लोसपाका सांसद शर्मा निलम्बित

महोत्तरी । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले लोसपाका सांसद अभिराम शर्मालाई निलम्बन गरेका छन् ।
सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका मधेस प्रदेश सभा सदस्य तथा संसदीय दलका नेता अभिराम शर्मालाई निलम्बन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । शसस्त्र प्रहरी असई थमन विकको हत्या घटनाको कसुरमा ७ जनालाई जन्मकैदको सजाय र सोही घटनाका आरोपितहरू लक्ष्मी महतो र पवन कापरलाई ०८० मंसिर २८ गते महोत्तरी जिल्ला अदालतले सफाइ दिने फैसला सुनाएको छ ।

न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले पुर्पक्षका लागि थुनामा रहेका प्रदीप साह माझी, सञ्जय कुमार साह, मोहन ठाकुर, जलेश्वर नगरपालिकाका पूर्वनगरप्रमुख शंकर शाही भन्ने रामशंकर मिश्र, प्रदेश सांसद अभिराम शर्मा, लोसपा नेता सुरेश पाण्डेय र धर्मेन्द्र रायलाई जन्मकैदको फैसला सुनाएको छ । सोही घटनामा संलग्न रहेको आरोपमा सांसदबाट निलम्बित रहेका लक्ष्मी महतो कोइरी र पुर्पक्षको लागि थुनामा रहेका पवन कापरलाई अदालतले अभियोग दावीबाट सफाइ दिएको छ ।

जन्म कैदको सजाय तोकिएका ७ जनालाई एम्बुलेन्समा आगलागी गरेको अर्को मुद्दामा थप ६ महिना कैद र १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला भएको छ । उक्त क्षतिपूर्तिको रकम नेपाल सरकारलाई बुझाउनुपर्ने फैसला गरिएको स्रेस्तेदार नुतन शर्माले बताइन् ।

सोही मुद्दामा रमेशप्रसाद साह, सतेन्द्र चौधरी भन्ने सविन्द्र चौधरी, चन्देश्वर साह मेहत्तरी, राजु चौधरी भन्ने राजा चौधरी, देवेन्द्र चौधरी, नरेश साह, रामराजा साह, गोलु साह हरिओम कुमार भगत, रविन्द्र राम चमार, रंजित साह, विक्की साह, फुले यादव, रोहित कुमार शर्मा, ललवा भन्ने लालबाबु बिन, शम्भु साह, अनिल ठाकुर, देवेन्द्र यादव र कौशल कुमार यादवको हकमा मुद्दा मुल्तबीमा राख्ने फैसला भएको छ ।

ममता विश्वकर्मा

महाेत्तरी

प्रतिक्रिया