उपनिर्वाचनमा २३ सय प्रहरी खटाइने

काठमाडौं । भोलि (१५ वैशाखमा) हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा भएको नेपाल प्रहरीले जनाएको छ । निर्वाचन सुरक्षाबारे जानकारी दिन प्रहरी प्रधान कार्यालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी भीमप्रसाद ढकालले सो जानकारी दिएका हुन् ।

उपनिर्वाचनको सुरक्षाका लागि २ हजार ३८७ प्रहरी परिचालन गरिने उनले बताए । जसमध्ये इलाममा १ हजार ३६३ र बझाङमा १ हजार २४ जना प्रहरी परिचालन हुनेछन् । उनले मतदान स्थलको अवस्थाका आधारमा प्रहरी परिचालन गरिने ढकालले बताए ।
इलामका सामान्य मतदान केन्द्रमा ८ देखि १३ जना, संवेदनशील मतदान केन्द्रमा ९ देखि १४ जना र अतिसंवेदनशील मतदान केन्द्रमा १२ देखि १७ जना सुरक्षाकर्मी खटाइनेछ । इलाममा ३९ मतदानस्थल सामान्य, २१ संवेदनशील र १९ मतदानस्थल अतिसंवेदनशील रहेको प्रहरीले जनाएको छ ।

यस्तै, प्रहरीले उपनिर्वाचनमा जातीयता र धार्मिक कारण सुरक्षा चुनौती हुन सक्ने आकलन गरेको छ । निर्वाचनलाई जातीय, धार्मिक, साम्प्रदायिक तथा क्षेत्रीयकरण गर्ने कार्य भइरहेको भन्दै यसबाट निर्वाचन प्रभावित हुन सक्ने प्रहरीको अनुमान छ ।
इलाममा पहिचानवादीका कारण केही सुरक्षा चुनौती हुन सक्ने ढकालले बताए । ‘इलाममा पहिचानवादीका कारण केही सुरक्षा चुनौती हुन सक्छ । हामीले विशेष सुरक्षा योजना बनाएका छौँ,’ उनले भने । विगतका निर्वाचनको समयमा बुथ कब्जा गर्ने, पैदल तथा सडकमार्गमा अवरोध गर्ने, डर–धम्की दिने, अफवाह फैलाउने, आचारसंहिताको उल्लंघन गर्नेलगायत क्रियाकलाप भएको भन्दै यसप्रति प्रहरी सजग रहेको उनले बताए ।

इलाम–२ बाट निर्वाचित संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुने लागेको हो भने प्रदेशसभा सदस्य रहेका बझाङ–१ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको गत असार २५ मा सवारी दुर्घटनामा परेर निधन भएको थियो ।

संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधिसभा वा प्रदेशसभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो, सोही प्रक्रियाद्वारा पूर्ति गरिने व्यवस्था छ ।

सेना परिचालनको अनुमति

यसैबीच, भोलि हुने उपनिर्वाचनको सुरक्षाका लागि नेपाली सेना परिचालन हुने भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालन गर्न स्वीकृति दिएका हुन् ।

स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न गर्नका लागि सुरक्षा निकायहरू समन्वयात्मक रूपमा परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्को यही वैशाख १० को बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले सोही दिन निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रिया