रदेशमा यो रोगका ३२ बिरामी र यहाँका विभिन्न स्थानीय तहका ६ वडा उच्च जोखिममा छन् । स्वास्थ्य सेवा निर्देशनालयका किटजन्य रोग नियन्त्रण अधिकृत श्यामलाल आचार्यका अनुसार हुम्लाको ताजाकोट गाउँपालिका–२, ३ र ४, मुगुको खत्याड गाउँपालिका–८ र १० तथा कालिकोटको खाँडाचक्र नगरपालिका–२ मा औलो रोगको उच्च जोखिममा छ । मध्यम जोखिममा हुम्लाको अदानचुली गाउँपालिका–२ र ५, चंखेली गाउँपालिका–२, सर्केगाड गाउँपालिका–२, ताजाकोट गाउँपालिका–२, सुर्खेतको भेरीगंगा नगरपालिका–७, वीरेन्द्रनगर नगरपालिका–१०, गुर्भाकोट नगरपालिका–१३, लेकबेँसी नगरपालिका–७ र १०, पञ्चपुरी नगरपालिका–९ छन् ।

कर्णालीमा अधिकांश भारतबाट फर्कने नागरिकमा औलो फेला परे पनि जलवायु परिवर्तन तथा हिमाली क्षेत्रमा तापक्रम वृद्धिका कारण लामखुट्टे देखिन थालेपछि यसको प्रभाव विस्तार भएको छ । प्रदेशमा सबैभन्दा बढी बिरामी सुर्खेतमा १४ जना छन् । हुम्लामा पाँच, मुगुमा ६, कालिकोटमा तीन, दैलेखमा एक, सल्यानमा दुई र रुकुमपश्चिममा एक जना छन् ।

मलेरिया भनेर चिनिने यो रोग ‘प्लाज्मोडियम’ नामक परजीवीका विभिन्न जातहरूबाट हुने गर्दछ । ‘एनोफिलिज’ जातको पोथी लामखुट्टेले स्वस्थ मानिसमा टोक्दा मलेरियाका परजीवी सर्ने गर्दछन् । मानिसको शरीरमा प्रवेश गरेपछि कलेजो र राता रक्तकोषमा विकास भई हुर्किएका परजीवी रगतको माध्यमबाट शरीरभरि फैलिएर विभिन्न लक्षण देखा पर्दछन् । औलो रोगका परजीवी भएको लामखुट्टेको टोकाइ भएको १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नी दुख्नेजस्ता लक्षणहरू देखा पर्दछन् ।

निर्देशनालयले औलोको निःशुल्क परीक्षण तथा उपचार, हरेक बिरामी तथा जोखिम क्षेत्रको खोजपड्ताल, कीटनाशक झुल वितरणलाई तीव्रता दिएको जनाएको छ । निर्देशनालयका कीटजन्य रोग नियन्त्रण अधिकृत आचार्यले औलो प्रभावित क्षेत्रमा गर्भवती महिलालाई लक्ष्य गरी यस वर्ष २ हजार ६ सय ७१ थान झुल वितरण गरिएको बताए ।

नेपाल सरकारले सन् २०२५ सम्म नेपाललाई पूर्ण अ‍ैलोमुक्त बनाउने राष्ट्रिय रणनीतिअनुसार सन् २०२२ सम्म औलोबाट हुने स्थानीय मृत्युदरलाई शून्यमा झार्ने लक्ष्य लिएको छ । ‘औलो भार कम गर्न नयाँपनमा जोड दिऔँ र जीवन बचाऔँ’ भन्ने नाराका साथ सोमबार विश्व औलो दिवस मनाइएको थियो ।

प्रतिक्रिया