सम्मानित किसान नभएसम्म यो देश कहिल्यै समृद्ध बन्दैन !

ओम भण्डारी

उहिले–उहिले अहिलेजस्तो धेरै जनसंख्या थिएन । विज्ञानको विधि र प्रविधिको वृस्तिती थिएन । सबै सीप परम्परागत थिए । ढुंगालाई देउता र माटो आमा हुन् भन्ने पक्का बिस्वास भएको त्यो समयका मानिसहरू यो धर्तीलाई कुराले भन्दा व्यवहारले नै प्राण धान्ने स्रोत मान्थे । त्यो बेला ‘धर्ती माता’ हृदयको बोली थियो । पसिनाको खर्च बिनाको कमाइलाई (उपार्जन) स्वीकार नगर्ने इमानको त्यो समय गरिखान सक्ने स्वस्थ मान्छेको लागि काम नगरी खानु र बस्नु मरेतुल्य हुन्थ्यो ।

‘उत्तम खेती’ भएको त्यो बेला मानिसहरू गर्वले खेतीमा खटिन्थे । जीवनको स्रोत जमिन बाँझो राख्नु कुलच्छिन मानिने हुनाले, घिस्री–पिस्री भए पनि सबैले मौसम अनुकूलको खेतीबाली लगाउँथे । अरूका घरबाट अन्न किनेर ल्याउनु–खानु लाजको पसारो हुने हुनाले आफ्नै खेतबारीको अन्नले पु¥याउनु परेपछि जसैगरी खेती त गर्नु नै पर्दथ्यो, त्यो बाध्यता पनि थियो । आफ्नो डोको नाम्लो बोक्नु, हलो–कोदालो गर्नुमा मर्यादा थियो । किनेर खानेको भन्दा आफ्नै जमिनको अन्नले वर्ष धान्नेको इज्जत कहाँ हो कहाँ उचाइमा थियो । श्रमको सम्मान थियो । अहिले त्यस्तो कहाँ छ र !

उहिले र अहिलेमा ठ्याक्कै विपरीत छ । जनसंख्या गुणात्मक वृद्धी भएको छ । विज्ञान र प्रविधिमा चामत्कारिक विकास भएको छ । परम्परागत सीपको ठाउँ आधुनिक प्रविधिले लिएको छ । मानिसका आनीबानी बदलिएका छन् । असाध्यै दुःख नगरी पनि जीवन मिठै हुने रहेछ, रमाइलै बनाउन सकिन्छ भन्ने भ्रम परेको छ ।

कृषिलाई साँच्चिकै सुधार्ने हो भने सुरूमा हाम्रो कृषि प्रणालीलाई खुट्टाले टेक्ने बनाउनुपर्छ । जुन कारणले युवाहरू विदेश पलायन हुन बाध्य भए, त्यो कारण मसिनो गरी हेरौँ । किसानलाई टिकाइराख्न के गर्ने ? अहिले एकातिर धेरै जमिन बाँझो छ, अर्कातिर भूमिहीन किसान छन् । भूमिहीन किसानलाई सरकारले रातो पूर्जा होइन, हरियो पूर्जा दिनुपर्छ । अर्थात्, सुकुम्बासीका नाममा जग्गा बाँड्नेभन्दा पनि वास्तविक किसानलाई खेती गर्ने जग्गा दिने मुख्य कुरा हो । तर, किसानले जमिनको हक पाउनुपर्दैन भन्न खोजेको होइन ।

दिनहुँ पसिना निकालेर काम गर्नु पहिला बरदान मानिन्थ्यो अब त्यसलाई अभिशाप ठानिन्छ । मिहिनेतले खानेभन्दा बसी–बसी खानेको इज्जत धेरै छ । खेती गरेर आफ्नै जमिनको अन्नले वर्ष कटाउनेको भन्दा बजार (अरूकोबाट) खरिद गरेर खानेको खानदानी इज्जत छ । त्यै भएर पहिलाको ‘उत्तम खेती’ अहिले चुत्थो भएको छ, कृषि निर्घिणी पेसाजस्तै भएको छ ।

आफ्नो सोझो गरेर डोको नाम्लो, कुटो–कोदालो गर्नेको मर्यादा छैन । त्यसैले होला कृषि पेसा छोडेर मानिसहरू अन्य पेसा खोज्दै सहर पस्न र उतै बस्न थालेपछि छँदा खाँदाको उर्बर खेतबारी बाँझै बसेको छ । परिणाम सहरको मात्र कहाँ हो र गाउँकै भान्सामा पनि अरूकै देशका अन्न तरकारीको भिड लाग्छ । ऋण, सहायता र वैदेशिक रोजगारीले धानेको हाम्रो नेपालको अर्थतन्त्र उसै कमजोर छ त्यसमाथि झन् नुन–भुटुनदेखि सागपात र दाल चामल पनि अर्काकै देशबाट किन्नुपर्दा झनै सकस परेको छ ।

यी सबै समस्याको समाधान कृषि पेसालाई अब्बल बनाई, खेतीपातीमा आकर्षण बढाउनु हो । परम्परागत र आधुनिक प्रविधि संयोजन गर्दै व्यावसायिक कृषिका लागि सरकारले नै संकल्प गर्नुपर्छ । सरकारको संकल्पमा आमनेपाली किसानले साथ दिनेछन । बाध्यताले अल्छी बनेको पाखुरीमा जाँगर भरिनेछ । श्रमको मूल्य बुझेर कृषि श्रमिकको सम्मान हुने कार्यक्रम ल्याउनसके कृषिबाट विकर्षित सबैलाई पुनः कृषिमै फर्काउन सकिन्छ । कृषि क्षेत्र फेरी आकर्षणकै क्षेत्र हुनेछ । जबसम्म यो देशमा सबैभन्दा सम्मानित पेसा कृषि र सबैभन्दा सम्मानित किसान नभएसम्म यो देश कहिल्यै समृद्ध बन्दैन ।

मुलुकको कृषि निरन्तर ओरालो लाग्दै किसान पलायन हुँदै गएका छन् । नेपालको आफ्नै विशेषतायुक्त र जीवन संस्कृति बनेको कृषि प्रणालीलाई व्यावसायिकका नाममा व्यापारिक बनाइनु र किसानलाई उपेक्षित गरेर बिचौलियालाई पोसिनु नै यो धराशायी हुनुको कारण हो । अहिले कृषि कर्म महिलाको भरमा छ । जमिन बाँझो छ । ताप्लेजुङदेखि दार्चुलासम्मका किसान गाउँ छोडेर सहर पसेका छन् । सहरमा टिक्ने सहरमा टिकेको छ, सक्ने विदेश गएको छ, त्यहाँ पनि जान नसक्ने कालापहाडमा, पिथौरागढमा, कुमाउ, गढवाल र दिल्लीमा चौकिदार भएर जिन्दगी गुजारिरहेको छ । त्यस्ता मान्छेहरूको जिन्दगीका बारेमा विचार गरे मात्रै कृषिमा रूपान्तरण किन गर्ने भन्ने विषयमा प्रष्ट हुन्छौँ ।
यसरी सहर पसेका र बिदेसिएका मानिसलाई उतै रगत–पसिना बगाउन लगाउने हो कि घरपरिवार र समाजसँगै बसेर जिन्दगी बिताउने वातावरण बनाउने हो ? अहिले भनिने गरेको समृद्धि बालुवाटार, सिंहदरबारसँग सोझो पहुँच भएका सीमित व्यक्तिको वरिपरि मात्रै आउने हो कि आममानिसका लागि पनि हो भन्ने जवाफ खोज्दा मात्रै किसानको उत्थान किन चाहिन्छ भन्ने प्रश्नको जरोमा पुगिन्छ ।

कृषिलाई साँच्चिकै सुधार्ने हो भने सुरूमा हाम्रो कृषि प्रणालीलाई खुट्टाले टेक्ने बनाउनुपर्छ । जुन कारणले युवाहरू विदेश पलायन हुन बाध्य भए, त्यो कारण मसिनो गरी हेरौँ । किसानलाई टिकाइराख्न के गर्ने ? अहिले एकातिर धेरै जमीन बाँझो छ, अर्कातिर भूमिहीन किसान छन् । भूमिहीन किसानलाई सरकारले रातो पूर्जा होइन, हरियो पूर्जा दिनुपर्छ । अर्थात्, सुकुम्बासीका नाममा जग्गा बाँड्नेभन्दा पनि वास्तविक किसानलाई खेती गर्ने जग्गा दिने मुख्य कुरा हो । तर, किसानले जमिनको हक पाउनुपर्दैन भन्न खोजेको होइन । जमिनको हक खोज्ने बेला पुरानो भइसक्यो । किसानलाई त जीविका, रोजगारी र आम्दानीको हक चाहिएको हो । रातो पूर्जा गोजीमा हालेर सुत्न पाउँछु कि पाउँदिनँ भन्ने वेला अहिले होइन । यो कुरा खेती गर्ने किसानले बुझेका छन् ।

जमिनको व्यवस्था गर्ने हो भने सरल कुराबाट थालनी गर्नुपर्छ । खेती गर्ने गरी जो किसान फर्किएर आउँछन्, उनीहरूलाई संक्रमणकालीन कृषि गर्न तथा भविष्यमा समृद्धिको आधार उन्नत खेतीपातीलाई बनाउन जमिन उपलब्ध गराउनुुपर्छ । त्यसका लागि धेरै परको लामो सपना बाँड्नुपर्दैन । तत्कालीन अवस्थामा खानेकुराको जोहो गर्न आवश्यक सहयोग, आँट, भरोसा र ज्ञान दिनुपर्छ । त्यो जिम्मा स्थानीय सरकारलाई दिऔँ ।

प्रतिक्रिया