पाँचथर प्रेस युनियनले गर्यो दुई पत्रकारलाई पुरस्कृत

पाँचथर । पाँचथर नेपाल प्रेस युनियनले दुई जना पत्रकारलाई सम्मानसहित पुरस्कृत गरेको छ । युनियनको ३३औँ स्थापना दिवशको अवशरमा पाँचथर शाखाले दुई पत्रकारलाई पुरस्कृत गरेको हो ।

नेपाल प्रेस युनियनले वार्षिक रुपमा प्रदान गर्दै आएको देउमान केरुङ स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार जंग तामाङ र लोकमान बाँस्कोटा स्मृति पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी शर्मिला मुखिया पुरस्कृत भएका हुन् । दुवै पुरस्कारको राशी दश–दश हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस पाँचथरका सभापति रुपनारायण जबेगु र फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेसहित अन्य अतिथिहरुले सम्मानपत्र र नगदसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

पुरस्कृत तामाङ शिलापत्र अनलाइनमा कार्यरत छन् भने मुखिया फिदिमस्थित सुम्हात्लुङ एफएममा आबद्ध छन् । सो अवसरमा नेपाल प्रेस युनियन पाँचथरले जिल्लाका सञ्चारकर्मीलाई सञ्चार सामग्री समेत वितरण गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस पाँचथरका सभापति जबेगुसँगै निवर्तमान सभापति नरेन्द्र कुमार केरुङ, फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले, फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बिर्जहाङ आङदेम्बे, हिलिहाङ गाउँपालिकाका अध्यक्ष समर बहादुर अधिकारी, प्रेस युनियन पाँचथरका पूर्वअध्यक्ष लक्ष्मी गौतम, वर्तमान केन्द्रिय सदस्य भिम बाँस्कोटा, पत्रकार महासंघ पाँचथर जिल्ला अध्यक्ष गिरिराज बाँस्कोटा, प्रेस चौतारीका अध्यक्ष रविन्द्र काफ्ले, संघ–संगठनका प्रमुखलगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम नपाल प्रेस युनियन पाँचथरका अध्यक्ष खबिन लुइटेलको अध्यक्षतामा सम्पन्न भएको सचिव दिपक बोहोराले जानकारी दिए ।

प्रतिक्रिया