‘प्रधानन्यायाधीश र न्यायाधीशलाई मानपदवी नदिइयोस्’

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनले प्रधानन्यायाधीश र न्यायाधीशलाई मानपदवी नदिन सरकारलाई आग्रह गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै एशोसिएसनले न्यायपालिकालाई प्रभावित पार्नेगरी न्यायाधीशलाई मानपदवी दिँदा न्यायिक स्वतन्त्रमा आँच आउने भन्दै यसमा रोक लगाउन सरकारसमक्ष आग्रह गरेको छ ।

संविधान दिवसको अवसरमा सरकारले प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई मानपदवी दिएको विषयमा चर्को आलोचना भइरहेका बेला सर्वोच्च बारले विज्ञप्ति नै निकालेर असन्तुष्टि जनाउन बाध्य भएको छ ।

विज्ञप्तिमार्फत् न्यायाधीशलाई न्याय सम्पादन गर्दा कुनै पदक र पुरस्कारको अनुचित प्रभाव पार्ने वातावरण सिर्जना गर्न नहुनेमा अडिग रहेको पनि बारले स्पष्ट पारेको छ ।

बारका सचिव ऋषिराम घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बहालवाला न्यायाधीशहरुले सरकारको कुनै निकाय वा संस्थाबाट मानपदवी ग्रहण गर्दा हुने विभिन्न किसिमका टिकाटिप्पणी हुने र उसले सम्पादन गर्ने न्यायमा प्रभाव पर्न सक्ने, न्यायिक स्वतन्त्रताको मूल्य मान्यतामा आँच आउन सक्ने हुँदा त्यस प्रकारका मानपदवीहरु न्यायाधीशले ग्रहण गने वा नगर्ने भन्ने विषयमा गम्भीर हुनुपर्ने देखिन्छ ।’

प्रतिक्रिया