विदेश नजाने संकल्पसहित सामुहिक केरा खेती

बारा । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–११ का केही युवाहरूको समूह मिलेर विदेश नजाने संकल्प लिएर अहिले स्वदेशमै सामुहिक रूपमा कृषि पेसामा लागेको छ । आफ्नै ठाउँमा केही गर्ने अभिलाषाले जितपुरसिमरा उपमहानगरपालिका–११ का सन्तोष यादव लामो समयदेखि कृषि व्यवसाय गर्दै आएका छन् ।

विदेशमा गएर पसिना बगाउनुभन्दा स्वदेशमै केही गर्न सक्ने संकल्प लिएर कृषि पेसामा लागेका सन्तोष यादवसहित ५ जना मिलेर अहिले १० बिघा जग्गा भाडामा लिएर केरा खेती गरेका छन् । केरा खेतीमा लगाएको आम्दानी डुब्ने हो कि भन्ने डरले भने उनीहरूलाई सताइरहेको छ । केरा खेतीमा लाखौँको लगानी ग¥यौँ तर यहाँ सिँचाइ र विद्युत्को राम्रो पहुँच नभएका कारण आफूहरूले लगाएको केरा सुक्न थालेको सन्तोष यादवले बताए । बिगत लामो समयदेखि स्वदेशमै कृषि पेसा गर्दै आएको सन्तोष यादवले यस वर्ष केरा खेतीमा लगाइएको लगानी डुब्ने डरले हामीलाई सताइरहेको बताए ।

नेपाल कृषि प्रधान देश भए पनि यहाँ किसानलाई समस्या नै समस्याको सामना गर्नुपर्ने हुन्छ । स्वदेशमै कृषि पेसामा लागेका कति जना त अहिले विस्थापित भएर विदेशसमेत गएर काम गरिरहेको छ । जितपुरसिमरा उपमहानगरको सहयोग र कृषि ज्ञान केन्द्र बाराको सहयोगमा १० बिघा जग्गा रिलिजमा लिएर सन्तोष यादव र र सुरेशप्रसाद यादवसहित ५ जनाले केरा खेती गरेका छन् । तर, सिँचाइ र विद्युत्को राम्रो व्यवस्था नभएका कारण अहिले पानीको कमीले केराको बोटहरू सुक्न थालेपछि उनीहरू चिन्तामा परेका छन् ।

विदेश जानुभन्दा राम्रो स्वदेशमै केही पैसा ऋण लिएर केरा खेती गर्यौँ तर केरालाई आवश्यक पर्ने पानी हामीले दिन सकेका छैनौँ जसका कारण अहिले केराका बोटहरू सुक्न थालेको सुरेश प्रसाद यादवले बताए । दिनभरी मोटर चलाएर पानी दिनुपर्छ । तर, विद्युत्को भोल्टेज पर्याप्त नभएका कारण मोटर पनि खराब हुने गरेकाले केरा खेतीमा लगाएको आम्दानी डुब्ने डरले सताइरहेको यादवले बताए ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र सिमरामा पटकपटक २ फेज लाइनलाई ३ फेज बनाउनका लागि अनुरोध गर्दासमेत अहिलेसम्म ३ फेजको लाइन जडान नगरेका कारण केरा खेतीमा उनीहरू असफल हुने डरले सताइरहेको छ ।

यता नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र सिमराले बजेटको अभाव देखाउँदै ३ फेज लाइन जडान गर्न नसकेको बताए । बजेट आउने बित्तिकै आफूहरूले ३ फेज लाइन जडान गर्ने वितरण केन्द्र प्रमुख रुमेश रुपाखेतीले बताए ।

जितपुरसिमरा उपमहानगरपालिकाले केरा खेतीमा सहयोग गरे पनि सिँचाइको व्यवस्थापनमा खासै पहल गर्न सकेको छैन । जितपुरसिमरा उपमहानगरका हजारौँ किसानले सिँचाइका लागि पर्याप्त भोल्टेजको विद्युत् जडान नभएको कारण अहिले समस्याको सामना गरिरहेका छन् ।

पेट्रोलियम पदार्थको मूल्य उच्च रहेको कारण दमकल प्रयोग गरेर सिँचाइ गर्ने अवस्था नरहेकोले किसानहरू अहिले सिँचाइका लागि वर्षाको पर्खाइमा रहेका छन् । गर्मी बढेसँगै पानीको मुहान सबै सुक्न थालेपछि बाराका किसानहरू अहिले पीडा खेप्न बाध्य भएका छन् ।

प्रतिक्रिया