संस्कारको शक्ति

हाम्रो देशमा सबथोक छ । सुनको देशमा बसेर हामी सुनको थालमा भिख माग्छौँ । हामीले कसैसँग माग्नु पर्दैन । यहाँ जे काम गरे पनि पैसा आउँछ । हिमाल देखाउँदा पनि पैसा आउँछ । झारपात र किरा फट्यांग्रा देखाए पनि पैसा आउँछ । पानी बेचे पनि पैसा आउँछ । विदेशीलाई घुमाए पनि पैसा आउँछ । हाम्रो देशमा जताततै पैसा छ । त्यसकारण मेरो पहिलो सपना भनेकै पर्यटनको विकास हो । पर्यटनको विकासले सबै क्षेत्रको विकासको ढोका खोल्छ ।

रामप्रसाद सापकोटा

मेरा बाले सधैँ मलाई भनिरहनुहुन्थ्यो, ‘बाबु निरन्तर कर्म गर्नु, सही बाटोमा हिँड्नु, कसैको नबिगार्नु, नडराउनु । लोकको भलाई हुने काम गर्नु । अल्छी हुनु भनेको आफ्नै भाग्य हर्नु हो । कर्मशील हुनु भनेको भाग्य चम्काउनु हो ।’

बाले भन्नुभएको यी अमृतवचनको छाप मलाई सानै उमेरदेखि प¥यो । मेरा बाको दौराको फेर समातेर उठ्न खोज्दा या बाको हात समातेर तातेताते गर्न खोज्दादेखि नै केही गर्नुपर्छ भन्ने अठोट र हिम्मतको भ्रुण छातीभित्र अंकुराइसकेको हुनुपर्छ । त्यही भएर होला सायद सानो छँदा भविष्यमा जे बन्छु भनेर संकल्प गरेको थिएँ । आज म त्यही बनेँ । पर्यटन क्षेत्रमा जोडमेल गरेँ । पसिना पोखेँ । काडाहरू पन्छाएर फूल रोपेँ । हेर्नलाई पर्यटकहरू बोलाएँ । देशको सेवा गरे । त्यसको निम्ति उमेरको आधा शताब्दी गुजारीसकँे । यति लामो जीवनयात्रामा म आफ्नो उद्देश्यप्रति रतिभर विचलित भइनँ । यो तागत मेरा बाको अमृतवचन शिरोधार्य गर्दाको परिणाम हो । मेरा बाका अमृत वचन आज पनि मिठो ध्वनी भएर कानमा गुञ्जिरहन्छन् । सन्तानको लागि पहिलो शिक्षक बाआमा हुन् । पहिलो पाठशाला आफ्नै घर हो । मेरो पहिलो पाठशालामा मैले असल संस्कार सिक्ने मौका पाए ।
बिहान घाम झुल्कनुअघि उठ्नु र बेलुका चाँडै सुत्नु, समयमै खाना खानु, नियमित स्कुल जानु, घरमा सकेको काम गर्नु, गाउँ नडुल्नु, आफूभन्दा ठूलालाई आदर गर्नु सानालाई माया गर्नु, लोभ नगर्नु, अरूलाई दया गर्नु भन्ने मेरा बाको आदेश हुन्थ्यो । बाको आदेशलाई मैले इमानदारपूर्वक पालना गरेँ । बहुमूल्य संस्कारको रूपमा स्वीकार्दै आफूलाई समर्पित गरेँ । त्यसैले मेरो निरन्तर कर्मले बदलेको मेरो अवस्था मेरो बाले सिकाउनुभएको संस्कारको उपज हो । बालापनमा हिम्मतका साथ बाको दौरा समातेर उठ्न खोज्दाको नतिजा हो । स्वदेशमा मै सुन फलाउनुपर्छ भन्ने मेरो मान्यता माटो पोतिएका मेरा किसानी बाका हौलाहरू समातेर तातेताते गर्दाको परिणाम हो । अतः मेरा बाले सिकाउनुभएको संस्कार मेरो सफलताको धरातल हो । मेरो समग्र जीवनको मार्ग निर्देशन हो ।

बाको प्रेम र प्रेरणाबाट विद्यार्थी जीवनदेखि नै मेरो सोचमा बदलाव आयो । आमाको आँशु देखेर नराम्रा क्रियाकलाप चटक्कै छोड्ने हिम्मत आयो । व्यवहार र चेतनाले साथीहरूभन्दा भिन्न भए । सानै उमेरदेखि म आफ्नै देशमा केही गर्छु भनेर सपना देख्न थालेँ । उमेर बढ्दै गएपछि पाइला–पाइलामा सम्भावना देखेर संघर्ष गर्दै अगाडि बढिरहेँ । पछि युरोप र अमेरिकामा बस्दा पनि नेपालमा नै प्रशस्त सम्भावना देखेर फर्किएँ । त्यसपछि आफ्नै देशमा सम्भावनाभित्र सफलता खोज्न अहोरात्र मिहिनेत गर्दै गएँ । आज म आफ्नो व्यवसायमा खुसी हुनसक्ने सफलता मैले पाइसकेको छु । अब मलाई मानवसेवा गर्ने हुटहुटीबाहेक केही छैन । इमानदार भएर आफ्नो कर्ममा निरन्तर लागिरहनु भन्ने मेरा बाको निर्देशन मैले पूर्णरूपमा पालना गरेको छु । आफ्नो छोरो परदेश नजाओस्, नेपालमा नै बसेर प्रगति गर्न सकोस् । लोकको सेवा गरोस् भन्ने बाआमाको सपना पूरा गर्दै छु ।

सपना पूरा गर्न हिँड्ने बाटो फूलैफूलको हुँदैन । न त मलिलो माटोमाथि कुनै मजदुरले नङ्ग्रा खियाएर बनाइदिएको हुन्छ । ता कि सफलता चुम्न सजिलै हिँड्न सकियोस् । सफलता चुम्न केबल असल संस्कारको बाटो हिँड्नुपर्छ । संस्कारको बाटाले शतप्रतिशत सफलतामा पु¥याउँछ । बाले सिकाउनुभएको संस्कारको बाटो म हिँडिरहे । म हिँडिरहेको बाटोमा तातेताते गर्न मैले मेरा छोराहरूलाई निर्देशन गरेको छु । मैले बाको दौरा समातेर उठ्न खोज्दा बटुलेको साहस झैँ मेरा छोराहरूले मलाई छोएर उठन पाएनन् । तातेताते गर्न मलाई छुन पाएनन् । तोतेबोलीमा बा भनेको बिरलै सुन्न पाएँ । रहर अधुरो हुनेगरी छातीमा टास्न पाएँ ।

किनकि, दुवै छोराहरू जन्मिँदा म टे«किङ गाइड बन्ने रहरमा सहर पसेको थिएँ । डाँडाकाँडा, नदीखोला, लहरापहरा, उकालीओरालीमा सम्भावनाहरू खोज्न भौँतारिरहेको थिएँ । पर्यटकहरू खोज्दै विमानस्थलमा सुस्केराहरू हालिरहेको थिएँ । त्यसैले सानो छँदा छोराहरूको कानमा मैले बाले झैँ अमृत वचन फुक्न पाइनँ । तर, बाले सिकाउनुभएको संस्कारको प्रतिविम्ब स्वयं म आफैँ थिएँ । मेरो स्वभाव र गतिविधि असल संस्कारका उदाहरणहरू थिए । त्यसैको प्रभाव छोराहरूमा पनि प¥यो । मैले छोराहरूलाई कहिल्यै गाली गर्नु परेन । पिट्नु परेन । काम गर्न अह्राउनु परेन । गल्ती गरेर सजाय दिनु परेन । समाजमा उनीहरूको बारे नराम्रो सुन्न परेन । अरूको मन रुवाउन रुखो वचन बोलेनन् । लोभले कसैको बस्तुमाथि हात लम्काएनन् । कसैका छोरी चेलीमाथि आँखा चम्काएनन् । पाप र धर्म सत्य र असत्यको ख्याल दैनिक जीवनमा गरिरहे । बिहान सबैरै उठ्न, बेलुका सबेरै सुत्न, पढाइमा ध्यान दिन, घरको काम सघाउन उनीहरूलाई मेरी श्रीमतीले सिकाइन् । आफूभन्दा ठुलालाई आदर र सानालाई माया गर्ने बानी छोराहरूको सानैदेखि थियो । उनीहरूको बानीसँग म सन्तुष्ट थिएँ । खराब बानीको अनुशरण गर्दैनन् भन्ने कुरामा ढुक्क थिएँ । म हिँडेको बाटोमा मेरा सहयात्री हुनेछन् भन्ने कुरामा आशावादी थिएँ ।

बाले सिकाएको संस्कारले मेरो जीवनयात्रालाई जति सरल बनाएको छ मैले पनि आफ्ना दुवै छोराहरूलाई त्यही बाटो हिँड्न प्रेरित गरेको छु । दुबै छोराहरूलाई मैले जुन व्यवसाय गर्दै आएको छु, दुबै छोरालाई त्यसैमा निरन्तरता दिन लगाएको छु । समय र परिस्थिति फेरिएको छ । मानिसका आकांक्षा र आवश्यकता फेरिएका छन् । नयाँ पुस्ताको चेतना विकसित भएको छ । उनीहरूको संस्कारमा पनि बदलाव आएको छ । हाम्रा पुर्खाले हामीलाई खेतबारी बाँझो नराख्नु, बस्तुभाउले गोठ भर्नु्, माटोमा पसिना पोख्नु, हिँडेर काम गर्नु भनेर संस्कार सिकाउँथे । तर नयाँ पुस्ताले सिक्नुपर्ने संस्कार बदलिएको छ ।

विश्व प्रविधिमैत्री भएको छ । श्रम पाखुराले मात्र गरिँदैन मष्तिस्कसँगै प्रविधिले पनि गरिन्छ भन्ने आधुनिकतामा नयाँ पुस्ता आइपुगेका छन् । भविष्यको चिन्ताले नयाँ पुस्ता ग्रसित छन् । आफ्नै देशमा भविष्य देख्न नसक्ने रोगबाट उनीहरू पीडित छन् । यसरी नयाँ पुस्ता मानसिक विचलनको सिकार हुनुमा उनीहरूको संस्कार दोषी हो । कस्तो संस्कारबाट उनीहरू गुज्रिरहेका छन् या अभिभावकले कस्तो संस्कार सिकाएका छन् भन्ने कुरा मुख्य हुन्छ । मैले नयाँ पुस्ताको भविष्य नेपालमा नै देख्ने संस्कार बसालेको छु । नयाँ पुस्ताको भविष्य नेपालमा नदेखेको भए आफ्ना छोराहरूलाई म अमेरिका पठाइसक्थेँ । उनीहरूका साथी प्रायः विदेश गइसके । तर, मभित्र उनीहरूलाई पलायन गराउने सोच कहिल्यै आएन । देशभक्तिभन्दा महान सोच अरू केही हुँदैन । त्यसकारण मैले छोराहरूलाई देशभक्तिको संस्कार सिकाएँ । पौरख गर्ने कला सिकाएँ । उनीहरूभित्र आफ्नै देशको सेवा गर्ने भावना पैदा गराएँ । अहिले छोराहरू विदेश पलायन हुने कुरा रतिभर सोच्दैनन् । अरूलाई पनि पलायन नहुन सल्लाह दिन्छन् । अहिले उनीहरू नेपालमा जताततै सम्भावनाहरू देख्छन् । त्यहीअनुसार परिश्रम गर्ने भएका छन् । उनीहरूलाई निरन्तर कर्म गर्ने बानी परेको छ ।

मानव समुदायको विकास भनेको नै हाम्रा सन्तानहरूलाई अगाडि बढ्न सहज बनाउने हाम्रा क्रियाकलापहरू हुन् । तपार्इं के बन्दै हुनुहुन्छ र भोलि के बन्नुहुनेछ या भोलि तपार्इंका सन्तान के बन्नेछन् भन्ने सोच र चेतनालाई तपार्इंको बानी व्यवहारले निर्धारण गर्छ । म असल मानिस बनेर समाजमा चिनिन चाहन्थे । त्यसको निम्ति मैले गरेका हरेक कामले समाजलाई फाइदा होस् र नयाँ पुस्तालाई प्रेरणा मिलोस् भन्ने चाहन्थे । नयाँ पुस्ता मबाट प्रेरित बन्न सकुन् भनेर म अमेरिकाबाट फर्किएँ । मैले अरूलाई बदल्न सुरु आफैँबाट गरेँ । सबै मानिस खुसी भएर ज्यून सकुन् भन्ने मेरो चाहना छ । त्यसकारण मैले म र मेरा सन्तानभन्दा बढी असल र खुसी समाजको कल्पना गरेको छु । म गर्वसँग भन्छु मैले कल्पना गरेको असल समाज निर्माण गर्न मेरा दुवै छोराहरू सत्कर्म र सत्मार्गमा लम्किरहेका छन् । चम्किरहेका छन् ।

पछिल्लो समय युवाहरूमा निराशाको मानसिकता छ । आफ्नै देशमा जोश, जाँगर र श्रम गर्ने चाहना छैन । व्यवसायको सुरुआत गर्न इच्छाशक्ति छैन । अनुकरणीय काम गर्न प्रेरणा छैन । नैतिक शिक्षाको पाठशाला छैन । म भन्छु, आमा फेर्न मिल्दैन । सुधार्न त अवश्य सकिन्छ । त्यसका लागि इमानदार हुनुपर्छ । कुनै व्यक्ति इमानदार भएर आफ्नो कर्ममा लाग्यो भने ऊ मात्र सफल हँुदैन । समाज र देशलाई पनि सम्य र समृद्ध बनाएर अगाडि बढाउन सक्छ । त्यति मात्र होइन कुनै दिन मुलुकको बागडोर सम्हालेर अगाडि बढाउन सक्छ । त्यसकारण सबै चामत्कारिक कर्महरूको जग नै इमानदारी हो । अनुशासन हो । आत्मबल र आत्मविश्वास हो । कामप्रतिको लगाव हो ।

हाम्रो देशमा सबथोक छ । सुनको देशमा बसेर हामी सुनको थालमा भिख माग्छौँ । हामीले कसैसँग माग्नु पर्दैन । यहाँ जे काम गरे पनि पैसा आउँछ । हिमाल देखाउँदा पनि पैसा आउँछ । झारपात र किरा फट्यांग्रा देखाए पनि पैसा आउँछ । पानी बेचे पनि पैसा आउँछ । विदेशीलाई घुमाए पनि पैसा आउँछ । हाम्रो देशमा जताततै पैसा छ । त्यसकारण मेरो पहिलो सपना भनेकै पर्यटनको विकास हो । पर्यटनको विकासले सबै क्षेत्रको विकासको ढोका खोल्छ । आर्थिक आधार तयार पार्छ । आर्थिक रूपमा मुलुक बलियो बन्यो भने देशमा अरू विकासका आधारहरू पनि बलिया हुन्छन् । मुलकलाई समृद्ध बनाउने धेरै प्राकृतिक स्रोत साधानहरू हाम्रै देशमा छन् । तर, तिनको उचित व्यवस्थापन र परिचालन गर्न हामीसँग भिजनको कमि छ । हामीले नयाँ पुस्तालाई संकल्प र सपनासहितको योजना बनाएर स्वदेशमा नै पौरख गर्न सस्कार सिकाऔँ ।

प्रतिक्रिया