मतदाता नामावली संकलन सुरु हुँदै

विराटनगर । मोरङ जिल्लामा फोटोसहित मतदाता नामावली संकलन कार्य सुरु हुने भएको छ । प्रदेश निर्वाचन कार्यालय प्रदेश–१ ले यही १७ मंसिरदेखि मोरङ जिल्लाका स्थानीयतहहरूमा मतदाता नामावली संकलन विशेष कार्यक्रम सुरु गर्न लागेको हो । विराटनगरमा आइतबार कार्यालयले आयोजना गरेको राजनीतिकदल तथा सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रममा १६ वर्ष उमेर पुगिसकेका नेपाली नागरिकलाई मतदाता नामवालीमा सहभागी गराइने जनाइएको छ ।

कार्यालयका अनुसार, पहिलो चरणमा १४ वटा स्थानीयतहमा यो कार्यक्रम सुरु हुने भएको छ । जसअनुसार मंसिर १७ गतेदेखि पुस २ गतेसम्म पथरी शनिश्चरे नगरपालिका, सुनवसी नगरपालिका, सुन्दर हरैचा नगरपालिका, वेलवारी नगरपालिका तथा कटहरी गाउँपालिका, बुढीगंगा गाउँपालिका र मिक्लाजुङ गाउँपालिकामा मतदाता नामावली संकलन कार्य सुरु हुने छ । त्यसपछि पुस ४ देखि पुष १८ गतेसम्म लेटाङ नगरपालिका, रतुवामाई नगरपालिका तथा जहदा गाउँपालिका, ग्रामथान गाउँपालिका, धनपालथान गाउँपालिका, केरावारी गाउँपालिका तथा कानेपोखरी गाउँपालिकामा मतदाता नामावली संकलन कार्य सुरु गरिने निर्वाचन कार्यालयका प्रमुख लेवनकाश्यव अधिकारीले बताए ।

त्यस्तै विराटनगरपालिकासहित अन्य पालिकाहरूले विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालय रंगेली र इलाका प्रशासन कार्यालय उर्लाबारीमा मतदाता नामावली संकलन कार्यको व्यवस्था मिलाइएको कार्यालय प्रमुख अधिकारीले बताए । कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले मतदाता नामावली संकलन कार्य उमेर पुगेका नेपाली नागरिक कोही पनि छुट्न नहुने भन्दै त्यसका लागि राजनीतिक दलको भूमिका महत्वपूर्ण हुने बताए । यो कार्यमा सबैलाई सहभागी गराउन प्रचारप्रसार आवश्यक रहेको उनको भनाइ थियो । मोरङ जिल्लामा ०७७ साल पुस ५ गते सम्मको तथ्यांक हेर्दा मतदाताको संख्या ६ लाख ६९ हजार ४ सय ९० रहेको छ ।

प्रतिक्रिया