जिल्लामा संक्रमण दर घट्दै

 

दैलेख । जिल्लामा कोरोना भाइरसलाई जितेर संक्रमण मुक्त हुनेको संख्या २ हजार ८ सय नाघेको छ । दैलेखमा पहिलोपटक ०७७ जेठ ५ गते आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय युवकलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । त्यसयता झण्डै एक वर्षको अवधिमा जिल्लामा तीन हजार २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार जिल्लामा विहीबार मात्रै थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ हजार २ सय ५ पुगेको हो । हालसम्म २ हजार ८ सय ६५ जनाले कोरोेनालाई जितेर घर फर्केका छन् ।
अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय १५ छ । ती मध्ये १७ जना मात्रै दैलेख अस्पतालको आइसोलेसनमा उपचाररत छन् । २ सय ९८ घरमै छन् । जिल्लामा कोरोना संक्रमणका कारण हालसम्म २५ जनाले ज्यान गुमाएका छन् । जिल्लामा पछिल्लो चरण कोरोना संक्रिमण घट्दै गएको छ ।

प्रतिक्रिया