रास्वपा महाधिवेशन : नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा पहिलो चरणको मतदान सकिएपछि दोस्रो चरणको नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । रास्वपाको केन्द्रीय निर्वाचन आयोगले राष्ट्रिय महाधिवेशनका लागि पाँचौँ पटक संशोधन गरिएको नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

पार्टीको राष्ट्रिय महाधिवेशन निर्वाचन कार्यविधि, २०८३ को दफा ९ बमोजिम परिमार्जित यो कार्यतालिका निर्वाचन आयोगको केन्द्रीय सचिवालयले पुनः प्रकाशन गरेको हो ।

नयाँ कार्यसूची अनुसार २०८३ असार ११ गते दिउँसो १ः०० बजेदेखि ३ः०० बजेसम्म महाधिवेशन स्थलमा पहिलो चरणको मतगणना सुरु हुनेछ । त्यसलगत्तै सोही दिन दिउँसो ३ः३० देखि ४ः३० बजेसम्म प्रवासमा रहेका सदस्यहरूका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन भोटिङको व्यवस्था मिलाइएको छ ।

पहिलो चरणको अन्तिम मतपरिणाम असार ११ गते नै दिउँसो ४ः४५ बजे घोषणा गरिने र त्यसपछि बेलुका ५ः०० देखि ६ः३० बजेसम्म दोस्रो चरणको तयारी गरिने आयोगले जनाएको छ । पार्टीको मुख्य पदाधिकारी चयनको प्रक्रिया पनि असार ११ गते साँझबाटै द्रुत गतिमा अघि बढ्ने तालिकामा उल्लेख छ ।

जस अनुसार बेलुका ६ः३० देखि ७ः०० बजेसम्म पदाधिकारी पदको फारम वितरण तथा दर्ता गरिने छ भने साँझ ७ः३० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिने छ । उम्मेदवारहरू विरुद्ध दावी–विरोधका लागि साँझ ८ः०० बजेसम्मको समय तोकिएको छ भने परेका दावी–विरोधमाथि जाँचबुझ गर्न ८ः१५ बजेसम्मको अवधि निर्धारण गरिएको छ ।

उम्मेदवारहरूले नाम फिर्ता लिनका लागि साँझ ८ः३० बजेसम्मको अन्तिम समय पाउने छन् र त्यसलगत्तै साँझ ८ः४५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने छ । अन्तिम नामावली प्रकाशन भएसँगै साँझ ८ः४५ देखि राति ९ः१५ बजेसम्म आधा घण्टाको मौन अवधि रहने छ ।

पदाधिकारी चयनका लागि मतदान प्रक्रिया असार ११ गते राति ९ः१५ बजेदेखि सुरु भई मध्यराति १२ः१५ बजेसम्म चल्ने छ । मतदान सकिएलगत्तै राति १२ः१५ बजेदेखि असार १२ गते बिहान १ः१५ बजेसम्म मतगणना गरिने कार्यतालिका छ। निर्वाचन आयोगका अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी असार १२ गते राति १ः३० बजे पार्टी पदाधिकारीको अन्तिम मतपरिणाम घोषणा गरिने छ ।

प्रतिक्रिया