पेट्रोलियम गाडीमा कर घटाए मात्र अटो व्यवसाय चलायमान हुन्छ

म २४ वर्षदेखि यो अटो व्यवसायमा छु । अहिलेसम्म पेट्रोल डिजेल गाडीमा कर घटाएको कुनै रेकर्ड नै छैन । कर बढेको बढ्यै छ । यदि सरकारले राजस्व उठाउने हो, अटो बजार जोगाउने हो भने इतिहासमै पहिलोपटक पेट्रोल डिजेल गाडीमा कर घटाउनुपर्छ । बजार जोगाउनै चुनौती छ ।

विवेक बिजुक्छे, प्रमुख कार्यकारी अधिकृत – पूजा इन्टरनेसनल नेपाल प्रालि

देशले उठाउने कुल राजस्वमा ४० प्रतिशत योगदान रहेको अटोमोबाइल क्षेत्र पछिल्लोसमय समस्याग्रस्त छ । विभिन्न कारणले आर्थिक मन्दी आएसँगै यो क्षेत्रको गति पनि सुस्त छ । केही समय अगाडि सरकारले अटोमोबाइल क्षेत्रलाई ‘अनुत्पादक क्षेत्र’ भनेपछि बैंक वित्तीय संस्थाहरूबाट प्रवाह हुने कर्जामा पनि कडाइ गरेपछि यो क्षेत्र थप समस्यामा परेको थियो । त्यसपछि सरकारले विद्युतीय गाडीलाई प्राथमिकता दिने नीति लिएसँगै नेपालमा विद्युतीय गाडीको व्यापार बढेको छ, भने पेट्रोल/डिजेल गाडीको व्यापार १५ प्रतिशतमा झरेको छ । यसै सन्दर्भमा विशाल ग्रुप अन्तर्गतको पूजा इन्टरनेसनल नेपाल प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विवेक बिजुक्छेसँग सौर्य दैनिकका लागि केशव भट्टले गरेको कुराकानीको सम्पादित अंश :

अटो व्यवसायको पछिल्लो अवस्था कस्तो छ ?

विश्वको तथा नेपालको इतिहासमा प्रथमपटक पेट्रोलियम तथा डिजेल गाडीहरूलाई विद्युतीय गाडीले विस्थापित गर्ने अवस्था आएको छ । नेपालको पछिल्लो तथ्यांकले पनि त्यही देखाउँछ । पछिल्लो समय व्यापारमा पनि विद्युतीय गाडीका विक्रेता पेट्रोल डिजेल गाडीका विक्रेताभन्दा उत्साही छन् । यही वर्ष पनि ७० प्रतिशत गाडी विद्युतीय नै आयात भएका छन् । त्यसमा २ खालको कुरा छ, जस्तै विद्युतीय गाडीको कर कम भएका कारण आयात बढेको भन्ने पनि छ, तर अब कर बराबर भए पनि विद्युतीय गाडीको व्यापार घट्लाजस्तो छैन । त्यस्तै पेट्रोल डिजेलभन्दा विद्युत्बाट चल्ने गाडीको यात्रा धेरै सस्तो छ । वातावरणको हिसाबले पनि राम्रो भएकोले पनि ग्राहकको रोजाइमा विद्युतीय गाडी परेको हो । साना सवारी साधन विद्युतीय वा पेट्रोल जे किन्दा पनि आयात मूल्य बराबर नै छ ।

विद्युतीय गाडीको बजार ह्वात्तै बढ्नुको कारण के होला ?

सुरुमा ग्राहकले विद्युतीय गाडीलाई पत्याएका थिएनन् । यसको रेन्ज के होला ? ब्याट्री के होला ? कति टिकाउ होला ? भन्ने जस्ता प्रश्न थिए । तर यो पछिल्लो दुई वर्षमा जति पनि विद्युतीय गाडी बिक्री भए ती गाडीबाट मानिसहरूले दुःख पाएनन् । बरु पूर्वाधार कमी जस्तै चार्जिङ स्टेसन नभएर समस्या भयो होला तर प्राविधिकरूपमा कुनै पनि विद्युतीय गाडीले ग्राहकलाई दुःख दिएन । त्यसकारण पनि विद्युतीय गाडीको बजार ह्वात्तै बढेको हो । पछिल्लो एक वर्ष यता बिक्री भएका कुल सवारी साधनकोे ७० प्रतिशत विद्युतीय नै छन् ।

चालु आर्थिक वर्षको ८ महिनामा ६ हजार ४३५ विद्युतीय गाडी (कार, जिप र भ्यान) आयात भएका छन् । अहिले नेपालमा मासिक औसत ८०४ वटा विद्युतीय गाडी भित्रिने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ । नेपालमा सबैभन्दा धेरै चीनबाट ‘इभी’ आयात हुने गरेको छ । यो ८ महिनामा आधाभन्दा बढी ३ हजार ९६९ विद्युतीय सवारी साधन चीनबाट आयात भएको तथ्यांक छ ।

तपाईंहरूले बेच्ने भक्सवागनका गाडीहरूको बजार कस्तो छ ?


विशाल ग्रुपले भक्सवागन, रेनो, माज्दा, मेक्सस, ग्रेटवाल मोटर्स, सुजुकी मोटरसाइकल, कोवेल्को हेभी इक्युपमेन्टसम्म कम्पनीले नेपालमा बिक्री गर्दै आएको छ । अटोमोबाइलमा लामो यात्रा गरेको विशाल ग्रुपअन्तर्गत गाडीको व्यापार सहज होस् भनेर कम्पनीहरू अलग अलग छन् । जसमध्येको एक मुख्य हो पूजा इन्टरनेसनल नेपाल प्रालि । यो सँगै पूजा कन्स्ट्रक्सन नेपाल प्रालि पनि रहेको छ । भक्सवागन भनेको विश्वको तीन प्रमुख ब्रान्डमध्येको एक हो । विश्व चर्चित यो ब्रान्डले धेरै खालका गाडी ल्याएको छ । यो कम्पनीले पनि सन् २०३५ सम्ममा सम्पूर्ण गाडीहरू विद्युतीय मात्र उत्पादन गर्ने लक्ष्य लिएर अगाडि बढिरहेको छ । फक्सवागन कम्पनीका उत्पादनलाई नेपालमा प्रिमियम गाडीका रूपमा लिने गरिन्छ ।


विशाल ग्रुपद्वारा सञ्चालित पूजा इन्टरनेसनलले सन् २०१० सेप्टेम्बर १० मा भक्सवागनको सोरुम स्थापना गरेको हो । त्यसयता भक्सवागन कम्पनीका विभिन्न ब्रान्डका ४८७ सवारी विक्री गरिसकेकोे छ । पूजा इन्टरनेसनलले हालसम्म नेपाली बजारमा भक्सवागनका टुवारेग (एसयुभी), टिगुआन (क्रसओभर), पसाट (लक्जरी सेडान), बिटल, टुरान (मल्टिपर्पोज), जेट्टा, गल्फ (प्रिमियम ह्याजब्याक), पोलो र भेन्टो गरी विभिन्न सेगमेन्टका गाडी भित्र्याइसकेको छ ।

भक्सवागनका विद्युतीय गाडी नेपालमा किन ल्याउनु भएन ?

बजारमा जति पनि विद्युतीय गाडी आएका छन्, तीमध्ये धेरैजसो चाइनिज प्रविधिमा आधारित छन् । विद्युतीय गाडीमा चाइना धेरै अगाडि बढिरहेको छ, तर जर्मन प्रविधिका गाडीहरू उत्पादन गर्ने भग्सवागन पब्लिक कम्पनी भएको हुनाले त्यसका धेरै नै दायित्वहरू छन् । सुरक्षासँग सम्बन्धित दायित्वहरू पनि छन् । अरू विद्युतीय गाडी नआउँदै भक्सवागनले अस्ट्रेलिया लगायतका देशहरूमा विद्युतीय गाडी बेचिरहेको थियो । यो कम्पनीका केही सर्तहरू हुन्छन्, त्यस्ता सर्तहरू पूरा नगरी त्यो देशमा गाडी पठाउँदैन । जस्तो जुन देशमा गाडी बेच्ने हो त्यो देशमा लिथियम आयन ब्याट्री डिस्पोजलको व्यवस्था के छ ?, आयन ब्याट्रीको कारण आगलागी भएमा निभाउन फायर डिपार्टमेन्ट कस्तो छ ? सडक कत्तिको अनुकूल छ ? यस्ता खालका सर्तहरू भग्सवागनले राखेको थियो । हामीले ती सर्त पूरा गर्दा गर्दा धेरै समय लागेको हो । यो ब्रान्डका गाडी बेच्न उसका सर्तहरू पूरा गर्न नसकेको कारण हामीले गाडी भित्र्याउन नसकेका हौँ । अब चाँडै ल्याउँछौँ ।

विद्युतीय माइक्रो भ्यान त बेचिरहनुभएको छ नि ?

विशाल ग्रुप अन्तर्गतकै पूजा कन्ट्रक्सन नेपाल प्रालि छ, जुन मैले नै हेर्दै आएको छु । त्यसमार्फत हामीले एसआरएम ब्रान्डको ११ सिटर नयाँ विद्युतीय भ्यान नेपालमा बेचिरहेका छौँ । यो विद्युतीय माइक्रोबसमा विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी सिएटिएलले उत्पादन गरेको लिथियम आयन फोसफेट ब्याट्री प्रयोग गरिएको छ । एसआरएमको एक्स ३० एल विद्युतीय माइक्रोमा ४१ दशमलव ८६ किलोवाट आवरको ब्याट्री रहेको छ । एसआरएम एक्स ३० एलले एकपटकको फुल चार्जमा ३०० किलोमिटर रेन्ज दिन्छ । आउने आर्थिक वर्षमा ६०० वटा बेच्ने लक्ष्य राखेका छौँ । यसको सुरुआत दीगो भन्ने कम्पनीले गरेको हो, अहिले हामीले लिएका हौँ । यो ११ सिटर भ्यानले टाटासुमो, विंगरजस्ता गाडीहरूलाई विस्थापित गरिरहेको छ ।

कस्तो छ व्यापार ?

हामीले बेच्ने पेट्रोल डिजेल गाडीको व्यापार चौपट छ, ९० प्रतिशत व्यापार खस्केको अवस्था छ । भग्सवागनको व्यापार पनि एकदम कम छ । विद्युतीय गाडीको व्यापार एकदम राम्रो छ ।

वार्षिक कति गाडी बेच्नुहुन्छ ?

हामीले बजार राम्रै भएको समयमा ग्रुपबाटै २ हजार ५०० गाडीहरू बेच्थ्यौँ । पछिल्लो २ वर्ष यता बजार घटेको छ । मैले हेर्ने व्यापारअन्तर्गत आगामी वर्ष वार्षिक १ हजारजति गाडी बिक्रीको लक्ष्य छ ।

फाइनान्सको व्यवस्था कस्तो छ ?

पहिला फाइनान्सको राम्रो सेवा सुविधा हुने गर्दथ्यो, तर हाल नेपाल राष्ट्र बैंकको निर्देशनले बैंक र फाइनान्सहरूको नीतिले गर्दा प्रभावित भएको छ । फाइनान्सकै कारण पनि गाडीको बिक्री अहिले एकदमै कम छ । अर्कोतिर सरकारले विद्युतीय गाडी र पेट्रोल गाडीमा भेदभावको नीति राखेको छ । विद्युतीय गाडीलाई ८० प्रतिशत फाइनान्सको सुविधा हुने, पेट्रोल गाडीलाई ५० प्रतिशत पनि नहुने । यसले गर्दा पनि विद्युतीय गाडीको बजार बढेको पनि हो । पेट्रोल डिजेल गाडीको बजार खस्किएकै कारण सरकारको राजस्व पनि कम उठेको हो ।

समस्या र चुनौती के के छन् ?

म २४ वर्षदेखि यो अटो व्यवसायमा छु । अहिलेसम्म पेट्रोल डिजेल गाडीमा कर घटाएको कुनै रेकर्ड नै छैन् । कर बढेको बढ्यै छ । यदि सरकारले राजस्व उठाउने हो, अटो बजार जोगाउने हो भने इतिहासमै पहिलोपटक पेट्रोल डिजेल गाडीमा कर घटाउनुपर्छ । बजार जोगाउनै चुनौती छ ।

विद्युतीय गाडीको प्रमुख चुनौती भनेको दक्ष जनशक्ति नै हो । विद्युतीय गाडीको बारेमा जानकार दक्ष जनशक्ति एकदमै कम छ । त्यस्तै, नेपालमा आइरहेका अधिकांश गाडी चीनमा बनेका छन् । जापानी तथा जर्मनी कम्पनीले दीर्घकालीन सोचकासाथ गाडी बनाउँछन्, भने चीनमा बन्ने गाडीको उत्पादन २–३ महिनामै बन्द गराएर नयाँ उत्पादनतर्फ लाग्न सक्छन् । चीनमा पनि राम्रा ब्रान्ड हेरेर गाडी खरिद गर्नुपर्दछ ।

बजेट र मौद्रिक नीति आउँदै छ, तपाईंको सुझाव के छ ?

हामी भनेको सुनको अण्डा दिने हाँस हो । हाँसलाई नै काटेर खाने नीति सुधारौँ भन्न चाहन्छु । विद्युतीय गाडीमा कर नबढाई पेट्रोल गाडीमा कर घटाउनुपर्यो । ८० प्रतिशत फाइनान्सको व्यवस्था गर्नुपर्यो । कर घट्यो, फाइनान्सको सुविधा बढ्यो भने मात्र बजार चलायमान हुन्छ । व्यवसाय चलायमान भए मात्र सरकारले राजस्व पाउँछ, देश चल्छ । अहिले व्यवसायीहरू गाडी मगाउने मुडमा छैनन् । सरकारले विद्युतीय गाडीको कर बढाउँछ भनेर अहिले व्यवसायीले भन्सारमा ल्याएर गाडी थुपारेका छन् । कर बढे पनि ९ महिनालाई पुग्ने गाडी भन्सारमा ल्याइसकेका छन् । कर बढाए पनि सरकारले बढेको राजस्व पाउने सम्भावना छैन । पेट्रोल डिजेलका गाडीको ८५ प्रतिशत आयात बन्द भएको छ । १५ प्रतिशत गाडी मात्र आइरहेका छन् । विद्युतीय गाडीको आयात तथा बजारचाहिँ बढिरहेको छ ।

देशको अर्थतन्त्र लयमा ल्याउनका लागि के गर्नुपर्ला ?

यातायात क्षेत्रको कर घटाएर ८० प्रतिशत फाइनान्सको सुविधा दिनुपर्छ । सहकारीको कारण देश आर्थिक संकटमा गएको हो । सहकारीहरू संकटमा जानुमा सबैभन्दा ठूलो भूमिका रियल स्टेटको बिजनेसका छन् । राष्ट्र बैंकको एकीकृत निर्देशन,२०८० अनुसार बैंक तथा वित्तीय संस्थाहरूले आफूले प्रवाह गरेको कुल ऋणको बढीमा ३० प्रतिशतसम्म मात्र घरजग्गामा लगानी गर्न पाउँछन् । यो नीतिको कारण सहकारी क्षेत्र संकटमा गएको हो । राष्ट्र बैंकले ८० प्रतिशत ऋण लगानी घरजग्गामा गर्न मिल्ने नीति बनाइदिए अर्थतन्त्र लयमा आउँछ ।

प्रतिक्रिया