खोप माग्दै निर्माता संघ

 

काठमाडौं । कोरोना कहरले चलचित्र क्षेत्र संकटग्रस्त बनेको छ । यससम्बन्धी सम्पूर्ण काम अहिले ठप्प छन् । यसैबीच चलचित्र निर्माता संघले पनि ४५ सयदेखि ५ हजार चलचित्रकर्मीलाई कोरोनाको खोप उपलब्ध गराउन स्वास्थ्यमन्त्री शेरबहादुर तामाङसँग माग गरेको छ । संघका अध्यक्ष आकाश अधिकारीले मन्त्रीलाई चलचित्रकर्मीलाई तत्कालै कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन माग गर्दै ज्ञापन–पत्र बुझाएका छन् । उनले चलचित्र क्षेत्रमा काम गरिरहेका करिब ५ हजार चलचित्रकर्मीलाई सहज रुपमा खोप उपलब्ध गराउन आग्रह गर्दै चलचित्र क्षेत्रलाई चलायमान बनाउन सरकारले पहल लिनुपर्ने बताएका छन् । ज्ञापन–पत्रमा चलचित्रकर्मीले अहिलेसम्म खोपको पहिलो डोज पनि प्राप्त नगरेको भन्दै निर्माता संघले अग्रपंक्तिमा रहेर यो महामारीमा चलचित्रकर्मीले काम गरेको जानकारी समेत गराएका छन् ।

अध्यक्ष अधिकारीले चलचित्रकर्मीलाई खोप उपलब्ध गराएपछि सरकारका विभिन्न संयन्त्रसँग हातेमालो गर्दै कोरोना नियन्त्रणका लागि चलचित्रकर्मीले खट्ने बताए । कोरोनापश्चात् लगाइएको बन्दाबन्दी र निषेधाज्ञाका कारण ठप्प चलचित्र उद्योगलाई गति दिनका लागि पनि खोप उपलब्ध गराउन उनले जोड दिए । मन्त्री तामाङले निर्माता संघको मागमा आफू सकारात्मक रहेको बताए ।

केही दिनअघि पनि चलचित्र विकास बोर्डले करिब ३ हजार चलचित्रकर्मीलाई कोरोनाको खोप उपलब्ध गराउन माग गरेको थियो । बोर्डका अध्यक्ष दयाराम दाहाल र सदस्य राज कटुवालले स्वास्थ्यमन्त्री तामाङलाई भेटेर जतिसक्दो चाँडो खोप उपलब्ध गराउन माग गरेका थिए । बोर्डको मागमा स्वास्थ्यमन्त्री सकारात्मक रहेको बताइए पनि अहिलेसम्म चलचित्रकर्मीका लागि सरकारले खोप उपलब्ध गराउने बारेमा केही बोलेको छैन ।

प्रतिक्रिया