हराए ५२ पोखरी ५३ टाकुरी

हराउँदै गएका पोखरी र टाकुरीसँगै पानीका मुहान मात्र होइन, संस्कृति पनि लोप हुँदै गएको छ । पर्यावरणीय संकट र पहाडी क्षेत्रको जलचक्र असन्तुलित भएको छ ।

रुकुमपश्चिम । ‘बाबु–बाजेले बनाएका पोखरी अब खरबारी भएका छन् । जंगल मासिएर नांगा डाँडा भएका छन् । ती टाकुरी पोखरीको त अब सम्झना मात्रै रहे ।’ रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका ७९ वर्षीय सर्जने बुढाको आँखामा ती दिन सम्झेर एकप्रकारको उदासी देखिन्छ । मौराखारा लेकतिर औँला सोझ्याउँदै उनले भने, ‘त्यो देख्नुहुन्छ ? अहिले गाई बाँध्ने ठाउँ, पहिले ठूलो ताल थियो । बर्खामा पानीले भरिन्थ्यो, साउन–भदौमा गाउँले भ्यागुताको ट्वारट्वार सुनेर रमाउँथे ।’ गर्मी महिनामा गाईबस्तु लेकमा लैजाने बेलामा त्यहाँ मान्छे डुबाउने ताल बन्ने गरेको उनले स्मरण गरे ।

२०१९ सालमा सल्यानबाट अलग्गिएर रुकुम जिल्ला बन्ने क्रममा रुकुमकोट क्षेत्रलाई ५२ पोखरी ५३ टाकुरीको जिल्ला भनेर तत्कालीन सरकारलाई जानकारी गराइएको बताइन्छ । अहिले त्यही रुकुम पनि टुक्र्याइएपछि रुकुमकोटको ५२ पोखरी ५३ टाकुरीको चिनारीसँगै संस्कृति पनि बिस्तारै हराउँदै छ । रुकुमकोटस्थित सिस्ने गाउँपालिकाले २० वर्षे गुरुयोजना बनाएर यसको संरक्षण गरी रुकुमकोट उपत्यकालाई पर्यटकीय नगरीका रूपमा विकास गर्ने भने पनि यो केवल भनाइमै सीमित छ । साविक पोखरी र टाकुरीका ठाउँमा अहिले निजीे घर ठडिएका छन् ।

पछिल्लो समय रुकुमपश्चिमका विभिन्न गाउँ–टोलमा यस्ता दृश्यहरू हराउँदै गएका छन् । ५२ पोखरी ५३ टाकुरीहरू अब बचेका छैनन् । बचेको छ त केवल स्मृति र गुनासो । स्थानीय तह, समाजसेवी र पुराना नक्साहरूको अध्ययनअनुसार रुकुममा हालसम्म ५२ वटा पोखरी र ५३ वटा टाकुरी नष्ट भइसकेका छन् । यीमध्ये अधिकांश संरचना दशकौँ अघिसम्म सिँचाइ, पशुपालन, खानेपानी र पर्यावरण सन्तुलनको महत्वपूर्ण आधार थिए ।

प्राकृतिक रूपले सुन्दर र पर्यटनको प्रचुर सम्भावना बोकेको रुकुममा दर्जनौँ बढी पर्यटकीय स्थलहरू छन् । तर हालसम्म पर्यटन व्यवसाय अघि बढ्न सकेको छैन् । ‘जनयुद्ध’को उद्गम थलोका रूपमा रहेको रुकुमका ऐतिहासिक सम्पदा लोप हुँदै गएका छन् । ५२ पोखरी ५३ टाकुरीका नामले परिचित रुकुम अहिले पूर्वी रुकुम र पश्चिम रुकुममा बाँडिएको छ । टाकुरी भन्नाले ढुंगाले घेरिएको, पानी संकलन गर्ने सानो परम्परागत संरचना बुझिन्छ । धेरैजसो रुकुमका बस्तीहरूमा वर्षा वा प्राकृतिक धारा समेट्ने यस्ता संरचनाहरू भेटिन्थे । अहिले यी ढुंगाका संरचना खण्डहर भएका छन् । ठुलाकोट राजाको दरबार अनि छेउमै ठुलो खाली (ताल) थियो । अहिले दरबार खण्डहर भयो अनि ताल पनि साँघुरियो । आठबीसकोट–१० का तिलक शाही भन्छन्, ‘बिजारेदेखि ठुलाकोटसम्म पोखरी नै पोखरी थिए । अब त एक थोपा पानी पाइँदैन ।’

स्थानीय तहबाट दीर्घकालीन योजनाविनै गरिएका सडक विस्तार, भवन निर्माण र बस्ती व्यवस्थापनको नाममा धेरै पोखरी र टाकुरीहरू नष्ट भएका छन् । ‘सडक बनाउँदा सिधै मूलमाथि डोजर चलाइयो’, रुकुमपूर्वकी सिमाना घर्ती भन्छिन्, ‘सडक आयो, तर पानीको स्रोत भने सुक्यो ।’ हराउँदै गएका रुकुमका पोखरी र टाकुरीसँगै पानीका मुहान मात्र होइन, संस्कृति पनि लोप हुँदै गएको छ । फलतः पर्यावरणीय संकट र पहाडी क्षेत्रको जलचक्र असन्तुलित हुन थालेको विज्ञहरूको चेतावनी छ ।

पोखरी र टाकुरीका स्रोतहरू हराएपछि स्थानीय धारा, इनार र कुवा सुक्न थालेका छन् । ग्रामीण क्षेत्रहरूमा खानेपानीको चरम अभाव देखिएको छ । ‘यी संरचनाहरू केवल पानीका स्रोत थिएनन्’, स्थानीय विष्णु खड्का भन्छन्, ‘यी त सिंगो समुदायको पर्यावरण, संस्कृति र जीवनशैलीसँग गाँसिएका थिए । नासिएका जति नासिए, जति बाँकी छन्, तिनलाई बचाउन सकियो भने कम्तीमा भविष्यको सास त जोगिन्छ ।’

हालसम्म ५२ वटा पोखरी र ५३ वटा टाकुरी नष्ट भएको तथ्यांक सार्वजनिक भएको छ । स्थानीय तह तथा सरोकारवाला निकायको प्रारम्भिक तथ्यांकअनुसार विगत २० वर्षको अवधिमा ती संरचनाहरू क्रमशः सुक्दै, पुरिँदै वा भत्किँदै हराएका हुन् । कतिपय संरचना मानव बस्ती, सडक विस्तार र कृषियोग्य जमिन बनाउने नाममा विनाश गरिएको स्थानीयवासीको गुनासो छ । पोखरी र टाकुरीहरूको संरक्षण नहुनुका पछाडि अव्यवस्थित विकास, स्थानान्तरण, जनसंख्या चाप, जलस्रोत संरक्षणप्रति सरकारको उदासीनता मुख्य कारण देखिएको छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया