को थिए आर्यहरू ?

गोविन्द पौडेल

आफूलाई सभ्य, श्रेष्ठ, उत्तम, प्रगतिशील र संस्कारयुक्त मान्ने आर्य जातिको उत्पत्तिका सम्बन्धमा लेख्न सजिलो छैन । आर्यहरूका विषयमा त्यस्तो कुनै प्रस्ट पुरातात्तिवक खोज र पहिचानहरू छैनन् । जसका आधारमा उनीहरूको उत्पत्ति र संस्कृति खास किसिमको थियो भन्न सकियोस् । उनीहरूले आफूसँग प्राचीन संस्कृत भाषा बोकेर हिँड्नुबाहेक अन्य कुनै दृश्य भौतिक सांस्कृतिक पहिचानका अवशेष विरलै छाडेका छन् । आर्य भन्ने बित्तिकै हामी वैदिक संस्कृतिका संवाहक भनेर बुझ्दछौँ । वेद र आर्यहरू एकअर्कासँग अविभाज्य रूपमा रहेका छन् ।

इसापूर्व दुई हजार वर्ष अघिदेखि सुरुभई आर्यहरूको संस्कृतिले उत्तरी र दक्षिणी भारतमा इसाको छैटौँ शताब्दीसम्म आफ्नो प्रधानता कायम गरेको थियो भन्ने विश्वास गरिन्छ । यद्यपि आर्यहरू कहिले भारत पसेका थिए भन्ने बारेमा विद्वानहरू एक मत हुन सकेका छैनन् । आर्यहरूको प्राग इतिहास र उत्पत्ति अनेक हाइपोथेसिस र प्राक्कल्पनामा आधारित छन् । कतिपय विद्वानहरू इरानको उत्तर पश्चिमी दिशा हुँदै उनीहरू इसापूर्व १७५० देखि १२०० को बीचमा भारत पसेका थिए भन्ने परिकल्पना गर्दछ्न् । आर्यहरूको बसाइँसराइका विषयमा भिन्न भिन्न विद्वानहरूको भिन्न भिन्न मत छन् । आर्यहरू मूलतः लडाकु कविला भएकाले उनीहरू घोडा चढ्ने गर्थे । उनीहरूले रथ बनाएका थिए र उनीहरू फिरन्ते प्रकृतिका थिए । उनीहरू ज्यादै ठूलो संख्यामा भारत पसेका थिएनन् ।

भारतीय महाद्वीपको जलवायु, भूगोल र यहाँको कृषिप्रणालीअनुसार उनीहरू साना साना झुन्ड बनाई घुम्दै फिर्दै भारत पसेका थिए भन्ने अनुमान गरिएको छ । भारतका कतिपय विद्वानहरू चाहिँ आर्यहरू भारतकै प्राचीन आदिवासी भएको दाबी गर्दै पश्चिमका विद्वानहरूले भन्ने गरेको आर्यन एन आउटसाइडरको सिद्धान्त अस्वीकार गर्दछ्न् । भारतीय विद्वानहरू सिन्धु घाँटीको सभ्यतासँग वैदिक आर्यहरूको सभ्यता जोडेर हेर्न रुचाउँछन् र आर्यहरूको सभ्यताको मूलाधार वैदिक संस्कृति नै सिन्धुघाँटीको सभ्यताको पनि निरन्तरता हो भन्ने दाबी गर्छन् । सिन्धुघाँटी सभ्यताको पुरातात्तिवक खोज र अध्ययनपछि पनि धेरै प्रश्नहरू अनुत्तरित नै छन् । पुरातात्तिवक खोजबाट प्राप्त भएका वस्तुहरूलाई आफ्ना हिसाबले विश्लेषण गर्न सकिन्छ । खासगरी सिन्धु घाँटीको सभ्यताका सम्बन्धमा अझ प्रस्ट पार्न सकिने एउटा चिज छ, त्यो हो त्यहाँ पाइएको लिपि । अझसम्म पनि त्यस लिपिलाई डिसाइफर गर्न नसकिएको बताइन्छ । आर्यहरूले बोल्ने संस्कृत भाषा भारतीय भूगोलमा आइसकेपछि वा संस्कृत भारतकै आदि भाषा भएकै मानिए पनि विभिन्न भौगोलिक क्षेत्र, स्थानीयता र आञ्चलिकताले गर्दा यसको मूल स्वरूपमा अवश्यै भिन्नता आइसकेको थियो भन्ने कुरा पनि विचारणीय छ ।

आर्यहरूका सम्बन्धमा केही भन्नुपर्दा हामी वेदकै सहारा लिने गर्छौं । यही एउटा आधार हो, जसलाई कोट नगरी आर्यहरूको जातिशास्त्रीय वर्णन गर्न करिबकरिब असम्भव हुन्छ । वेदका अनुसार आर्यहरूले आफूलाई अनार्य, दास, असुर आदिभन्दा छुट्टै जाती मानेको छ । उत्तर वैदिक सभ्यताको विकसित सामाजिक सांस्कृतिक संरचनाको अध्ययनबाट हामी त्यति बेलासम्म आर्यहरूले वर्ण विभाजनको मान्यता र अभ्यास सुरु गरिसकेको पाउँछौँ । खासमा आर्यहरूको यही वर्ण विभाजन नै कालान्तरमा जाति विभाजन र श्रेष्ठता सहितको अहंकारमा परिणत हुन पुगेको देखिन्छ । आर्यहरूले गरेको यही विभाजनले सिंगो दक्षिण एसिया जातको उँचनीच र भेदभावद्वारा हजारौँ वर्षदेखि प्रताडित भएको छ ।

इसापूर्व करिब पाँच हजार वर्षअघि पूर्वी युरोपका विभिन्न भू–भागमा यी आर्य र ककेसियनहरूको ठूल्ठूला जत्था बसोवास गर्थे । त्यो जत्था बिस्तारै टुक्रिन थाल्यो र अन्य भू–भागतर्फ फैलिन थाल्यो । विभिन्न दिशातिर फैलिने क्रममा उनीहरू दुई हजार वर्षअघि मध्यएसिया, रसियाली घाँसे मैदान, अफगानिस्तान हुँदै भारत पसेका थिए । भारतमा पसेपछी उनीहरूले यहाँको सिन्धुघाँटी सभ्यतामाथी विजय पाए र आफ्ना सांस्कृतिक मान्यताहरू यहाँको स्थानीय संस्कृतिमा लाद्न, मिसाउन र अन्तर्घुलित गराउन थाले ।

यी फिरन्ते आर्यहरूमध्ये केही चाहिँ इरानमा बस्न थाले । यी लडाकु फिरन्ताहरू जहाँ जहाँ गए त्यहाँ त्यहाँ एक किसिमको प्राचीन उपनिवेश खडा गरे । उनीहरू आफूलाई आर्य, श्रेष्ठ, कुलीन र सभ्य हौँ भन्ने ठान्थे र वैदिक अनुष्ठानहरू गर्दै हिँड्थे । विद्वानहरू यी इरानी आर्यका पुर्खाहरू दक्षिणी रसियाको घाँसे मैदानबाट आएका हुन् भन्ने ठान्दछन् । यिनै फिरन्ताहरूसँग आफ्ना पूर्वज र देउताहरूका निम्ति अनेकौँ प्रार्थना, अनुरोध, प्रशंसा अनि अनुष्ठानहरूको समृद्ध मौखिक परम्परा थियो । तिनै अनेकौँ प्रार्थना र बिन्तीका हाउभाउहरू नै आर्यहरूले ऋग्वेदमा लिपिबद्ध गरेका हुन् । फारसी धर्मको शास्त्र अवेस्तामा पनि आर्यहरूको अनुष्ठान र विधानहरू संकलित छन् ।

कति आर्यहरू हालको जर्मनीतिर लागे । कति चाहिँ हालको ग्रिस र उत्तरी युरोपतर्फ लागे । आर्यका पुर्खाहरू एउटै भूगोलमा गोलबद्ध थिए भन्ने कुराको अनुमान मूल प्राच्य भारोपेली भाषाको पितृ भाषाको आधारमा केही भन्न सकिन्छ । प्राचीन संस्कृत, ग्रिक र ल्याटिन भाषामा पाइने समानताले हामीलाई आर्यहरूका पूर्वजहरू कुनै समयमा एउटै भूगोलका फिरन्ते थिए भन्ने अनुमान गर्न सहज हुन्छ । आर्यहरू जहाँ जहाँ फैलिएर गए त्यहाँ उनीहरूले सम्पन्न गर्ने संस्कारहरूको समानता हेर्दा पनि हामी आर्यहरूका पूर्वजहरू साझा थिए भन्ने आधार प्राप्त गर्दछौँ । अग्निस्थापना र अग्निको देवत्वकरण गर्नु आर्यहरूको साझा अनुष्ठान थियो भन्न सकिन्छ ।

विभिन्न भौगोलिक एकाइहरूमा फैलिएका आर्यहरूले केही निश्चित साझा मान्यताहरू बोकेका देखिन्छन् । कतिपय प्राकृतिक घटना र ब्रह्माण्डीय वस्तुहरूको देवत्वकरण गरी तिनलाई मिथक र पुराणका रूपमा लिपिबद्ध गर्नु आर्यहरूको विशेषता देखिन्छ । भिन्न भिन्न भूभागमा फैलिएका आर्यहरूले रचेका जगतको सृष्टि, लय, प्रलय र संहारका कथाहरूको पौराणिक संरचना हेर्दा तिनको संरचनात्मक बनोटमा कतिपय समानता पाइन्छ ।

पश्चिमका कतिपय विद्वान्चाहिँ आर्यहरू प्राचीन भारोपेली (प्रोटो इन्डो आर्यन) भाषा बोल्ने कबिलाहरूको एउटा शाखाबाट उत्पत्ति भई पूर्वीयुरोपको घाँसे मैदान हुँदै पूर्वी र पश्चिमी शाखामा बाँडिएका हुन् भन्ने विश्वास गर्दछ्न् । आर्यहरूको पश्चिमी हाँगो युरोपेली भाषा बोल्ने समुदायमा विकसित भए त्यसपछि आर्यहरूको पूर्वेली हाँगो प्राचीन आर्य इरानेली भाषा बोल्ने समूह बन्यो र इसापूर्व करिब दुई हजार वर्ष अघि इरानी हाँगासँग छुट्टिएर भारततिर हानिने आर्येली घुमन्तेहरू नै प्राचीन संस्कृत भाषाको जग हाल्ने समूह हुन् भन्ने मानिएको छ । यही हाइपोथेसिसअनुसार भारत पसेका आर्यहरूले नै सिन्धु घाँटीको सभ्यता नष्ट गरी आफ्नो प्रभुत्व लादेका हुन् भन्ने बुझाइ पनि रहेको छ ।

आर्यहरू गाई, घोडा जस्ता पशुहरूको बथान लिएर अर्ध फिरन्ते जीवन बिताइरहेका मानिसहरूको एउटा समूह थियो । भारतमा पसेपछि मात्र उनीहरूले कृषिको पूर्ण ज्ञान प्राप्त गरे भन्ने ठानिएको छ । भारतका मूल आदिवासीहरूले विकास गरेको भाँडा निर्माण कला, कृषि कर्म, हस्तकला आदि सिकेपछि आर्यहरू झन प्रभुत्वशाली हुँदै गए । आर्य र अनार्यबीच अनेकपटक युद्ध भयो । युद्धले भारतका आदिवासी र आर्यहरूका बीच भारी सांस्कृतिक परिवर्तनहरू भए । यी दुईथरीका बीच कति कुरा अन्तर्घुलित भए ।

आर्यहरू भारतमा प्रवेश गर्दा यहाँ द्रविण जातका मानिसहरू बसोवास गरिरहेका थिए भनेर विद्वानहरूले मानेका छन् । ऋग्वेदमा दूध र अन्य दुग्धजन्य पदार्थहरूको अनेकपटक वर्णन पाइनुले आर्यहरूको जीवनप्रणालीमा गाईवस्तुहरूले ठूलो महत्व राखेका थिए । वेदमा गाई, गोरु र घोडालाई ज्यादै प्रधानता दिइएको छ । विचित्र के छ भने, भारत पसेका आर्यहरूले आफूसँगै वेद लिएर पसे कि भारत पसेको धेरै समयपछि वेद लेख्न थाले भन्ने कुराको निक्र्योल निकाल्न सहज छैन । मानवशास्त्रीहरूका अनुसार इसापूर्व १७०० देखि १२००÷१००० को बीचमा ऋग्वेदका मन्त्रहरू रच्न थालिएका हुन् । इसापूर्व २५०० देखि १८०० को बीचमा सिन्धु घाँटीको सभ्यता विकासको चरम सीमामा पुगेको थियो भनिन्छ । आर्यहरू भारतमा इसापूर्व दुई हजार वर्षको मध्यतिरबाट पसेका हुन् भन्ने ठानिन्छ । यी अनुमानित तिथि मितिहरू निश्चित र भरपर्दा छैनन् किनभने यी अनुमानित समयको कुनै पुरातात्विक आधार छैन र भारतका धेरै विद्वानहरू आर्य जातिलाई भारतकै मूल आदिवासी मान्छन् र वेदको रचना यही आर्यवर्तमा भएको हो भन्छन् ।

आर्यहरूको अनुष्ठानिक रिवाज, याज्ञिक विधान र अन्य संस्कारहरू लिपिबद्ध गरिएको ऋग्वेद मानव सभ्यताकै सम्भवतः पहिलो लिखित काव्य हो । आर्यहरूले विकास गरेको भनेर मानिएको वैदिक सभ्यता पनि कुनै अद्वितीय र अनुपम सभ्यता होइन । सभ्यता पनि समय सापेक्ष नै हुन्छ । न त वेदका ऋचाहरू नै ईश्वर रचित चिज हुन् । वेद र वेदका परिकल्पना, कथा, मिथ, सूत्र अनि मन्त्रहरू पनि मानव रचित कोमल काव्यहरू हुन् । यिनलाई अपौरुषेय भनेर मानिसको गरिमा र महिमाको अवमूल्यन गरिनु हुन्न । आर्यहरू पनि मानव समुदायकै सदस्यहरू हुन्, यिनलाई मात्र कुलीनता र श्रेष्ठताको पगरी गुथाइरहनु आवश्यक छैन ।

प्रतिक्रिया