वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरी दोषी ठहरिए

काठमाडौं । वैवाहिक बलात्कार मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरी अदालतबाट दोषी ठहर भएका छन् । निलम्बित न्यायाधीश गिरीलाई आइतबार जिल्ला अदालत काठमाडौंले आफ्नै श्रीमतीलाई जबरजस्ती बलात्कारको मुद्दामा दोषी ठहर गरेको हो ।

न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले गिरीलाई दोषी ठहर गरेको बताइएको छ । हाल उनी सर्वोच्च अदालतको आदेशले थुनामै छन् । यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनको आदेश बदर गर्दै गिरीलाई थुनामा पठाउन आदेश दिएको थियो ।

श्रीमतीलाई सम्बन्ध विच्छेदपछि पनि सहमति विना शारीरिक सम्बन्ध राखेको भन्दै जिल्ला अदालतले दोषी ठहर गरेको हो । उनलाई सजाय भने जिल्ला अदालतले पछि निर्धारण गर्ने अदालतका स्रेस्तेदार रामु शर्माले बताए । उनका अनुसार यसका लागि जेठ २८ गते पेसी तोकिएको छ ।

पीडितको शारीरिक परीक्षण प्रतिवेदनबाट प्रजनन अंगसँग सम्बन्धित ‘हाइमेन ओल्ड टिअर’ भन्ने देखिएको, पीडित र प्रतिवादीबिच यसभन्दा पहिले पनि वैवाहिक जबरजस्ती करणी र सम्बन्ध विच्छेद मुद्दा चलिरहेको अवस्था देखिएको भन्दै सर्वोच्चले थुनामा पठाएको थियो ।

प्रतिक्रिया