साउदीका विदेशमन्त्री फरहानले गरे भारत र पाकिस्तानसँग सैन्य टकराव अन्त्य गर्नेबारे छलफल

काठमाडौं । भारत र पाकिस्तानबीच जारी तनावका बीच साउदी अरेबियाका विदेशमन्त्री राजकुमार फैसल बिन फरहानले दुवै देशका विदेशमन्त्रीहरुसँग फोनमा कुराकानी गरेका छन् ।

साउदी अरबको विदेश मन्त्रालयले राजकुमार फैसल बिन फरहानले भारतीय विदेशमन्त्री एस जयशंकर र पाकिस्तानका विदेशमन्त्री इशाक डारसँग भारत र पाकिस्तानबीच जारी सैन्य टकराव अन्त्य गर्ने र तनाव कम गर्ने प्रयासबारे छलफल गरेको जानकारी दिएको छ ।

पाकिस्तानको विदेश मन्त्रालयले साउदी विदेशमन्त्री र इशाक दारबीच भएको वार्ताको बारेमा पनि जानकारी गराएको छ ।पाकिस्तानको विदेश मन्त्रालयले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘इशाक डारले उनलाई हिजो राति भारतद्वारा गरिएको आक्रमण र पाकिस्तानको बदला लिने कारबाहीपछि क्षेत्रको वर्तमान अवस्थाको बारेमा जानकारी गराए ।’

‘साउदी विदेशमन्त्रीले निर्दोष जीवनको क्षतिप्रति समवेदना व्यक्त गर्नुभयो र पाकिस्तानको संयमी र सन्तुलित प्रतिक्रियाको कदर गर्नुभयो, दुई नेताहरू सम्पर्क कायम राख्न सहमत भए’, विज्ञप्तिमा भनिएको छ ।

यद्यपि, साउदी अरबको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा विदेशमन्त्रीले कसैको मृत्युको बारेमा केही भनेको उल्लेख छैन । यसैबीच, भारतका विदेशमन्त्री एस जयशंकर र भारतीय विदेश मन्त्रालयले राजकुमार फैसल बिन फरहानसँगको कुराकानीको बारेमा अहिलेसम्म कुनै वक्तव्य जारी गरेका छैनन् ।

प्रतिक्रिया