मनाङले पनि एकेडेमी चलाउने

काठमाडौं । सर्वाधिक ८ पटकको ए डिभिजन लिग च्याम्पियन मनाङ–मर्स्याङ्दी क्लबले पनि युथ एकेडेमी सञ्चालन गर्ने भएको छ । मनाङले युथ एकेडेमी सञ्चालनका लागि नेपाल आदर्श आवासिय विद्यालयसँग मंगलबार पोखरामा ६ वर्षको लागि सम्झौता गरेका छन् । सम्झौतामा मनाङका उपाध्यक्ष कर्मा छिरिङ गुरुङ, नेपाल आदर्श आवासिय विद्यालयको तर्फबाट प्रिन्सिपल कमल गुरुङ र एन्फको तर्फबाट एन्फाका उपाध्यक्ष तथा ग्रासरुट र युथ कोर्डिनेटर उपेन्द्र मान सिंहले हस्ताक्षर गर्दै आदान प्रदान गरे । कार्यक्रममा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पासँगै अन्य केही पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सम्झौता अनुसार पहिलो वर्ष १४ मध्ये ७ खेलाडी एकेडेमीमा प्रवेश गर्नेछन् । उनीहरुले स्कुलमा अध्ययन र प्रशिक्षण लिनेछन् । दोस्रो वर्ष क्लबले १४ खेलाडी उपलब्ध गराउनुपर्नेछ । त्यसपछि २१ खेलाडीले स्कुलमा अध्ययनसँगै प्रशिक्षण लिनेछन् । यससँगै मनाङ युथ एकेडेमी चलाउने चौथो सिभिल क्लब बनेको छ । यसअघि संकटा, न्युरोड टिम (एनआरटी) र सातदोबाटो युथ क्लबले एकेडेमी सञ्चालनको लागि विद्यालयसँग सम्झौता गरिसकेको छ । संकटाले नेक्सस, एनआरटीले ल्याब्रोटरी स्कुल र सातदोबाटोले लिटिल एन्जल्स स्कुल (एलए) सँगै एकेडेमीका लागि सम्झौता गरिसकेको छ । तीन विभागीय टोलीले पनि एकेडेमी सुरु गरिसकेका छन् ।

प्रतिक्रिया