एमाले केन्द्रीय कमिटी बैठक : देउवालाई मत दिनेलाई कारवाही भएन

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका सांसदहरूलाई कारबाहीबारे मंगलबार कुनै पनि निर्णय गरेन । सोमबार बैठकको पहिलो दिन वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । बैठकबारे जानकारी दिँदै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले स्पष्टीकरण सोधेको २४ घण्टा पुरा नभएको कारण मंगलबार त्यसबारे कुनै निर्णय नगरिएको जानकारी दिए । नेपाल पक्षका सांसदहरूले पार्टीले सोधेको स्पष्टीकरणको पत्र नै नपाएको बताइरहँदा प्रवक्ता ज्ञवालीले सांसदहरूले पत्र हात पारेपछि मात्र २४ घण्टाको अल्टिमेटम सुरु हुने जानकारी दिए ।

मंगलबारको बैठक सातैवटा प्रदेशका पार्टी अध्यक्षहरूले ब्रिफिङ गरेको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिए । सातै प्रदेशका अध्यक्षहरूले आफ्नो प्रदेशमा एमालेको सङ्गठनात्मक अवस्था तथा राजनीतिक सन्तुलनको बारे बैठकमा ब्रिफिङ गरेका थिए । पार्टीबाट केही समूह बाहिरिँदा के असर पर्छ, आसन्न निर्वाचनमा पार्टीको अवस्था कस्तो रहन्छ भन्ने ब्रिफिङका साथै अब कसरी अगाडि जाने सुझाव पनि प्रदेश अध्यक्षहरूले दिएको प्रवक्ता ज्ञवालीले बताए । उनका अनुसार पार्टीभित्र देखिएको विवाद छिटो समाप्त गरेर गतिशीलरुपमा अघि बढ्नुपर्ने प्रदेश अध्यक्षहरूको सुझाव रहेको थियो । प्रदेश अध्यक्षहरूले पार्टीको प्रशिक्षण अघि बढाउनुपर्ने, सरकारमा रहँदा पार्टीले गरेका काम र अहिलेको अवस्थाबारे पार्टी पङ्क्तिलाई जानकारी दिनुपर्ने र आफूबारे कमीकमजोरीहरू भए त्यसको समीक्षा पनि गरिनुपर्ने सुझाव दिएका थिए । मंगलबार बैठकमा उठेका प्रश्नहरूको बारेमा बुधबार महासचिवले जवाफ दिने पनि ज्ञवालीले जानकारी दिए ।

त्यस्तै, मंगलबारको बैठकमा पार्टीमा उत्पन्न समस्या समाधानका निम्ति गठन गरिएको कार्यदलको तर्फबाट संयोजक सुवास नेम्वाङले पार्टी एकताका लागि भएका विभिन्न चरणहरूमा भएका प्रयासहरूको बारेमा बैठकलाई ब्रिफिङ गरेका थिए । पार्टीको केन्द्रीय समितिले कार्यदलले तयार गरेको १० बुँदे प्रस्तावलाई अनुमोदन गरी सकेको छ भने कार्यदल विघटन गरिसकेको छ । बैठकमा १० बुँदे प्रस्तावलाई सिर्जनात्मक ढङ्गले अगाडि बढाउने विषयमा छलफल भएको ज्ञवालीको भनाइ छ ।

यता, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्नका लागि गठन गरिएको आयोगलाई खारेज गर्ने वर्तमान सरकारले तयारी गरिरहेको समाचार आएको प्रति बैठकको ध्यानाकर्षण भएको पनि ज्ञवालीले बताए । मंगलबारको बैठकमा आयोगको तर्फबाट अध्यक्ष देवी ज्ञवालीले हालसम्म भएको प्रगतिका बारेमा जानकारी गराएका थिए । मंगलबारकोे बैठक बुधबार ३ बजे पुनः बस्ने गरी स्थगित भएको छ ।

मौजुदा कमिटीमै बहुमत पुग्ने माधव पक्षको दावी 
नेकपा (एमाले)को माधव नेपाल समूहमा साविकको पार्टीभित्रै आफूहरुको बहुमत पुग्ने भन्दै अध्यक्ष केपी शर्मा ओली बिनाको पार्टी बनाउन सकिने विषयमा छलफल भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदसँग वरिष्ठ नेता नेपाललाई मंगलबार गरेको छलफलमा सांसदहरुले यस्तो सुझाव दिएका हुन् ।

केन्द्रीय सदस्य एवम् सांसद मेटमणि चौधरीले केही दिन पर्खिए केन्द्रीय कमिटी र संसदीय दलमा समेत आफूहरुको बहुमत पुग्ने र साविकको एमालेमै अध्यक्ष ओलीलाई हटाउन सकिने विषयमा छलफल भएको जानकारी दिए । ‘१५ दिनभित्र एमालेको केन्द्रीय कमिटीमा बहुमत पुग्ने, संसदीय दलमा पनि बहुमत पुग्ने भएकाले त्यसबाट ओलीलाई हटाएर ओलीबाहेकको पार्टी गठन गर्ने भन्ने सुझाव आएको छ,’ संवाददाताहरुसँग उनले भने ।

सांसद विरोध खतिवडाले आफूहरुसँग ओलीपक्षबाट १४ जना सांसद थपिएको दावी गरे । उनले भने, ‘हिजो मतदान गरेका साथीहरु देखिहाल्नु भयो, अरु पनि हामीसँग सम्पर्कमा हुनुहुन्छ ।’ चौधरीले नयाँ पार्टी गठन गर्नेबारे पनि कानुन व्यवसायीसँग छलफल गरेर निर्णय लिने बताए । ‘सकभर एमाले एकता कायम राख्न अन्तिमसम्म प्रयास गर्छौं,’ उनले भने, ‘कानुनले दिन्छ भने नयाँ पार्टी बनाएर जानुपर्छ भन्ने सुझाव पनि आएको छ । त्यहाँसम्म पनि जान्छौं ।’

सरकारमा सहभागिताबारे भने कानुनी परामर्श भइरहेको र सरकारमा गए वापत सांसद पद नजाने कुराको ग्यारेन्टी भयो भने मात्रै यस विषयमा निर्णय हुने चौधरीले बताए । अर्की सांसद राकुमारी झाँक्रीले सरकारमा जाने भन्दा पनि संसदलाई पूर्ण अवधि क्रियाशिल कसरी बनाउन सकिन्छ भन्नेबारेमा छलफल भएको बताइन् । उनले भनिन्, ‘अर्को दलले नेतृत्व गरेको सरकारमा जाने कुरै भएन । सरकारमा जाने भन्दा पनि पुरा अवधि संसद क्रियाशिल कसरी बनाउने भन्ने बारेमा छलफल भयो ।’ नेपाल पक्षले आफूपक्षीय सबै केन्द्रीय सदस्य र सांसदहरु सहितको बैठक भोलि ११ बजे बोलाएको छ । पार्टी विभाजन गर्ने या नगर्ने विषयमा उक्त बैठक निर्णायक हुने बताइएको छ ।

प्रतिक्रिया