एकल पुरुषलाई मासिक भत्ता

पर्वत । पर्वतको फलेवास नगरपालिकाले एकल पुरुष अर्थात् विधुरलाई मासिक भत्ता उपलब्ध गराउन सुरु गरेको छ । शुक्रबारदेखि लागू हुने गरी यो कार्यक्रमको थालनी गरिएको हो । फलेवास नगरपालिकाले एकल अवस्थामा रहँदा महिला मात्रै नभई पुरुष पनि समस्यामा पर्ने भएका कारण भत्ता दिन सुरु गरिएको नगरपालिकाका प्रवक्ता टीकाराम गौडेलले बताए । यो कार्यक्रम चालु आवको माघ महिनाबाट सुरु गरिएको गौडेलको भनाइ छ । ११ वटा वडा रहेको नगरपालिकाका सबै वडाबाट विवरण संकलनको काम पूरा भएको र यदि कतै छुटेका भए ती बाहेक ८४ जना एकल पुरुष रहेको र उनीहरूलाई मासिक एक हजार रुपैयाँका दरले भत्ता दिइने नगरपालिकाले जनाएको छ ।

प्रवक्ता गौडेलका अनुसार नगरपालिकाका भित्रका ११ वटै वडाबाट विवरण संकलन गर्दा ८४ जना एकल अर्थात विधुर पुरुष रहेको तथ्यांक आएको भनाइ छ । कहीँ कतै विवरण संकलनमा छुटेको भएमा पुन समेट्न सकिने उनले बताए । समग्रमा ७० वर्ष उमेर पुग्ने वेलासम्म भनिए पनि दलित पुरुषले ५९ र अन्य जातका पुरुषले ६९ वर्षसम्म यो भत्ता पाउने नगरपालिकाले जनाएको छ ।
समयावधि पुगेका अर्थात नेपाल सरकारले तोकेको मापदण्डमा पुगेका पुरुषहरू बाहेक अन्य यो कार्यक्रममा समेटिने भएका हुन् । यही कारण माथिबाट आउने भत्ता नपाउने अवस्था सम्मका लागि ५० वर्ष उमेर पूरा गरेका पुरुषलाई ‘विधुर भत्ता’ दिन थालिएको फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणि शर्माले बताए ।

शर्माले श्रीमतीको मृत्यु भएपछि समस्यामा रहेका र कुनै पनि आर्थिक अवस्थामा रहेर समस्यामा परेका पुरुषको लागि केही हदसम्म भए पनि सहायता हुन्छ भन्ने उद्देश्यका साथ भत्ता कार्यक्रमको थालनी गरिएको बताए । चालु आवमा नै यो कार्यक्रम गर्नका लागि योजना पारित भएपछि शुक्रबारदेखि त्यस्ता पुरुषलाई भत्ता वितरणको काम थालिएको नगरप्रमुखको भनाइ छ ।

अहिलेसम्म यो कार्यक्रममा ८४ जनाको विवरण आएको छ । शर्माले भने, ‘हामी यो कार्यक्रमको बारेमा ११ वटै वडामा पुगेर जानकारी गराएका छौँ, समस्या एकल महिलाले मात्रै होइन पुरुषले पनि भोगेको हुनाले नगरपालिकाले यो कार्यक्रमको थालनी गरेको हो । चालु आवमा नै योजना कार्यान्वयनमा ल्याउनका लागि पास भएपछि एकल पुरुष भत्ता कार्यक्रम सञ्चालन भएको हो । उनीहरूले मासिक रूपमा एक हजार रुपैयाँको दरले भत्ता पाउनेछन् । नगरपालिकाले यसअघि मध्यम वर्ग र पिछडिएको वर्गका लागि भनेर विभिन्न खालका लोकप्रिय कार्यक्रमहरू सञ्चालनमा ल्याइसकेको छ ।

प्रतिक्रिया