पार्टी संरचनामा दुई तिहाई नयाँ पुस्ता राखौँ : जनार्दन शर्मा

रुकुम पश्चिम । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा (प्रभाकर) ले हरेक तहका पार्टी कमिटीमा दुई तिहाइको संख्यामा नयाँ पुस्तालाई समेट्न प्रस्ताव गरेका छन् ।

माओवादी केन्द्र बाँफिकोट गाँउ समितिले शनिबार आयोजना गरेको पार्टीका नवनिर्वाचित वडा समिति पदाधिकारीहरुको बधाई कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले पार्टीमा नयाँ पुस्ताको बहुमत नभएसम्म गति नआउने बताए ।

‘पार्टीका हरेक निकायमा युवाहरुको बाहुल्य भए मात्र पछिल्ला चुनौतिहरुको सामना गर्न सकिन्छ’, केन्द्रिय संगठन विभाग प्रमुखसमेत रहेका शर्माले भने, ‘विशेष महाधिवेशनसम्म जाँदा यस विषयमा देशभर बहस चलाउनुपर्छ ।’ पार्टीको विशेष महाधिवेशन आगामी मंसिर–पुससम्म गर्ने गरी शर्मा नेतृत्वको संगठन विभागले पार्टीमा सिफारिस गरिसकेको जानकारी गराउँदै उनले नयाँ विचारको आधारमा समाजवादको मुर्त कार्यक्रम अघि सारिने दाबी गरे ।

विशेष महाधिवेशनबाट सरकारको स्थीरता कायम हुने खालको नयाँ राजनैतिक प्रणालीको खाकासमेत तयार गर्न लागिएको शर्मा भनाइ छ । प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता शर्माले आर्थिक समृद्धिका लागि पार्टीका हरेक सदस्यहरु कुनै न कुनै उत्पादनको कार्यमा अनिवार्य रुपले जोडिन निर्देशन दिए ।

पार्टीका हरेक नेता कार्यकर्ताहरु आर्थिक रुपले आत्मनिर्भर नभएसम्म जनताको समृद्धिको अगुवाइ गर्न नसिकने उनले बताए ।

पालिका इञ्चार्ज धर्म केसीको अध्यक्षता र पालिका अध्यक्ष चन्द्र बहादुर केसीको उद्घोषण रहेको कार्यक्रममा माओवादी केन्द्रका रुकुम पश्चिम जिल्ला इञ्चार्ज वसन्त शर्मा, केन्द्रीय सदस्य तथा जिल्ला संगठन विभाग प्रमुख गोपाल शर्मा, जिल्ला संयोजक गोविन्द रोका सचिन, केन्द्रिय सदस्यहरु गोर्खबहादुर केसी र कलबहादुर नाथले नवनिर्वाचित वडा पदाधिकारीहरुलाई बधाई दिएका थिए ।

प्रतिक्रिया