फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

जेनेभा । सन् २०३१ देखि सुरु हुने फिफा महिला विश्वकपमा सहभागी राष्ट्रहरूको संख्या ३२ बाट बढाएर ४८ पुर्याइने भएको छ । विश्व फुटबल नियामक संस्था फिफाले शुक्रबार सार्वजनिक वक्तव्यमार्फत उक्त निर्णय सर्वसम्मतिले पारित गरिएको जानकारी दिएको हो ।

फिफाका अनुसार, विश्वव्यापी रूपमा महिलाको फुटबलमा आएको उल्लेखनीय प्रगतिको कदरस्वरूप यो निर्णय लिइएको हो । यसले थप राष्ट्र र खेलाडीहरूलाई उच्चस्तरीय प्रतिस्पर्धामा सहभागी हुने अवसर प्रदान गर्नुका साथै विश्वभर महिला फुटबलमा लगानी तीव्र बनाउन मद्दत गर्ने विश्वास गरिएको छ ।

४८ टोली सहभागीताको नयाँ ढाँचामा अब १२ समूह रहनेछ, जसले कुल खेल संख्या ६४ बाट बढाएर १०४ पुर्याउनेछ र प्रतियोगिता एक हप्ता थप लम्बिनेछ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भने, ‘यो केवल थप १६ टोली खेलाउने कुरा मात्र होइन, यो निर्णयले सदस्य राष्ट्रहरूलाई समग्र रूपमा महिला फुटबल संरचना विकास गर्न प्रेरित गर्नेछ ।

महिला विश्वकपको सुरुआत सन् १९९१ मा १२ टोलीसहित भएको थियो। त्यसपछि सन् २०११ सम्म १६ टोलीले भाग लिए भने क्यानडा र फ्रान्समा सम्पन्न सन् २०१९ संस्करणमा २४ टोली सहभागी थिए ।

सन् २०२३ मा अष्ट्रेलिया र न्युजिल्यान्डद्वारा सह–आयोजित प्रतियोगितामा पहिलोपटक ३२ टोली सहभागी भएका थिए । सन् २०२७ मा आगामी विश्वकप ब्राजिलमा आयोजना हुनेछ । यसैबीच, पुरुष विश्वकप पनि सन् २०२६ देखि ४८ टोलीसहित आयोजना हुँदैछ, जुन संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्नेछन् ।

प्रतिक्रिया