जलभावमा प्रवाहित लोक

एससी सुमन

नेपाली परम्परागत चित्रकलाको एक विधा नेवारी समुदायले बनाउने पौभा कला हो । झट्ट हेर्दा थाङ्काजस्तै देखिए पनि यसको बनाउने शैली र मर्म फरक हुन्छ । पौभाकलाले देवीदेवताका कथा मात्र होइन आममानिसको जीवनशैलीको कथालाई समेट्छ तर थाङ्काले धार्मिक र सांस्कृतिक संस्कारलाई विशेष प्राथमिकता दिन्छ । नेपालमा बुद्धकालीन समयदेखि नै पौभाकला सिर्जनाको थालनी भएको शास्त्रीय मान्यता रहे पनि विदेशी लेख र अन्य प्रमाणका आधारमा १२/१३औं शताब्दीपछि बनेका पौभाकलाको ऐतिहासिक दस्तावेज पाइन्छ । परम्परागत पौभाकला धर्म, संस्कृति र जीवनपद्धति जीवन्त राख्ने साधनमध्ये एक हो भन्ने लोकमान्यता छ । एक त त्यसै पनि काठमाडौंमा कलासम्बन्धी गतिविधि सुस्त छ । त्यसमाथि कोरोनाले थलिएको समय, लामो समयसम्म कोरोनाको डरकै कारणले घरैमा थुनिएर बस्नुपरेको अवस्था । महामारीले ठप्पै पारिदिएको जीवनचक्रबीच आवश्यक सुरक्षा परिधिभित्र ठमेलस्थित म्युजियम अफ नेपाली आर्ट (मोना) मा क्युरेटर उर्गेन नोर्बु गुरुङको संयोजनमा ‘पञ्चतत्व’ थिममा जलत्व’ मा केन्द्रित लोक चित्रकारको चित्र प्रदर्शनी चलेको थियो ।

आकाश, वायु, अग्नि, जल तथा पृथ्वीलाई पञ्चतत्व मानिएको छ । यो ब्रम्हाण्डमा एक निर्विकार सत्यनित्य एवं आकाररहित परमात्मा छ, जसबाट आकाशको उत्पत्ति भयो । आकाशबाट वायु, वायुबाट तेज (अग्नि), तेजबाट जल र जलबाट पृथ्वीको उत्पत्ति भयो । यसप्रकार यी पाँच तत्व नै विभिन्न पाँच प्रकारले यस संसारमा फैलिएका छन् । उक्त पञ्चतत्वद्वारा नै यस संसारको निर्माण भएको छ । यसबाट नै यस संसारको पालना हुन्छ र उनै पञ्चतत्वमा नै यो संसार विलय पनि हुन्छ ।

जलतत्व भावमा प्रदर्शित विभिन्न चित्र सँगसँगै यतिबेला चित्रकारको ‘महारक्त गणपति’ शीर्षकको पौभाकला जोकोहीलाई आकर्षित गर्छ । जीवनको लागि सर्वप्रथम जलको आवश्यकता हुन्छ । जलतत्वको प्रधानताले जीवनमा सुख–समृद्धि–वैभव सतत वृद्धि हुने गर्छ । जलतत्वको कमीको कारण विभिन्न क्षेत्रमा बिघ्नबाधा, कष्टको संक्रमण हुने गर्छ । प्रथम पूज्य विघ्ननाशक गणेश जलको आराध्यदेव हुन । वायु साक्षात् विष्णु देवतासँग सम्बन्धित तत्व हो । शंकर पृथ्वीतत्व, देवी अग्नितत्व तथा सूर्य आकाशतत्वको देवता मानिन्छन् । यसरी यो पाँच देवताको पूजन गरी हामी आफूले आफैलाई पूजा गर्र्छाै । गणेश स्तुतिले कष्ट निवारण सम्भव हुन्छ । वेद, पुराण, स्मृति, उपनिषद एवं संहिता ग्रन्थमा यसका अनेक प्रमाण उपलब्ध छन् ।

शीर्षक अनुरूप रातो रङको गणेशको चित्र लेखन चित्रकारले लामो अवधि व्यतित भएको बताउँछन् । महारक्त गणपति बौद्ध दर्शनमा बुद्धत्व लाभको सहयोगीको रूपमा लिइन्छ । जबसम्म बुद्धत्व लाभ हुँदैन रक्त गणपतिको सहयोग निरन्तर रहिरहन्छ । मलाई ‘महारक्त गणपति चित्र बनाएको ठ्याक्कै यति वर्ष भनेर याद थिएन । मैले समय नै बिर्सिसकेको थिएँ,’ चित्रकारले भने । पहिलो लकडाउनमा उनले चित्रलाई पूरा गर्ने प्रयत्न गरेको थिएँ । औँलामा हिसाब गरी १६औँ वर्षमा प्रदर्शनीका लागि तयार गरिएको उनले सुनाए ।


काठमाडौंको इतुम्बहाल (ताहाननी) मा सन् १९६१ मा जन्मिएका लोक चित्रकार नेपाली परम्परागत पौभा चित्रकलाका सीमित कलाकारमध्येका एक हुन् । स्वअध्ययनबाट यस कलामा पारंगत भएका उनी आफ्नो कलाबाट विश्वभर परिचित छन् । लोक चित्रकारले सानैदेखि सेतो मच्छिन्द्रनाथ, वरपरका अनेक देवीदेवताका परम्परा अनि सांस्कृतिक गतिविधि देख्दै आए । धार्मिक पर्व र वास्तुकलाको सहर पाटनमा हुर्किएका चित्रकारले स्थानीय मन्दिरका चित्रलाई घण्टौं नियाल्ने गर्थे । यही क्रममा उनले १२ वर्षको कलिलो उमेरमा आफ्नो पहिलो चित्रकला पूरा गरेका थिए । उनलाई स्कुले पढाइ त्यति रोचक लागेन । केही समयपछि आफ्नो विद्यालयको अध्ययन छोडिदिए शास्त्रीय पाठ तथा चित्रको स्वनिर्देशित कठिन अध्ययनलाई निरन्तरता दिन अग्रसर भए । ‘जिज्ञासु मन चित्र उतार्नुबाहेक धार्मिक गतिविधि हुने स्थानको अवलोकन गर्नु, आधारको खोजी, पुस्तकको अध्ययन तथा संकलन गर्थें, चित्र नियाल्थेँ, बुझ्ने कोशिस गर्थें । आफैंमा रमाई अञ्जानमै मैले आफ्नो निम्ति बाटो समात्दै गएँ,’ उनले भने ।

एक प्राचीन अभ्यासलाई संरक्षित गर्दै, प्राकृतिक स्रोत पत्थर र बनस्पतिबाट प्राप्त रङको प्रयोग र कुशलतापूर्वक प्राचीन परम्परासहित आफ्ना चित्रकला तयार गर्ने गरेका छन् । खनिज तथा बनस्पतिका प्राकृतिक रङको प्रयोग, लामो समयको अनुभव तथा साधना पौभाकलाका विशेषता हुन् । आफूलाई चाहिने प्राकृतिक रङ चित्रकार आफैं तयार गर्छन् । कतिपय रङ खानीमा पाइने रंगीविरंगी ढुंगा फुटाएर तयार पारिन्छ । रातोमा सिम्रिक, त्यसैगरी ‘इन्डिगो’ जस्ता प्राचीनकालदेखि चल्दै आएका रङ प्रयोग गर्छन् । नीलोको आवश्यकता नीर घोलेर पूरा हुन्छ ।

मुसुक्क मुस्कुराउँदै भने, ‘आज पनि केटाकेटी बेलामा आँखा बलियो होस् भनी आमाले लगाइदिने गाजल सम्झन्छु । एकदिन के मुडमा हो ? गाजललाई कालो रङको रूपमा प्रयोग गर्न सकिन्छ भनी बाइन्डरको रूपमा प्रयोग हुने ‘सरेश’ मा घोलेर हेर्दा, अति नै राम्रो रङ तयार हुने र मसिनो रेखा खिच्न सकिने हुँदा, त्यसै विधिबाट कालो रङ तयार पार्छु । उनी भन्छन्, ‘काठमाडौंकै पुराना किराना पसलमा पाइने विभिन्न प्रकारको जडिबुटी जलाएर तयार पारिने त्यो कालो रङ, चित्रमा प्रयोग गर्न अत्यन्तै गुणस्तरीय हुन्छ । यो हाम्रो मौलिक उपलब्धि भयो ।’


यो प्रतीकवाद ज्ञान सिकाउने भाषा हो । यसमा चित्र बनाउने शिल्प, शास्त्रीय ज्ञान चाहिन्छ । कलाकारका लागि कला नै साधना हो । काम गर्नेक्रममा कुन शैली, के कहाँ राख्ने भन्ने कुरा समयअनुसार आउँदै जान्छन् । शिरमा मुकुट, घाँटीमा कण्ठी, हरियो सर्पको माला, १२ हातमा आयुध, तरवार, धनुष, वाण धारण गरेका महारक्त गणपति विभिन्न प्रकारका आभूषणबाट सुसज्जित पछ्यौरा लगायतमा आलंकारिक लाइन बेसमा परम्परागत शिल्पबाट तयार गरिएको प्रस्तुत रक्तगणेशको चित्रमा अझै पनि केही वर्ष लगाएर काम गर्न सकिन्छ । परम्परागत कलामा स्थान, रङ, रेखा, बुट्टा परिवर्तन गर्दा धार्मिक तथा शास्त्रीय अनुशासनमा रहनुपर्ने अनिवार्यता हुन्छ । कलाकारको शिल्प र सिर्जना कहिल्यै सकिँदैन ।

कलायात्रामा आज चर्चा समयको छ । एउटै कलाका लागि यति समय किन ? भन्ने प्रश्नमा पटकपटक सोधिन्छ । ‘चित्र बनाउँदा यतिमा बेच्छु र यति वर्ष लगाउँछु भन्ने मेरो कुनै योजना छैन । मेरो कर्म भनेको चित्र बनाउनु हो । काम गर्दै जाँदा कहिले सकिन्छ भन्ने नै हुँदैन । चित्रकारले चित्र छोडेको हुन्छ ।’ यतिधेरै समय खर्च गरिएको चित्रकारको यो पहिलो कला भने होइन । यसरी पञ्चतत्वमा अर्को १२ वर्ष समय लगाएर तयार गरिएको वसुन्धराको चित्र पनि मोनामा प्रदर्शनमा राखिएको छ । जुन चित्रलाई केही समयअघि अस्ट्रियाको भियना वेल्ट म्युजियममा प्रदर्शनीमा राखिएको थियो । उनको ग्यालरीमा कैयौँ वर्षदेखि सुरु गरिएका चित्रहरू छन् । कतिपय चित्र चित्त नबुझेपछि उनले त्यतिकै छोडेका छन् भने कतिपय चित्र दिनदिनै सिंगारिँदै छ ।

‘आराध्यदेव र देवताको फर्ममा बुझ्नलाई चित्रका माध्यममा सजिलो हुन्छ । यसले बौद्ध र हिन्दू धर्म, दर्शन तथा शास्त्रका शाश्वत पक्षलाई चित्रमार्फत प्रस्तुत गरिन्छ । पौभाकला हाम्रो मौलिक जीवनसँग जोडिएको छ । पौभामा कलाकारको स्वतन्त्र अभिव्यक्तिभन्दा शास्त्रीय नियम र विषयवस्तुमा हिँड्न जरुरी छ । परम्परागत कलामा पुर्खाको सभ्यता, समाजको संरचना तथा मानवशास्त्रसँग जोडिएकाले धरोहरका रूपमा जगेर्ना गरेर आफ्नो गच्छेअनुसार थप्दै नयाँपुस्तालाई हस्तान्तरण गर्दै जानुपर्ने हो । नयाँपुस्ताको सिक्ने चाहनाले मलाई थप ऊर्जा प्राप्त हुन्छ,’ चित्रकार भन्छन् ।

शास्त्रीयताको सवालमा कलाकार थप्छन्, ‘पौभाकलालाई हामीले हाम्रा मौलिककला विधाका रूपमा उल्लेख गर्दै आएका छौँ । तर, कतिपयले यो तिब्बततिरबाट आएको पनि भन्छन् । तिब्बतमा लामो समयसम्म नेवार कलाको एउटै शैलीले प्रभुत्व जमाएको थियो । जो पछिल्लो समयमा विकसित नेपाली कलामा पनि प्रवेश भयो । त्यसकारण त्यसलाई ‘अर्धसत्य’ बुझ्नु पर्ने हुन्छ । पश्चिमा लेखकले कलाको कुरा गर्नुप¥यो कि हामीलाई भारत वा तिब्बतसँग लगेर जोडिदिन्छन्,’ उनले असन्तुष्टि जनाए । यो त्यसैको परिणाम हो । हाम्रो आधारशिला बन्न नपाएकाले पनि यस्तो अवस्था सिर्जना भएको उनको भनाइ छ । ‘यी सब देख्दा दुःख लाग्छ,’ उनी भन्छन्, ‘तर, के गर्ने ? उपाय पनि छैन । कमी हामीमा नै छ ।’
हाम्रो लामो इतिहास र परम्परा गौण बनाउने काम सबैतिरबाट भइरहे पनि, नेपालीले नेपाली कलाको इतिहासबारे लेखेका छैनौँ । अहिले हामीसँग जेजति दस्तावेज छन्, पुरानो नेवार भाषा संस्कृतिमा छ । लिपि पनि पुराना छन् ।

काठमाडौंका पुराना दरबार अनि मठमन्दिर भएर गुज्रँदा जुन आकृति र रङले हामीलाई भिजाइरहेका हुन्छन्, हाम्रो पहिचानसँगै जोडिएको त्यही कलामार्फत् संसारलाई चिनाउँदै आइरहेका छौँ । त्यो सबै खोजेर हेर्ने र खोजी गर्नेतिर कसैको ध्यान आकृष्ट हुन सकेको छैन । इतिहास, दर्शनशास्त्रको समीक्षा र अध्ययन तथा अनुसन्धानका लागि कलाको अत्यन्तै महत्व हुने गर्छ । चित्रकलाको विश्लेषण, व्यावसायिक अवस्था, त्यसको भविष्य, देश विकासको योगदान र अन्तर्राष्ट्रिय प्रचारका क्षेत्रमा अध्ययन गरिनुपर्ने बेला आएको छ । पौभा कलाले अलौकिक संसारमा कल्पना गरिने भगवान्को आकृति पस्कन्छ । जसमा भगवान्का विभिन्न स्वरूप कोरिन्छन् । यो कलामा ऐतिहासिक विषयवस्तु जीवन्त प्रस्तुत गरिन्छ । यसमा दर्शनशास्त्र लुकेको हुन्छ । त्यसैले अध्यात्ममा रुचि भएका मानिसलाई थप बोध गराउन भूमिका खेल्छ पौभाकलाले ।


उनी आर्ट प्रदर्शनको क्रममा जापान, अमेरिका, थाइल्यान्ड, सिंगापुर, जर्मनी, फ्रान्स लगायतका देश घुमिसकेका छन् । ‘धैर्यताविना कलामा टिक्न सकिन्न, कलामा पैसा मात्रै होइन यसले समाजमा अलग पहिचान र प्रतिष्ठा दिन्छ । मेरो धैर्यताकै कारण पौभाकलाले मलाई माया गरेको हो । ‘यो जीवन्त कला हो यसरी बाह्य समाजको अत्यधिक चासो ओगट्ने हाम्रै माटोमा उभिएका परम्परागत चित्रकलाबारे हामी भने थोरै मात्र चर्चा गर्छौं ।’

प्रतिक्रिया