निषेधाज्ञा उल्लंघन र मोटो रकम असुल्दै मालपोत कार्यालय चन्द्रनिगापुरबाट कारोवार सुरु

रौतहट । कोभिड–१९ का कारण बन्द रहेको मालपोत कार्यालय चन्द्रनिगाहपुरले गत असार ८ गतेदेखि खुलेपछि तोकिएको सूचनाको मापदण्ड विपरित सेवा–कारोबार सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले गत असार ७ गते निर्णय गरी जिल्लाका सबै सरकारी कार्यालयहरुले आलोपालो व्यवस्था मिलाई काम सुचारु गर्न निर्णय गरेकोमा मालपोत कार्यालय चन्द्रनिगाहपुरका कर्मचारीहरुले सेवाग्राहीसँग मोटो रकम असुल्दै मापदण्ड विपरित कारोवार सुरु गरेका हुन् ।

मालपोत काार्यालय चन्द्रनिगाहपुरमा सेवाग्राहीको बढी भिडभाड हुने भएकाले जिल्ला प्रशासन कार्यालय रौतहटले पालिका अनुसारको पालो लगाई कार्य आरम्भ गर्न निर्देशन दिए पनि यहाँका कर्मचारीले सो निर्देशनलाई चुनौति दिँदै रकम असुल्दै कारोवार सुरु गरेको पाइएको हो ।

मालपोत कार्यालय चन्द्रनिगाहपुरले असार ७ गते सुचना टाँस गरी आईतवार र सोमवार फतुवा विजयपुर नगरपालिका, वृन्दावन नगरपालिका र कटहरिया नगरपालिका, मंगलवार र वुधवार चन्द्रपुर नगरपालिका, विहिवार र शुक्रवार गुजरा नगरपालिकाको कार्य गर्ने गरी सूचना टाँस गरे पनि विहिवार चन्द्रपुर नगरपालिका भित्रका १५ वोटाभन्दा बढी लिखत पारित गरेको पाइएको छ ।

अति आवश्यक कामका लागि तोकिएको पालो नभएका पालिकाका सेवाग्राही आउँदा आज पालो छैन भनि फर्काउने गरेको र मोटो रकम असुलेर पालो नभएको पालिकाको काम गरेको एक लेखापढी व्यवसायीले बताए ।

विहिवार मालपोत कार्यालय चन्द्रनिगाहपुरमा सुरक्षा मापदण्डको कुनै ख्याल नगरी सेवाग्राहीको भीड लागे पनि कार्यालयले कुनै नियन्त्रण नगरेको एक सेवाग्राहीले बताए । यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवसँग सोधपुछ गर्दा मापदण्ड विपरित कार्यालय सञ्चालन गरिएको पाइएमा कारवाही हुने बताए ।

पछिल्लो समय रौतहटमा कोरोना संक्रमितको संख्या कमी भए पनि पूर्णरुपमा नियन्त्रण हुन सकेको छैन भने सबैभन्दा बढी चन्द्रपुर नगरपालिकामा कोरोना संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया