दीपेन्द्रलाई पुनः उपकप्तानको जिम्मेवारी

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीको उपकप्तानीको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीले पुनः पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) शनिबार उनलाई पुनः उपकप्तानी जिम्मेवारी दिएको हो । सम्झौता विषयमा क्यान र खेलाडीबीच विवाद भएपछि २९ मंसिर २०७८ मा दीपेन्द्रसहित तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, सोमपाल कामी र कमलसिंह ऐरी कारबाहीमा परेका थिए ।

यी ४ जनालाई क्यानले सुरुको ६ महिना सेन्ट्रल सम्झौता नगर्ने निर्णय गरेको थियो । यस्तै, ज्ञानेन्द्रबाट कप्तानी र दीपेन्द्रबाट उपकप्तानी जिम्मेवारी क्यानले खोसेको थियो ।
त्यसपछि नेपाली टोलीको कप्तानी सन्दीप लामिछानेले पाएका थिए । उनी नाबालिक बलात्कारको अभियोगमा परेपछि रोहितकुमार पौडेललाई सो जिम्मेवारी क्यानले सुम्पिएको थियो । उपकप्तानको जिम्मेवारी भने क्यानले कसैलाई दिएको थिएन ।

शनिबार मुख्य प्रशिक्षक स्टुअर्ट लले लिग २ अन्तर्गत स्कटल्यान्ड भ्रमणका लागि १५ सदस्सीय अन्तिम टोली घोषणा गरेका हुन् । टोलीमा बसिर अहमद र नन्दन यादवले पुनरागमन गरे । टिममा दीपेन्द्रसिंह ऐरीले उपकप्तानी जिम्मेवारी पाएका छन् ।

विकेटकिपरद्वय आसिफ शेख र अनिलकुमार शाह अटाएका छन् । आरिफ शेख, कुशल भुर्तेल, भीम सार्की, गुलशनकुमार झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललित नारायण राजवंशी टोलीमा छन् ।

नेपालले २ जुन र ८ जुनमा स्कटल्यान्डसँग खेल्ने छ । यस्तै, ४ जुन र १० जुनमा नेदरल्यान्ड्ससँग खेल्ने तय छ ।

प्रतिक्रिया