निर्वाचन आयोगले आज जसपाको विवाद टुंगो लगाउँदै

काठमाडौं । आज निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता सम्बन्धी विवादको टुंगो लगाउने भएको छ । आयोगको इजलासमा बहस भएपछि मिलेसम्म आजै टुंगो लाग्ने आयोगका सचिव सुरेश अधिकारीले जानकारी दिए ।

जसपाको केन्द्रीय कारिणी समितिको वहुमत उपेन्द्र यादव पक्षले दाबी गर्दै आएको छ । तर, महन्थ ठाकुरले पनि पुस ७ गतेको निर्णयलाई टेकेर कार्यकारिणी समिति हेरफेर गरेका विवरण आयोगमा बुझाइसकेका छन् ।

पछिल्लो समय जसपाको केन्द्रीय कार्यकारिणी समिति र संसदीय दल दुवैतिर उपेन्द्र यादव पक्षको बहुमत छ । सर्वोच्च अदालतको फैसलापछि महन्थ ठाकुर पक्षका कम्तिमा ५ जना सांसद यादव पक्षमा गइसकेका छन् ।

आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने सम्भावना पनि बढी देखिएको छ । त्यो अवस्थामा आयोगले ठाकुर पक्षलाई नयाँ दल दर्ताको लागि मौका दिइनेछ । ठाकुर पक्षले संसदीय दलमा ४० प्रतिशत संख्या पुर्याउन नसकेको खण्डमा नयाँ दल दर्ता भए पनि सांसद पद जोगाउन कानूनी अड्चन आउन सक्ने छ ।

जसपाको संघीय संसदीय दलमा ३४ जना सांसद छन् भने प्रतिनिधिसभामा ३२ जना छन् । पछिल्लो समय उपेन्द्र यादव पक्षमा ठाकुर पक्षका प्रमोद साह, रुही नाज, नरमाया ढकाल, रानी मण्डल, अमृता अग्रहरी र रेनुका गुरुङ गएका छन् ।

प्रतिक्रिया