एमाले नेता महेश बस्नेत र संग्रौलाबीच विवादको अन्तर्य

डा.बद्रीविशाल पोखरेल

साइबर सेना संग्रौलाजस्ता केही फतौरे र बतौरे वा फेक, मेड र पेड लेख, रचना, टिप्पणी गर्नका पनि किमार्थ होइन । यो सेना सत्य, तथ्य र वास्तविकता विपरित मुख र कलम चलाउनेहरूलाई सत्यतथ्यमा आधारित भएर आवश्यक परे तिनको जिब्रै थुत्ने गरी प्रतिवाद गर्ने सेना हो ।

एमाले नेता महेश बस्नेत र खगेन्द्र संग्रौलाका बीचको विवाद सतहमा आएको छ । संग्रौलाले साइबर सेनामार्फत आफ्नो ज्यानै हरण गर्ने सम्मको कारबाही गर्न बस्नेत उद्यत रहेको आशंका गरेका छन् । यसमा पार्टी अध्यक्ष केपी ओलीकै निर्देशन रहेको पनि उनले भन्न भ्याएका छन् । यस विषयलगायत संग्रौलासित सम्बन्धित गुह्यकुरा सतहमा ल्याउन अत्यन्त जरुरी रहेकाले यो लेखोट लेखिएको छ । प्रगतिशील साहित्यकारसहित अनेक विशेषण ग्रहण गरेका संग्रौला गाली शिरोमणि भनेर पनि चिनिन्छन् । भारतीय शाषकले अत्यन्त अमानवीय नाकाबन्दी गरेर नेपाल र नेपालीलाई मर्माहत पार्दा संग्रौला नाकाबन्दीका कट्टर समर्थक रहेका थिए । उनी रक्सौलपारि गएर नाकाबन्दीका घरघोर पक्षधर भएर नेपालतिर ढुंगामुढा बर्साउन र यस कामलाई उत्साहित गर्न न्वारानदेखिको बल लगाउँदै थिए । यसरी देश, जनता र जनजीविकाका विरुद्ध कन्दनी कसेर लागेका संग्रौलालाई अझै प्रसिद्ध प्रगतिशील लेखक, विश्लेषक, चिन्तक, नागरिक अभियन्ता तथा साहित्यकार भन्नेहरू पाउनु उनै संग्रौलाका लागि अहोभाग्यको हो ।

एक समय उनले साहित्यिक तथा लेखकीय क्षेत्रमा सिर्जनामा गरेको र अझै पनि हुति, मति र गति सपारेर राम्रै काम गरे यो लेखक पनि उनलाई सलाम गर्छ तर अब संग्रौला आफूलाई चर्चित र भाइरल बनाउन अनेक झुट र फरेबी कुरा गर्न थालेपछि उनमा सिर्जनात्मकता थलै परेको अनुभूति हुन थालेको छ । एमालेका प्रभावशाली युवा नेता बस्नेतले साइबर सेनाको चर्चा मात्र गरेका होइनन् यसलाई युवा संघमार्फत् संस्थागत नै गरेका ह्ुन् । तर यो सेना संग्रौलाले कलमलाई कलमका रूपमा प्रयोग नगरी उल्टो झट्टी, लठ्ठी र कठबाँसको लौरो जसरी प्रयोग गर्नका लागि होइन । साइवर सेना संग्रौलाजस्ता केही फतौरे र बतौरे वा फेक, मेड र पेड लेख, रचना, टिप्पणी गर्नका पनि किमार्थ होइन । यो सेना सत्य, तथ्य र वास्तविकता विपरित मुख र कलम चलाउनेहरूलाई सत्य तथ्यमा आधारित भएर आवश्यक परे तिनको जिब्रै थुत्ने गरी प्रतिवाद गर्ने सेना हो ।

संग्रौलाजस्ता कथित केही विश्लेषक, लेखक र मानवअधिकार अभियन्ता नामका मान्छेहरू ०७६ सालमा चुच्चे नक्सा नेपालको नक्सामा समाहित नभएको र ०७७ सालमा समावेश भए पछिको अवस्थालाई एउटै डालामा हालेर तथानाम गरिरहन्छन् । अनि सरकारले राष्ट्रपतिमार्फत् प्रदान गरिएका चुच्चे नक्साविना र चुच्चे नक्सासहितका पदक प्रदान गरेको विषयलाई जवर्जस्ती जथाभावी अनर्गल विचार व्यक्त गरिरहेको देखेपछि तिनको मतिभ्रष्ट भएको यस लेखकले उहिल्यै ठहर गरेको थियो । यति मात्र हो र तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यालयको पाठ्यप्ुस्तकमा चुच्चे नक्सा सहितको नेपालको नक्सा समावेश गर्दा किताबमा भरमार गल्तीसहित आफ्नो महाभारतजस्तो मन्तव्यसहित अत्यन्त विवादित किताब बजारमा ल्याउन खोजे । यस्तो काम हतारहतार गरेर प्रधानमन्त्री ओलीलाई विवादको चक्रव्यूहमा पार्न मन्त्री पोखरेलले खोजे । पोखरेलले आजीवन शिक्षा मन्त्री प्रदान गर्ने आफ्ना अत्यन्त परमप्रिय, प्राणप्रिय र परमदेव नेता नारायणकाजी श्रेष्ठका षड्यन्त्रपूर्वक योजनाअनुसार उक्त विषय ल्याएको डा. सुरेन्द्र केसीले नै पनि पहिल्यै उल्लेख गरेका थिए । तर, यसैमा सैसला खेलेर कथित विश्लेषक लेखक र नेता मन्त्री पोखरेलको षड्यन्त्रलाई ढाकछोप गर्दै ओली सरकारको एकोहारो खेदो खनिरहेका थिए र छन् । यसमा भरत दाहाल, लीलामणि पोखरेल, श्याम श्रेष्ठलगायत एक हुल मान्छेहरू टुपी कसेर लागिरहेको देख्दा दया लागेर आउँछ ।

जात, भात, नाक, नश्ल, थर, गोत्र र भूगोलका आधारमा अहोरात्र नेपाललाई दीर्घकालमा विखण्डनको बिउ रोप्दै र हुर्काउँदै लागि पर्ने संग्रौला ओलीदेखि यतिविधि किन रिसाएका होलान् ? उपर्युक्त खालका सबै विखण्डनकारी गतिविधिविरुद्ध अथक अडान राख्ने ओलीविरुद्ध रातोदिन संग्रौला लागिपरेको स्पष्ट देखिन्छ । आइएनजिओको मोटो लगानीमा जुनकिरीको संगीत नामको एक उपन्यास लेख्ने संग्रौला के हुन् ? के होइनन् ? पछिल्लो अवधिका आफ्ना तमाम भड्काउ गतिविधिका कारण देशभक्त हुन् कि घाती हुन् ? पाठकले खोतल्नुहोला । तर, यस लेखकले संग्रौलाको देशभक्तिप्रति अत्यन्त गम्भीर आशंका गरेको छ । यसै कुरालाई ध्यानमा राखेर सुप्रसिद्ध लेखक विश्लेषक सौरभले नेपालमा बुद्धिजीवी नगण्य बराबर रहेको अझ उहाँले त एक अन्तर्वार्तामा नेपालमा ९९ दशमलव ९५ प्रतिशत बुद्धिजीवी नै नरहेको उल्लेख गर्नुभयो । यो कुरा संग्रौलाजस्ता लेखक विश्लेषक र बुद्धिजीवीलाई देखेर नै भनेको हुनुपर्छ । जुनकिरीको संगीत उपन्यासमा संग्रौलाले वर्ग द्वन्द्वलाई पितिक्क उल्लेख नगरी जात, भात, नाक र नश्ल द्वन्द्वको भुमरीमा नेपाललाई पार्ने द्ुष्प्रयत्न उहिलेदेखि नै गरिआएका हुन् ।

कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री ओलीको देश, जनता र जनजीविकाका खातिर मरिमेटेर लाग्ने र दर्शन, विचार, ज्ञान, विद्वत्ता र वाक्कुशलताजस्ता बहुआयामिक व्यक्तित्व विरुद्ध दाह्रा किट्ने र उहाँको इष्र्याले चिटचिट पसिना आउने र उपध्रै कामज्वरोले थलिने संग्रौला अहिले पनि ओलीदेखि जलिरहेको देखिन्छ । उनले मिडियामा यही ज्वरोका कारण बारबार ओली विरोधी सार्वजनिक रोइलो गरिरहेका छन् । यस्तो रोइलो संग्रौलाले कथित लेखन, वाचन र विष्लेषण कर्मका क्रममा गरिरहँदा देख्नेलाई समेत लाज लाग्न थालेको छ । खगेन्द्र संग्रौलाको यो रोइलोमा ओलीप्रति बेतुकी ईष्या, रोष, जलन, डाह र फोबियाग्रस्त अवस्था झल्किन्छ ।

कुनै कुनै रोइलो अचम्मको हुन्छ । जसलाई देखाउन, नाटकीय तथा रमिते बटुवा लक्षित गरेर रोइन्छ र यसले श्रोता दर्शकको ध्यान खासै आकर्षित नभएपछि संग्रौलाजस्ता मान्छेले बीच बाटामा रोइलो गर्छन् र त्यस क्रममा ¥याल सिँगान काड्छन्, छाती पिटेर डाँको छोडेर रुन्छन्, आफ्नो कपाल आफैँ लुच्छन् र रमिता देखाउँछन् । देख्नेलाई नै सरम हुने गरी बारबार इष्र्या, जलन र घृणा मिश्रित संग्रौलाको रोइलो लेखोट देख्दा १५ वर्ष अघिजसो उनैलाई दमकको एक कार्यक्रममा ओली केन्द्रित सरगर्मी लेखनको कारण बारे यस लेखकले उनलाई सोधेको थियो ।
यस लेखकले संग्रौलालाई तपाईंहरूका बीच पुस्तैनी रिस, इबी, लेन देन, अंशबण्डा आदि कुनै आपसी झैझगडाहरू भएका त होइनन् भनी प्रश्न गर्दा त्यसमा उनले जवाफ दिएनन्, हल्का मुस्कान छोडेका थिए, अर्थात् कारण केही रहेनछ भन्ने थाहा हुन्छ त्यति बेला मौन बसेका संग्रौलाले सोझै भन्न मिल्ने तर्क र तथ्यपूर्ण विषय नभएर मौन बसेका थिए । एकातिर संग्रौला एकतारे र एकसुरे शैलीमा लगातार ओली केन्द्रित लेखोटमार्फत् तथानाम गरेर रोइलो गरिरहेका छन् भने ओली भने संग्रौलाको रोइलो देखेर र सुनेर चुपचाप देखिनुहुन्छ । बतासे बटुवाहरू के के भनिहिड्छन् सबैलाई जवाफ दिइरहन पनि त सुहाएन नि । विराटनगर निवासी एमाले केन्द्रीय पार्षद् तथा नेता बाबुराम कार्कीका अनुसार ओलीले माओवादी द्वन्द्वकालमा संग्रौलाको ज्यान बचाइदिनुभएको थियो ।

जसअनुसार माओवादी युद्धकालमा संग्रौला निक्कै खरो किसिमले माओवादी पक्षधर भएर लागि परेका थिए । यसको सुराक थाहा पाएर सेनाले यिनलाई कब्जामा लियो । तीन÷चार दिनदेखि बेपत्ता श्रीमान्को खोजीमा उनकी जहान भौतारिँदै ओलीसमक्ष आइछन् । ओलीले सेनाको उच्चतहमा कुरा राख्नुभयो । ओलीले सेनालाई संग्रौलालाई पक्राउ गर्ने के के कारण हो, त्यो सेनाको सरोकारको विषय भयो । त्यसमा उनीसित केरकार र खेरखार के गर्ने हो, त्यो तपाईंहरूको विषय हो । त्यसमा मैले केही भन्न मिलेन तर संग्रौला मेरा बाल्य सखा हुन् । उनी मेरोचाहिँ धेरै चिन्ता गर्छन् । उनी मलाई तारो बनाएर उधुमसित कटाक्ष गर्छन्, खेदो खन्दै लेखिरहन्छन् । उनी कम्तीमा सही सलामत निस्किउन् । उनी पाँच फिटको सगुलै ज्यानसहित बाहिर निस्कन पाउन् । उनीबाहेक मेरा बारेमा चिन्ता गरेर निरन्तर लेखिरहने साथी अरू कोही छैनन् भन्नु भएछ, ओलीले ।

नभन्दै केही समयपछि थुनाबाट निस्केर लुखुरलुखुर ओली निवासमा संग्रौला आएछन् । ओलीले चिया र जलपानसहित मालपुवा झैँ मीठो व्यंग्य वचनमार्फत् सत्कार गर्दा राधिका शाक्यले ओलीलाई अब अरू नभन्दा हुन्थ्यो कि भन्नुभएपछि ओली मौन बस्नुभएछ तर सकल्लै निस्कनुभयो अब भोलिदेखि नै मेरा बारेमा लेख्न नछाड्नु होला भनेर संग्रौलालाई ओलीले सुझाउनुभएछ । उहिले भृगु नामका एक ऋषि थिए । उनी सबै प्राणीको अन्तर मनदेखि भलो चाहन्थे । एक दिन न्यास र ध्यान गरेर खोला किनारमा बसिरहेको बेला खोला किनारमा एउटा बिच्छी बग्दै गरेको ऋषिले देखे । यो दृश्य देख्ने बित्तिकै भृगु ऋषि बिच्छीलाई बचाउन न्यास र ध्यान छाडेर दौडिँदै खोला किनारमा पुगे । बिच्छीलाई बचाउन खोजे । बिच्छीले ऋषिको औँलामा टोक्यो । ऋषिको हातबाट रगत बग्यो । फेरि पनि ऋषिले बग्नै लागेको बिच्छीलाई जोगाउन खोजे फेरि पनि बिच्छीले ऋषिको हातमा टोकेर रक्ताम्य बनायो ।

यो दृश्य हेरिरहेका भृगु ऋषिका शिष्यहरूले गुरु भृगुलाई सोधे गुरुवर, तपाईं बिच्छीलाई बारबार बचाउन खोज्नु हुन्छ । बचाउन खोज्दा बिच्छीले हातमा टोकेर रक्ताम्य बनाउँछ तर पनि तपाईं त्यही बिच्छीलाई किन बचाउन खोज्नुहुन्छ ? शिष्यहरूको प्रश्न सुनेर हाँस्दै भृगु ऋषिले मेरो धर्म प्राणी मात्रको सुरक्षा गर्नु हो, भने बिच्छीको धर्म टोक्नु हो, मात्र टोक्नु हो । त्यसैले बाबु म मेरो बचाउने धर्म जसरी पनि पूरा गर्छु र गर्नुपर्छ, ऋषिले भने । यस लेखकले ओली र संग्रौलासित दाँज्न यो कथाको प्रसंग झिकेको भने होइन । पाठकहरू विज्ञ हुनुहुन्छ । यसमा यस लेखकले धेरै बोल्नै पर्दैन । ओलीले एक प्रसंगमा भनेझैँ तस्बिर आफैँ बोल्छ ।

प्रतिक्रिया