
झापा । नराम्रो चुनावी पराजय बेहोरेको कांग्रेस अहिले आन्तरिक कलहको भासमा छ । चुनावी परिणाम आएको ४ महिना बित्दै छ । तर, एकथरी कांग्रेस नेताहरू हारको घाउमा नुनचुक छर्किनमै व्यस्त छन् । पार्टीलाई यो अवस्थामा पु¥याउने मुख्य नाइके कंग्रेस सभापति गगन थापा भएको संगीन आरोप असन्तुष्ट पक्षको छ । संस्थापन पक्ष त्यसको ठाडै इन्कार गरिरहेको छ । चुनावी पराजयलाई लिएर कांग्रेसमा अहिले दोहोरी नै चलिरहेको छ । विशेष महाधिवेशन गरेकै कारण पार्टीको यो हविगत भएको इतर पक्षको निष्कर्ष छ । यो खेमामा डा. शेखर कोइरालासहित शेरबहादुर देउवा निकट नेताहरू छन् । उनीहरू गगन–विश्वलाई दोष थोपरेर आफूलाई चोख्याउन मरिहत्ते गरिरहेका छन् ।
गगन थापालाई सभापति मान्दै नमान्ने ढिपी कसिरहेको सो समूह विशेष महाधिवेशन नै समस्याको जड र पार्टी हारको कारण भएको निष्कर्षमा छ । सो समूह विशेष महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय समिति भंग गर्नुपर्ने, क्रियाशील अद्यावधिक रोकिनुपर्ने, सम्मानजनक पार्टी एकता हुनुपर्ने माग राखेर कोठे बैठक, वक्तव्यबाजी हुँदै प्रदेश स्तरीय भेलामै जुटेको छ । पछिल्लो पटक विराटनगरमा कोसी प्रदेश स्तरीय भेला गरेको सो समूहले कांग्रेस फुटिसकेको र घोषणा हुन मात्रै बाँकी रहेको अभिव्यक्ति दिँदै आएको छ । फुटेको आधिकारिक घोषणा गर्ने तहमा सो समूह नरहेको र अहिलेको बार्गेनिङ पदका लागि भएको संस्थापन पक्षका कतिपय नेताको टिप्पणी छ । तर, पार्टीको मुख्य नेतृत्व आन्तरिक समझदारीको पक्षमा देखिन्छ ।
इतर पक्षको बैठक र भेलामा निश्चित नेताहरू र उनीहरू निकटस्थ कार्यकर्ता सहभागी हुने गरेका छन् । विराटनगरमा भएको कोसी प्रदेश स्तरीय कार्यक्रम प्रदेश सभापति उद्धव थापालगायत १४ जिल्लाका पार्टी सभापति अनुपस्थित रहे । तथापि, सो समूह गगन थापासँग नझुक्ने अडानमा छ । तर, विशेष महाधिवेशनबाट आएको नेतृत्व समयमै १५औँ महाधिवेशन गराउने लक्ष्यका साथ क्रियाशील सदस्यता अद्यावधिक सकाएर नयाँ क्रियाशील सदस्यता वितरणमा जुटेको छ । नयाँ सदस्यता वितरण र समन्वयका लागि कांग्रेसले असार ७ देखि २० गतेको समय निर्धारण गरेर ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।
पार्टीको आन्तरिक कलह हल गर्ने उद्देश्यले असन्तुष्ट पक्षलाई सम्मानजनक स्पेस दिन आफूहरू तयार रहेको संस्थापनले बारम्बार दोहो¥याइरहेको छ । विशेष महाधिवेशनपछि पहिलो पटक झापा आएका कांग्रेस सभापति गगन थापाले आवश्यकताअनुसार वरिष्ठ नेताको सम्मानजनक जिम्मेवारी दिन आफूहरू तयार रहेको बताए । उनले भने, ‘हामी सम्मानका लागि तयार छौँ, पार्टीको समस्यामा अल्झेर बसेर हुँदैन ।’ विशेष महाधिवेशनको सम्मुखमा अग्रज नेताहरूलाई नेतृत्व लिनुस् भनेको स्मरण गर्दै सभापति थापाले पार्टी मिलाउन १० प्रतिशत र कांग्रेससँग रिसाएका नागरिकको भरोसा फर्काउन ९० प्रतिशत समय खर्चिनुपर्ने बताए ।
चुनावी हारको जिम्मेवारी लिन तयार रहेको बारम्बार दोहो¥याएका सभापति थापाले विशेष महाधिवेशनका कारण कांग्रेसले पराजय भोगेको कुरा अस्वीकार गरे । उनले नागरिकलाई हेपेर २०७२ सालपछि गरिएको सत्ताको खेल नै अहिलेको हारको मुख्य कारण भएको बताए । ‘विशेष महाधिवेशन र अहिलेको नेतृत्व हारको कारण होइन,’ सभापति थापाले भने, ‘निश्चित व्यक्ति आलोपालो प्रधानमन्त्री बन्नैपर्ने, सरकार बनाउन र ढाल्न जोसँग पनि मिल्ने र जे गरे पनि हुन्छ भनेर विगतमा गरिएको गठबन्धन हारको मुख्य कारण हो ।’ चुनावको बेला एमाले एकताबद्ध देखिएको र सबै बा–बा भनेर लाग्दा पनि नतिजा प्रतिकूल आएको प्रसंग जोड्दै सभापति थापाले भने, ‘आफैँलाई बिर्सेर धेरैलाई मिलाएको माओवादीले पनि चुनाव हा¥यो ।’ आफैँ नागरिकलाई हेप्ने र ह्वारह्वार्ती भोट आउँछ भन्ने भ्रम नै कांग्रेस हारको कारण भएको उनको स्वीकारोक्ति छ ।
सभापति थापाले झापा आएर असन्तुष्ट नेता कृष्णप्रसाद सिटौलाको आलोचना गरेनन्, बरु प्रसंशा नै गरेर काठमाडौँ फर्किए । ‘कृष्ण दाइ मेरो श्रद्धेय नेता हुनुहुन्छ, उहाँले मलाई राजनीतिमा धेरै कुरा सिकाउनुभएको छ,’ सिटौलाको गृहजिल्ला झापामा सभापति थापाले भने, ‘वैधानिक व्यवस्थाअनुसार नै राष्ट्रियसभाको नेता परिवर्तन भएको हो, यसमा अन्यथा भएको छैन ।’ पार्टी समस्या हल गर्न तयार रहेको र सम्मानजनक स्पेस दिन तयार रहेको बताएका थापाले क्रियाशील सदस्यता अद्यावधिक नगर्ने कसैलाई पनि कांग्रेसले नचिन्ने बताए ।
विशेष महाधिवेशनअघि र अहिले पनि पार्टीको समस्या समाधानमा नयाँ योजना र रणनीतिको योजना बुनिरहेका उपसभापति विश्वप्रकाश शर्मा आफूहरूले अघि सारेको ७ बुँदे प्रस्तावको धारणाको प्रतीक्षामा आफूहरू रहेको बताए । नम्रतापूर्वक जिम्मेवारी पूरा गर्न आफूहरू तयार रहेको बताएका उनले नेता कृष्णप्रसाद सिटौलालाई झपारेको र उनीसँग वान्–टु–वान् वार्ता भएको भ्रम नफिँजाउन सम्बन्धित पक्षलाई सचेत गराए । प्रजातन्त्र सेनानीसमेत रहेका आफ्ना काका याम भण्डारीको निधनपछि उपसभापति शर्मा करिब २ सातादेखि झापामै छन् । केही दिनअघि झापा कांग्रेसका सचिव कृष्ण हुमागाईंले शर्मा–सिटौला वान्–टु–वान् वार्ता भएको भन्दै सामाजिक सञ्जालमा आफूसहित शर्मा र सिटौलाको फोटो पोस्ट गरेका थिए ।
सोही पोस्टका आधारमा सिटौलालाई शर्माले झपारेको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएपछि नैतिक दबाब झेलिरहेका शर्माले भने, ‘मैले आजसम्म आफूभन्दा सानालाई त झपारेको थाहा छैन, श्रद्धेय नेतालाई झपारेको समाचार कसरी आयो ? बर्खान्त बारेर बसेको ठाउँमा वान्–टु–वान् वार्ता कसरी हुन्छ ? कसैलाई मन लागेकै भरमा सामाजिक सञ्जालमा जे पनि लेखिदिने ?’ नाम नलिई उपसभापति शर्माले मन लागेको भरमा सामाजिक सञ्जालमा नलेख्न सचिव हुमागाईंलाई सचेत गराए ।
पूर्वमहामन्त्री सिटौला विशेष महाधिवेशनको विपक्षमा रहनेमध्ये प्रमुख नेता हुन् । कांग्रेस उपसभापति शर्मा २ सातादेखि झापामा रहनु, यही बेला नेता सिटौला गृहजिल्ला झापा आएर समवेदना व्यक्त गर्न स्व. याम भण्डारीको घर पुग्नु र उपसभापति शर्मासँग भेट हुनु, सभापति थापा झापा आउनुले मात्रै होइन, गएको मंगलबार झापा कांग्रेसले बिर्तामोडमा कार्यकर्ता भेला आयोजना गरेपछि कांग्रेसको आन्तरिक बहसको पारो चढेको हो ।
पार्टीको आन्तरिक विवाद र समस्यामा तातो बहस भए पनि कांग्रेस नेतृत्वले संयमसँगै वैधानिकताको पैरवी गरिरहेको नेतृत्वको अभिव्यक्तिबाट झल्किन्छ । यसले कांग्रेस संस्थापन पक्ष पार्टीको आन्तरिक समस्या विधि, प्रक्रिया र पद्धतिबाटै टुंग्याउन सक्षम र दृढ छ भन्ने दर्साउँछ । सो कुरा कांग्रेस कोसीका सभापति उद्धव थापाको भनाइले पनि पुष्टि गर्छ । कोसी प्रदेश सभापति थापाले भने, ‘अहिले कांग्रेसको सभापति गगन थापा हुनुहुन्छ, उहाँ नेतृत्वको केन्द्रीय समितिले गरेको निर्णय कांग्रेसले मान्नुपर्छ ।’ उनले विगतमा पनि पार्टीमा यसखाले विवाद र बहस हुँदा नेतृत्वले समाधान गरेको दृष्टान्त सुनाउँदै अहिलेको बहस पनि सेफल्यान्डिङ हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया