के हो प्रकाशमानको चुनाव जित्ने जग ?

विन्दुकान्त घिमिरे

सिंह ०४५ देखि ०५७ सम्म काठमाडौं जिल्ला सभापति थिए । जुन अवधिलाई काठमाडौं कांग्रेसको सबैभन्दा अँधेरो कालखण्डका रूपमा लिने गरिन्छ । त्यो अवधिमा नेपाली कांग्रेसले काठमाडौं जिल्लामा चुनाव जित्ने कुनै हैसियत नै राखेन । जब सिंहको सट्टा अरू नेताहरूले जिल्लाको नेतृत्व संहाले त्यसपछि भने काठमाडौं जिल्लामा कांग्रेस एकाएक बलियो बन्न थाल्यो । सिंह काठमाडौंको जुन निर्वाचन क्षेत्रबाट चुनाव लड्ने गरेका छन् त्यो उनी आफैं मतदाता रहेको निर्वाचन क्षेत्र होइन ।

१४औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसभित्र सभापति पदका आकांक्षीहरूको रस्साकस्सीले राजनीतिक माहौल तात्न थालेको छ । आधा दर्जनभन्दा बढी नेताले सभापति पदमा उम्मेदवार बन्ने घोषणा गरेका छन् । तर, यसपटक अनौठो के देखिएको छ भने, ‘सबै मपाईं भन्नेहरू मात्रै छन्, तपाईं भन्नेहरू कोही पनि देखिएका छैनन् ।’ यही मेसोमा नेता प्रकाशमान सिंहले शनिबार एक सार्वजनिक कार्यक्रममा बोल्दै पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरे । नेता सिंहले कुन जगका आधारमा पार्टी सभापतिको उम्मेदवारी घोषणा गरे ? नेता सिंहले बार्गेनिङका लागि मात्रै उम्मेदवारी घोषणा गर्नुभएको हो कि ? साँच्चै नै मैदानमा उत्रनुहुन्छ ? संस्थापन इतर पक्षबाट एक्लो उम्मेदवार बन्ने संभावना नेता सिंहको छ कि छैन ? नेता सिंहका सवल पक्षहरू के छन् ? दुर्वल पक्षहरू के के छन् ? भन्ने चर्चा परिचर्चाले नेपाली कांग्रेस भित्रको माहौल तातिरहेको छ ।

गत शनिबार काडमाडौं महानगरपालिका–१७ का नवनिर्वाचित कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिलाई प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै नेता सिंहले सभापति देउवामाथि ठूलो कटाक्ष गरे । सभापति देउवा नेपाली कांग्रेसको नेतृत्वका मामिलामा पूरै असफल भइसकेको दावी गर्दै नेता सिंहले फेरी पनि देउवा सभापति बने नेपाली कांग्रेस प्रजापरिषद् बन्ने उद्घोष गरे । नेपाली कांग्रेसलाई जीवन्तता दिन आफूले घनिभूत रूपमा प्रयास गरे पनि सफल हुन नसकेको उल्लेख गर्दै नेता सिंहले भने, ‘पार्टीलाई सवल बनाउनका लागि सभापति नै बन्नुपर्ने रहेछ, अन्य पदमा बसेर सकिँदो रहेनछ, त्यसैले मैले आसन्न १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवार हुने निर्णय गरेको छु ।’ ०४५ देखि ०५७ सम्म काठमाडौं जिल्लाको सभापति, ०५७ देखि ०६२ सम्म केन्द्रीय सदस्य, ०६२ देखि ०६३ सम्म महामन्त्री, ०६३ देखि ०६७ सम्म उपसभापति भएका सिंह ०६७ सालमा सम्पन्न १२औँ महाधिवेशनबाट पुनः महामन्त्री भएका थिए । यतिबेला सिंहको निष्कर्ष छ, ‘सेकेन्ड म्यान बनेर केही गर्न नसकिने रहेछ, फस्ट म्यान नै बन्नुपर्ने रहेछ ।’

नेता सिंहले कुन जगमा टेकेर सभापति पदको उम्मेदवारी घोषणा गरेका हुन् ? भन्ने प्रश्न भने अझै अनुत्तरित छ । नेपाली कांग्रेसमा स्पष्ट रूपमा दुई वटा पक्ष छन् । जसमध्ये हालको संस्थापन पक्षको नेतृत्व सभापति शेरबहादुर देउवाले गरेका छन् । इतरपक्षको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका छन् । नेता सिंह इतर पक्षमा हुन्, तर इतर पक्षले सभापतिका रूपमा कसलाई अघि सार्ने ? भन्ने टुंगो गरिसकेको छैन । वरिष्ठ नेता पौडेल स्वयं आफैं उम्मेदवार बन्न घनिभूत प्रयासमा छन् । इतर पक्षकै अर्का नेता डा. शेखर कोइराला सभापतिको उम्मेदवारी घोषणा गरी प्रचारप्रसारमा जुटेको दुई वर्ष भइसकेको छ । महामन्त्री डा.शशांक कोइरालाले पनि आफू सभापति पदमा उम्मेदवार हुने बताइरहेका छन् ।

जबसम्म इतर पक्षले एक ढिक्का भएर सभापति पदमा एक जना मात्रै उम्मेदवार अघि सार्दैन तबसम्म चुनाव जित्ने गुन्जायस रहँदैन । तर, सिंहलाई कोइराला परिवारले साथ दिने संभावना अहिलेसम्म देखिएको छैन । चुनाव हार्ने अवस्थामा समेत उम्मेदवार हुन डा.शेखर कोइराला तयार भइसकेको अवस्था छ । वरिष्ठ नेता पौडेल भने कमजोर अवस्थामा उम्मेदवार नबन्ने आँकलन गरिएको छ । आफू उम्मेदवार नबनेको अवस्थामा वरिष्ठ नेता पौडेलले इतर पक्षका अर्का आकांक्षी शेखर कोइरालालाई साथ दिने संभावना छैन । गत १३औँ महाधिवेशन र त्यस यताका भ्रातृ संस्थाको अधिवेशनमा डा. शेखर कोइरालाको सहयोग नपाएको चोट वरिष्ठ नेता पौडेललाई छ । वरिष्ठ नेता पौडेलको साथ पाएको अवस्थामा भने प्रकाशमान सिंहको उम्मेदवारी देउवा र विमलेन्द्र निधिका लागि निकै चुनौतीपूर्ण हुने देखिन्छ ।

अहिलेसम्मको इतिहास हेर्दा नेपाली कांग्रेसको सभापति पदको गरिमा प्रधानमन्त्री पदभन्दा निकै माथि छ । नेपाली कांग्रेसका कुनै पनि सभापति छैनन्, जो प्रधानमन्त्री नबनेका होउन् । प्रधानमन्त्री बन्न भन्दा पार्टी सभापति बन्न नेपाली कांग्रेसका नेताहरूले प्राथमिकता दिने गरेका छन् । धेरै नै गरिमामय र शक्तिशाली पद भएकोले नेपाली कांग्रेसको सभापति बन्नका लागि निकै ठूलो राजनीतिक दाउपेच हुने गरेको छ । अहिलेसम्मको इतिहास हेर्दा महाधिवेशन प्रतिनिधिहरूले पनि निकै ठूलो सुझबुझका साथ नेतृत्व चयन गर्ने गरेका छन् । नेपाली कांग्रेसमा आधाभन्दा बढी यस्ता महाधिवेशन प्रतिनिधिहरू निर्वाचित भएर आउँछन्, जसको राजनीतिक योगदान, हैसियत तथा संघर्ष सभापति पदमा उम्मेदवार बन्नेहरू भन्दा कम हुँदैन ।

प्रकाशमान सिंहको सक्रीय राजनीति ०४५ साल देखिको हो । सिंहभन्दा पुराना र बढी योगदान दिएका राजनीतिकर्मीहरूको संख्या नेपाली कांग्रेसमा हजारौँ छ । आफू फस्ट म्यान बन्न नसकेकोले पार्टीमा चाहे जति परिवर्तन ल्याउन नसकेको सिंहको दावीलाई महाधिवेशन प्रतिनिधिहरूले विश्लेषण गर्न नसक्ने प्रश्नै छैन । सिंह ०४५ देखि ०५७ सम्म काठमाडौं जिल्ला सभापति थिए । जुन अवधिलाई काठमाडौं कांग्रेसको सबैभन्दा अँधेरो कालखण्डका रूपमा लिने गरिन्छ । त्यो अवधिमा नेपाली कांग्रेसले काठमाडौं जिल्लामा चुनाव जित्ने कुनै हैसियत नै राखेन । जब सिंहको सट्टा अरू नेताहरूले जिल्लाको नेतृत्व संहाले त्यसपछि भने काठमाडौं जिल्लामा कांग्रेस एकाएक बलियो बन्न थाल्यो । सिंह काठमाडौंको जुन निर्वाचन क्षेत्रबाट चुनाव लड्ने गरेका छन् त्यो उनी आपैmँ मतदाता रहेको निर्वाचन क्षेत्र होइन । सिंहको घर रहेको तथा उनी मतदाता रहेको काठमाडौं क्षेत्र नं ७ हो । जहाँ नेपाली कांग्रेसले सधँै भारी मतका साथ चुनाव हार्दै आएको छ । कुनै कुनै निर्वाचनमा त नेपाली कांग्रेस तेस्रो हुने गरेको छ । आफ्नो घर तथा मतदाता रहेको निर्वाचन क्षेत्र यति कमजोर भएका कांग्रेसका नेताहरू अरू छैनन् । सिधा अर्थमा भन्नुपर्दा देशका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेस सबैभन्दा कमजोर रहेको निर्वाचन क्षेत्र भनेको काठमाडौं–७ नै हो । जहाँ प्रकाशमान सिंहको घर छ, उनी र उनका परिवार मतदाता छन् ।

यसैगरी स्थानीय तह संरचना तथा वडाहरूको सिमांकनका क्रममा सबैभन्दा ज्यादती भएको र अत्यन्त निकृष्ठ तथा अवैज्ञानिक विधि अवलम्वन गरिएको काठमाडौं महानगरपालिकामा हो । जुन बेला सिंह स्थानीय विकास मन्त्रालयको नेतृत्वसहित उपप्रधानमन्त्री पदमा थिए, त्यो बेला काठमाडौं महानगरपालिकाका वडाहरूको पुनसंरचना गरिएको थियो । वडाहरूको पुनसंरचनाका क्रममा स्थानीय विकास मन्त्रीको हैसियतले सिंहले यति नाजायज हस्तक्षेप गरेकी त्यसको पीडा काठमाडौं महानगरपालिकाका केही वडाका जनताले कहिलेसम्म बेहोर्नुपर्ने हो कुनै टुंगो छैन ।

काठमाडौं महानगरपालिकाका वडाहरूको यसरी संरचना गरिएको छ कि कुनै समुदायको बाहुल्यता भएको ठाउँमा एक वर्ग किलोमिटर क्षेत्रमा पाँच हजार जनसंख्या बराबर एउटा वडा हुने गरी १० वटा वडा बनाइएको छ । तर कुनै समुदायको बाहुल्यता भएको ठाउँमा २ वर्ग किलोमिटर क्षेत्रमा ६५ हजार जनसंख्या बराबर एउटा वडा बनाइएको छ । उदाहरणका लागि असन इन्द्रचोक, वसन्तपुर लगायतका टोलहरूको क्षेत्रफल करिव एक वर्गकिलोमिटर छ । जहाँको कुल जनसंख्या २०६८ को जनगणना अनुसार ५० हजारको हाराहारीमा छ, तर त्यो क्षेत्रमा १० वटा वडा छन् । काठमाडौंको वडा नं १६ को क्षेत्रफल करिव दुई वर्ग किलोमिटर छ । जहाँको जनसंख्या २०६८ को जनगणना अनसार ६५ हजार छ । १६ नं वडा मात्रै होइन गैर नेवारको बाहुल्यता भएका प्रायः सबै वडाको हालत यस्तै छ । मौका पाउँदा यतिसम्म ज्यादती गर्ने नेता कांग्रेसको सभापति तथा प्रधानमन्त्री बनेको अवस्थामा मुलुकको हालत के होला ? भन्ने प्रश्न कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले नउठाउने संभावना नै छैन ।

यसैगरी सिंहका सामुन्ने अर्को पेचिलो प्रश्न पनि छ । भर्खरै सम्पन्न आमनिर्वाचनमा कांग्रेस पार्टीले चौथोपटक प्रधानमन्त्री भएका देउवाको नेतृत्वमा चुनाव लड्यो । विपक्षी वाम गठबन्धनले झन्डै दुईतिहाइ सिट जित्यो । देउवाले नेतृत्व छोड्नुपर्ने आवाज उठ्यो । तर, संसदीय दलको चुनावमा उनी दुई तिहाइभन्दा धेरै मतले निर्वाचित भए । देउवा विरुद्ध खडा भएका सिंहले जम्मा १९ भोट ल्याए । देउवाले ४४ भोट ल्याए । संस्थापन इतरका २४ मध्ये ५ सांसदले सिंहलाई भोट दिएनन् । संस्थापन इतर पक्षबाट एक जना मात्रै उम्मेदवार बने पनि त्यो पक्षको सबै भोट प्रकाशमानले पाउँदैनन् भन्ने कुरा त संसदीयदलको निर्वाचन परिणामले पुष्टि गरिसकेकै छ ।

प्रतिक्रिया