ब्राह्मणवाद होइन, बाहुनवाद हावी

डा. मिठाराम विश्वकर्मा

जनजाति दलितको मित्र शक्ति होइन, मित्र शक्ति मान्याँै भने हाम्रो भुल हुनेछ । संविधान नै हाम्रो गतिलो हतियार हो, मित्र शक्ति हो, यसलाई हातमा लिएर जागरण अभियान चलाउँदा राम्रो हुनेछ र यो पनि थाहा हुनेछ जनजाति कस्तो मित्र शक्ति भन्ने कुरा पनि । संविधान बोकेर गाउँगाउँमा जाँदा पहिला बाहुनले घोचा लिएर लखेटन आउनेछन कि जनजातिले यो पनि थाहा हुनेछ ।

वर्तमान संविधानलाई असफल गराउन केही तत्व सक्रिय भएको सन्दर्भमा हामीजस्ता मान्छे चुप लागेर बस्नु हुँदैन । नेपालको यो संविधान बनाउन म प्रत्यक्ष रूपमा सहभागी थिएँ । यो सौभाग्य नेपाली कांग्रेसले दिएको थियो । नेपाली कांग्रेसद्वारा समाजवादलाई केन्द्रमा राखेर संविधान बनाउन हर प्रयत्न भएका हुन्, यो हदमा नेपाली कांग्रेस सफल भएको छ । धर्म र राजसंस्थाका विषयमा पनि प्रशस्त कुरा नउठेको होइन, उठेको हो र धार्मिक स्वतन्त्रतालाई स्विकार गरेको हो । जहाँसम्म राजसंस्थाको कुरा छ, यसकारणले सकरात्मक थियो राजाले ११ गते बिहान आपूmले बोल्ने कुराको ड्राफ गरेर दरबारको एक सचिवको हातमा गिरिजाप्रसाद कोइराला बसेको ठाउँ महाराजगञ्जमा पठाए, त्यसलाई काँटछाँट गरेर राजाले बोल्न त्यो प्रतिलिपी पठाइयो र त्यो राजाले इमानदारीपूर्वक जनताका नाममा सन्देश पढेर सुनाए । जनविद्रोहका कारण गाडी चल्ने अवस्था थिएन दरबारका सचिव हिँडेरै महाराजगञ्जमा पुगे हिँडेरै दरबार फर्के ।

नेपाली कांग्रेसको तर्फबाट तीन प्रदेश १ कर्णाली प्रदेश, २ गण्डकी प्रदेश र ३ कोशी प्रदेशमा अडान पछिल्लो समयसम्म राख्यो । यो प्रस्ताव नेपाली कांग्रेसको तर्फबाट मैले नै राखेको थिए । संसद्को बैठक सिद्धिसकेपछि हामी प्रधानमन्त्री कोइरालाकहाँ पुगेका थियौँ र बाहिर चौरमा घेरा लागेर बसेका थियौँ । यसैबेला प्रचण्ड पनि आउनुभयो र उठिउठि भन्नुभयो, गिरिजाबाबु तपार्इंले मलाई पासो लागेर मर भन्न खोज्नुभएको हो ? गिरिजाबाबुले भन्नुभयो के भयो र प्रचण्डजी, प्रचण्डजीले भन्नुभयो, तपार्इंहरूबाट तीन प्रदेशको प्रस्ताव राखेपछि मैले के गर्ने ? गिरिजाबाबुले भन्नुभयो ए ! त्यो त काँग्रेस पार्टीको धारणा हो प्रचण्ड जी, सहमति त हामी बसेर गर्छौं नि । पार्टीको धारणालाई मैले हस्तक्षेप गर्न मिल्दैन । तब प्रचण्डजीले लामो स्वास लिनुभयो । गिरिजाबाबुले भन्नुभयो यत्तिकै लागि खबरै नगरी आउनुभएको हो, बसौ चिया पिएर जानुहोला । उतिबेला नै मलाई लागेको थियो प्रचण्ड सेन्टिमेन्टल र जिम्मेवारीमा नचुक्ने मानिस हुनुहँुदो रहेछ भन्ने कुरा ।

थोरै प्रदेश बनाउँदा शान्ति प्रक्रियामा आएको नेकपा माओवादीलाई समस्या थियो । यो बुझेकै कुरा हो । किनभने नेकपा माओवादी गम्भीर चुनौतीलाई स्वीकार गरेर शान्ति प्रक्रियामा आएको थियोे र उनीहरूको कुरा सुन्न जरुरी पनि थियो । उनीहरूले धेरै ठाउँमा जातीय राज्य बनाउने प्रतिबद्धता पनि गरेका रहेछन्, कांग्रेसले कुनै हालतमा जातीय राज्यको पक्षमा उभिन नसक्ने अन्तिम निर्णय लियो, बरु प्रदेश बढाउन सकिने कुराको विश्वास बाध्य भएर नेकपा माओवादीलाई दिनुपर्ने अवस्था सिर्जना भयो ।

दलितका पक्षमा नेपाली कांग्रेसभन्दा अग्रगतिमा रहेर संविधान ल्याउन नेकपा माओपादीको ठूलो हात छ, ढाँट्नुहुन्न । मेरो तर्फबाट कुरा गर्दा जातीय विभेदको अन्त्यमा सबैको समान भूमिका थियो तर समानुपातिक समावेशीताको प्रमुख एजेन्डा नेकपा माओवादीको थियो, यो श्रेय उनीहरूलाई जान्छ । नेकपा माओवादी पूर्ण समानुपातिकको पक्षमा थियो, कुरा कहाँ ठोक्कियो थाहा छैन, मिश्रित राज्य प्रणालीमा जान उनीहरू पनि बाध्य भए ।

नेकपा माओवादीमा स्पष्ट रूपमा प्रचण्ड र बाबुराम भट्टराईको विचारमा विभिदता थियो, यो छताछुल्ल भइसकेको थियो । प्रचण्डको स्वदेशकै शक्तिसँग मिलेर भए पनि विदेशी हस्तक्षेप रोक्ने र भट्टराईको जे सुकै होस् राजसंस्थाको अन्त्य गर्ने । भट्टराईको हात माथि प¥यो । जननिर्वाचित राष्ट्रपति बनाउने कुरामा पनि भट्टराईको दरो अडान थियो । प्रचण्ड र भट्टराईको कुरा कतै मिलेजस्तो लाग्थ्यो कतै नमिलेको जस्तो देखिन्थ्यो । तर गिरिजाप्रसाद कोइराला, प्रचण्ड र भट्टराईप्रति जनअधिकारका मामलामा शंका गर्ने ठाउँ थिएन । अझ अनमिनलाई छिटो फिर्ता पठाउने गिरिजा बाबुको चाहानालाई प्रचण्डले भरपुर सहयोग गर्नुभएको पनि हो । प्रचण्डको पनि अनमिनलाई छिटै फिर्ता पठाउनुपर्छ भन्ने धारणा नै थियो । प्रचण्डको नियति दुर्भाग्यपूर्ण होला तर उनी गलत मानिस थिएनन्, सेन्टिमेन्टल भने हुन्, किनभने उनले व्यक्त गर्ने कुरामा विदेशी हस्तक्षेप नहोस् भन्ने थियो । म जनअधिकारप्रति उत्तरदायी छु भन्ने गर्वका अभिव्यक्ति पनि बेलाबेलामा उठाउने गर्थे, यो उनको सकरात्मक पक्ष मान्नुपर्छ ।

अब कुरा रह्यो नेकपा एमालेको । उनीहरू अलमलमा परेका थिए । त्यतिबेला उनीहरूको एजेन्डा नै थिएन । जातीय राज्य बनाउने कुरामा नेकपा माओवादी एक कदम पछि हटेपछि यसैलाई अवसरका रूपमा लिएर जातीय राज्यको कुरा उठाउन थाले र ठाउँठाउँमा भाषण गर्दै हिँड्न थाले । त्यो उहाँहरूको बामराजनीति थियो । यी सबै कुरालाई नेपाली कांग्रेसको संविधान मस्यौदा सुझाव समितिले नजिकबाट अध्ययन गरेको थियो । यिनै अध्ययन गरिएका विषयवस्तुको संगालोलाई समेटेर हामीले मस्यौदाको खाका पार्टीलाई दियौँ ।

आश्चर्यलाग्दो कुरा के भयो भने संविधानमा धर्मनिरपेक्ष भन्ने शब्द आयो, सबैको ‘धार्मिक स्वतन्त्र’ भन्ने कुरामा सहमति भएको थियो । यस विषयमा त एक जना मान्छेले नै रिंगाइदिएछन् । अब देश धर्मनिरपेक्ष भयो । मैले यत्रो भूमिका किन बाँधे भने यतिबेला केही दलित र जनजातिले सामाजिक र धार्मिक आन्दोलन गर्नुपर्छ भनेर डिङ्डोरा पिट्दै हिँडेको पाउँछु । के हो ? केका लागि हो सामाजिक र धार्मिक आन्दोलन गर्ने भनेको ? हो समाज विषमता, विभेद आज पनि छ, त्यसलाई त संवैधानिक अधिकार प्रयोग गरेर समाप्त पार्नुपर्छ, अर्को कुनै राज्य व्यवस्था आउने वा ल्याउने अवस्था त छैन ।

संविधानमा शक्ति पृथकीकरणको सिद्धान्त पनि छ, यसको खास उद्देश्य भनेको अहिलेसम्म शक्तिमा नआएका वर्गलाई विषेश अधिकार दिनु हो । यो बुझेका छन् वा बुझेर बुझ पचाएका छन् थाहा छैन । भाषा शास्त्रले पनि सायद यो भन्दा अर्को अर्थ खोज्न सक्दैनन् होला । अधिकार खोज्नेलाई पनि यो भन्दा गतिलो हतियार मिल्दैन होला । यो अधिकार उपयोग गर्न पाउने वर्ग भनेको दलित नै हो । यही वर्ग हो हजारौँ वर्षसम्म सबै कुराबाट उत्पीडनमा पारिएको ।

समानुपातिक समावेशीकरण भनेको दलितका लागि मात्र होइन । सबै वर्ग र समुदायको हो । तर, संविधानको आसयअनुसार काम नगरेर शक्ति, साधन, स्रोत एउटै वर्गमा केन्द्रिकृत छ, यस विषयमा गम्भीर हुन त आवश्यक छ । जहाँ ब्राह्मण नै छैनन् त्यहाँ ब्राह्मणवाद त मैले भन्ने गरेको छैन र ब्राह्मणवादको पगरी दिनेपक्षमा पनि छैन तर बाहुनवाद भने हावी छ । शक्ति पृथकीकरण भएको छैन, राज्यको शक्ति घुमाइफिराइ बाहुनको पोल्टामा गएको छ । अहिलेसम्मको रणनीति पनि आफ्नै पोल्टा रक्षा गर्ने गरेको पाइन्छ । तर यो संविधान दलितमैत्री छ । दलितका लागि मात्रै होइन सबैको हित सोच्ने हो भने पूर्ण समानुपातिक समावेशीकरण हुन जरुरी छ । यो आवाज पनि अब उठ्ला, जातीय विभेदको कुरा गर्दा जति संविधान कठोर रूपमा प्रस्तुत भएको छ, त्यसअनुसार कानुन प्रस्तुत भएको छैन, दण्ड व्यवस्था फितलो बनाइएको छ, महसुस भएको कुरा हो ।

अधिकार आपूmमा केन्द्रित र कानुनी दण्ड व्यवस्था फितलो हुनु बाहुनवादको नांगो रूप हो । केही नांगा बाहुनका कारण असल बाहुन पनि ओझेलमा परेका छन् जसले संविधानवादमा पूर्ण विश्वास राख्दछन् । मेरो आसय कुनै वादलाई लक्षित गर्नुभन्दा संविधानलाई हतियार बनाएर अगाडि बढ्नुपर्छ भन्ने हो । जसजसले जेजे भने पनि म स्पष्ट छु, दलितले मात्र जनविद्रोह गर्न सक्दैनन् । किनभने यो देशमा ८५ प्रतिशतको पानी चल्छ, यदि जनविद्रोहको कुरा उठाउने हो भने यी सबै एक ठाउँमा हुनेछन् ।

जनजाति दलितको मित्र शक्ति होइन, मित्र शक्ति मान्याँै भने हाम्रो भुल हुनेछ । संविधान नै हाम्रो गतिलो हतियार हो, मित्र शक्ति हो, यसलाई हातमा लिएर जागरण अभियान चलाउँदा राम्रो हुनेछ र यो पनि थाहा हुनेछ जनजाति कस्तो मित्र शक्ति भन्ने कुरा पनि । संविधान बोकेर गाउँगाउँमा जाँदा पहिला बाहुनले घोचा लिएर लखेटन आउनेछन् कि जनजातिले यो पनि थाहा हुनेछ ।

नेपालको जनजाति सम्पन्न वर्गमा पर्छ, बन्दव्यापर यिनीहरू कै हातमा थियो, विदेशी पल्टन यिनीहरूकै रोजाइभित्र थियो, विनाभिषा विदेश जाने आउने अधिकार पनि यिनैलाई थियो, अब कुन नाताले दलितको यिनीहरूसँग सांगठनिक एकता हुन्छ ? चर्को जातीय विभेद त यिनीहरूले पनि गर्छन्, गर्दै आएका पनि छन् । यी कुरा मैले विभिन्न सिलसिलामा संवाद र अनुभव गरेका कुराहरू उल्लेख गरेको हुँ । भुसुनादेखि ढाडिएका किर्ना विभिन्न एजेन्टका रूपमा कसरी सलबलाउँदा रहेछन् भन्ने सानो जानकारी पनि मसँग छ । मैले सुनेको छु, गिरिजा बाबुलाई चित्रबहादुर केसीले संघीयता मान्दिनँ भन्दा एउट निर्वाचन क्षेत्रबाट आफँैले मात्र चुनाव जितेर आउने कुरै नगर्नुहोस् भनेर गिरिजाबाबुले भनेको कुरा ।

यस्तै आज हाम्रो सांसदले कस्तो मिठो कुरा बोल्यो भन्दा त्यसका कुरा मसंग नगर्नुहोस् र उसका कुराको लहैलहैमा नलाग्नुहोस् गिरिजाबाबुले भनेको कुरा पनि सुनेको छु । संसदीय दलको बैठकमा अमरेश कुमारलाई अगाडि बोलाए गिरिजाबाबुले म को हुँ भन्ने ठानेका छौ भनेर झ्याको झारेको पनि सुनेको छु र यो अरू सांसदले पनि सुनेका छन् । तराई–मधेसमा भोलि प्रोलोम्याटिक हुन सक्छ यसमा तपाईंहरू सचेत रहनुहोला भनेर गिरिजाबाबुले दिएको निर्देशन पनि सुनेको छु । हाम्रा छतौरे बोल्न सिपालु भएका केटाहरूबाट पनि सजक रहनुपर्छ गिरिजाबाबुले भनेको कुरा पनि सुनेको छु । उनीहरू कांग्रेसका कार्यकर्ता होइनन् बाबुराम भट्टराईका कार्यकर्ता हुन्, यो गिरिजा बाबुले भनेको कुरा हो, यो एक जनालाई भनेको कुरा होइन धेरैलाई भनेको सुनाएको कुरा हो ।
(डा. विश्वकर्माको फेसबुकबाट)

प्रतिक्रिया