चैत्र महिनाभित्रै स्थानीय तहको उम्मेदवार टुंग्याउछौ : डा. महत

सल्यान । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठ्ने उम्मेद्वारहरुको टुंगो चैत्र महिनाभित्रै लगाइसक्ने बताएका छन् । नेपाल प्रेस युनियन सल्यानले आइतबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा साे कुरा बताएका हुन् । उनले भने, ‘अहिले पार्टी विधानले नै पार्टीका तर्फबाट विभिन्न तहका निर्वाचनमा उठाइने उम्मेदवारहरुको टुंगो लगाउन पार्टीले केन्द्र, प्रदेश, जिल्ला र पालिका तहमा संसदीय समितिको व्यवस्था गरेको छ ।’ डा. महतले आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठाइने उम्मेदवारहरुको टुंगो चैत्र महिनाभित्रै लगाउने बताए ।

‘यसपटक विगतमा भए जस्तो उम्मेदवादी दिने अन्तिमदिनसम्म को उठ्ने हो भन्ने टुंगो नलाग्ने स्थिति रहने छैन् । निर्णय गर्ने प्रकृया पनि विभिन्न तहमा विकेन्द्रित छ । चैत्र महिनाभित्रै उम्मेदवारको टुंगो लगाउने कोशिस गछौं’, प्रवक्ता महतले भने । उनले पार्टीका तल्लो तहका समितिले टुंग्याउन नसकेका विवाद भए केन्द्रले हेर्न सक्ने पनि बताए । उनले भने, ‘जुन तहको हो उम्मेद्वारी हो , त्यही टुंगियोस् । सर्वसम्मत भएर टुंगियोस् भन्ने केन्द्रको चाहना छ ।’

कांग्रेस प्रवक्ता डा. महतले नेपाली कांग्रेसले आरम्भ गरेको ‘घरघर जाऔं नेपाली कांग्रेसलाई जिताऔं’ भन्ने देशव्यापी अभियानमा बढीभन्दा बढी जनतालाई पार्टींसंग जोड्न पनि पार्टीका हरेक तहका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे । उनले यो अभियानका क्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ताले आफ्नो पार्टीका प्रतिनिधिहरुले गरेका काम, तीनै तहका सरकारले गरेको कामका बारेमा नागरिककाबीचमा जानकारी गराउने र नागरिकका गुनासा सुनेर पार्टीका विभिन्न निकायमार्फत तिनको समाधान गर्ने पद्धति बसाउने पनि बताए ।

कार्यक्रममा कांग्रेस प्रवक्ता डा.महतले स्थानीय तहको उम्मेद्वारीको सामान्य मापदण्ड पनि सार्वजनिक गरेकाे बताए । उनले निर्वाचनमा सकेसम्म धेरैभन्दा धेरै पदमा जित्ने लक्ष्य हुने भएकोले जो उठाउदा बढी मत आउछ त्यसैलाई प्राथमिकता दिएर उम्मेद्वारी तय गर्न उपयुक्त हुने बताए ।

गठबन्धन आवश्यकताका अधारमा
कांग्रेस प्रवक्ता डा. महतले आउने स्थानीय चुनावमा केन्द्रमा सत्तागठबन्धनमा रहेका दलहरुबीच गठबन्धन हुन्छ कि हुँदैन भन्ने बारेमा पनि स्पष्ट पारेका छन् । उनले स्थानीय निर्र्वाचनमा स्थानीय आवश्यकताका आधारमा पनि यसको तय हुने तर गठबन्धन हुने नहुनेबारेमा नेपाली कांग्रेसको यही ११ गते बस्ने बैठकले सिद्धान्त तय गर्न सक्ने पनि बताए ।

उनले सबै दलको लक्ष्य निर्वाचनमा बढी सिट जित्ने हुने भएकोले के गर्दा बढी सिट जितिन्छ, त्यसै अनुरुप निर्णय हुने पनि बताए । ‘एक्लै लड्दा बढी जितिन्छ भन्ने देखियो भने त्यही गरौं, सहकार्य गर्दा बढी सिट जितिने भयो भने त्यसको आधारमा होला’, उनले भने ।

उनले नेपाली कांग्रेसका कार्यकर्ताहरु अहिले गठबन्धन गर्न हुन्छ हुँदैन भन्ने बहसमा अल्झन नहुने तर वर्तमान गठबन्धन कुन अवस्थामा बनेको होे भन्नेमा हेक्का राख्नुपर्ने बताए । तात्कालीन ओली सरकारले संविधानको उल्लंघन गर्दै प्रतिनिधिसभा दुई पटक विघटन गरेको, देशमा भ्रष्ट्राचार बढेको, कोरोनाले आक्रान्त नागरिकले खोप पाउन नसकेको बेलामा गठबन्धन बनेको उनले उल्लेख गरे ।

उनले हालै ससदबाट पारित एमसीसी संझौताको प्रसंग निकाल्दै कम्युनिष्ट नेताहरुको भनाई र गराईमा कुनै तालमेल नहुने पनि बताए । उनले भने, ‘नेपाली कांग्रेस सत्तामा हुँदा होस् कि विपक्षमा सत्यको पक्षमा बोल्छ र उभिइरहन्छ ।’ प्रवक्ता डा.महतले अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेञ्ज कर्पोरेशनबाट नेपालको सडक विस्तार र विद्युत प्रशारण लाईन निर्माणका लागि प्राप्त ५० करोड अमेरिकी डलर (झण्डै ६० अर्ब नेपाली रुपया भन्दमाथि)को अनुदान सहयोग लिने संबन्धमा भएको संझौता नेपाली कांग्रेसको प्रयासले संसदबाट पारित भएको पनि बताए ।

उनले यो संझौता लिने सम्बन्धमा अहिले संसदमा रहेका सबै दलहरु सरकारमा बस्दा अगाडि बढाउन सहमति दिएकोले नेपाली कांग्रेसले कुनै दलले विपक्षमा नहुने विश्वासमा लामो समयसम्म यसका बारेमा मुख नखोलेको बताए । प्रवक्ता डा.महतल थपे, ‘जब नेपाली कांग्रेसले सत्य बोल्न थाल्यो । एमसीसीका बारेमा कम्युनिष्टहरुले सिर्जना गरेको झूठको पर्दा गिर्न थाल्यो । आफू सत्तामा बस्दा ठिक हुन्छ भनेर सहमति गरेको छ । अगाडि बढाएको छ । पारित गर्ने बेलामा सडकमा उफ्रिएको छ । नेपालको अन्तराष्ट्रिय साखः गिरिसकेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको सुझबुझपूर्ण नेतृत्वले एमसीसीमा राष्ट्रिय सहमति जुटाएर पुनस्थापित गर्ने काम गरेको छ ।’ यस्तो उदार संझौतालाई विवादमा पार्न खोजेकोमा आश्चर्य व्यक्त गर्दै डा.महतले एमसीसीको पारदर्शी र उदार मोडललाई अन्य दातृ राष्ट्र र निकायले समेत अबलम्बन गर्न उचित हुने बताए ।

प्रतिक्रिया