सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार

सल्यान । जिल्लामा एक सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । सल्यान अस्पतालमा शल्यक्रियामार्फत प्रसूति गराइएकी २१ वर्षीया अर्चना यादवको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत सुर्खेत लगिएको हो । महोत्तरी जिल्लाको सोन्मा गाउँपालिका–१ घर भई सल्यान खलंगा वस्दै आएकी २१ वर्षीया अर्चनाको यहि ४ साउनमा शल्यक्रिया गरेर सल्यान अस्पतालमा शिशु निकालिएको थियो । तर उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको सल्यान अस्पतालले जनाएको छ ।

अर्चनालाई शल्यक्रियापछि शरिरमा अक्सिजनको मात्रा कम हुने तथा हात खुट्टा सुनिने समस्या बढ्न थालेपछि स्वास्थ्य अवस्था जटिल बन्दै गएको सल्यान अस्पतालका डाक्टर भीमकान्त जैशीले जानकारी दिए । ‘उहाँमा हातखुट्टा सुनिने तथा अक्सिजनको कमी हुँदै गएको देखिएको छ, उहाँका फोक्सोमा पनि समस्या हुन सक्छ, स्वास्थ्य समस्या जटिल हुन सक्ने भएकाले रिफर गरेका हौँ’, डा. जैशीले भने ।

उद्धारका लागि प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागार्इं तथा सल्यान अस्पतालले सहजीकरण गरेका थिए । यादवलाई जोखिममा रहेको गर्भवति तथा सुत्केरी महिलाको लागि हवाई उद्धार कार्यक्रममार्फत नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत लगिएको सल्यान अस्पतालका डाक्टर भीमकान्त जैशीले जानकारी दिए ।

अर्चनालाई अक्सिजनको मात्रा कम भएको तथा हात खुट्टा सुनिने समस्या भएपछि सल्यान अस्पतालमा उपचार हुन नसकेकोले प्रदेश अस्पतालमा रिफर गरिएको डाक्टर जैशीले जानकारी दिए । कर्णाली प्रदेश सरकारले हवाई उद्धार कार्यविधि २०७५ अनुसार प्रदेशभित्र जोखिममा रहेका गर्भवती महिला तथा सुत्केरी महिलाहरूलाई हवाई उद्धार गर्दै आएको छ । गत बर्ष पनि घरमै सुत्केरी भएकी बनगाड कुपिण्डे नगरपालिका–८ की एक महिलालाई पनि स्वास्थ्य अवस्था गम्भीर भएपछि हवाई उद्धारमार्फत प्रदेश अस्पताल सुर्खेतमा लगिएको थियो ।

प्रतिक्रिया