विश्वस्तरीय गायन प्रतियोगिता

काठमाडौं । संसारभर रहेका नेपालीभाषी प्रतिभालाई चिनाउने लक्ष्यका साथ ‘एनआरएन द सिंगर’ हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ सो गर्न लागेको हो । प्रवासमा बसेर नेपाली गीत संगीतमा योगदान दिइरहेका प्रतिभाको पहिचान गर्ने गरी आगामी ७ असारदेखि सो सुरु हुने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल र सार्क मुलुकबाहेक सबै राष्ट्रमा छरिएर रहेका १५ वर्षभन्दा माथिका नेपालीभाषीले भाग लिन पाउनेछन् ।

प्रतियोगिताको निर्णायकमा संगीतकार शम्भुजित बाँस्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्वअध्यक्ष तथा नियात्राकार जीवा लामिछाने रहेका छन् । शनिबार उक्त प्रतियोगिताबारे जानकारी दिन आयोजित कार्यक्रममा एनआरएनएका पूर्वअध्यक्ष लामिछानेले भने, ‘एनआरएनए स्थापनाको प्रमुख उद्देश्यमध्ये प्रवासमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको प्रवद्र्धन तथा जगेर्ना गर्नु पनि एक हो । यो कार्यक्रम त्यसतर्फ एक कोसेढुंगा हुने मैले विश्वास लिएको छु ।’ उनले कार्यक्रमलाई सफल पार्न सहयोगका लागि सबैलाई आग्रह गरे । एनआरएनए अध्यक्ष कुमार पन्तले भाषा, साहित्य र संस्कृति नै गैरआवासीय नेपालीको मूल पहिचान भएकाले यो कार्यक्रम आफ्नो प्राथमिकतामा रहेको बताए । उनले भने, ‘संस्कृति बचाउने र नयाँ पुस्तामा त्यसलाई पु¥याउने लक्ष्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो ।’

त्यस्तै, संगीतकार बाँस्कोटाले आफूले जहिले पनि नेपाली संगीतको अन्तर्राष्ट्रियकरण होस् भन्ने चाहेको भन्दै यो कार्यक्रमले अवश्य पनि नयाँ र राम्रा प्रतिभा जन्मने विश्वास व्यक्त गरे । सन् १९८७ मा प्रज्ञा प्रतिष्ठानको डबलीबाट नेपालमै पहिलो पटक रियालिटी सो सुरु गरेको स्मरण गरे । उनले एनआरएनएले पुल जस्तो बनेर संसारभरि साहित्य र संगीतका माध्यमबाट सारा नेपालीलाई समेट्न खोजेको भन्दै प्रशंसा गरे । संगीतकार बास्कोटाले भने, ‘कला। साहित्य तथा संस्कृतिको विकास, संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरणमा समेत यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्नेमा आशा राख्न सकिन्छ ।’

एनआरएनए आइसिसीको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका संयोजक हिक्मत थापाले नेपालमा बढिरहेको कोरोना संक्रमणप्रति एनआरएनए निकै चिन्तित र संवेदनशील रहेको बताए । उनले यो अवस्थामा नेपालमा रहेका सारा आफन्त नेपालीको जीवन रक्षार्थ प्रवासमा एनआरएनएले सक्दो सहयोग संकलन गरी नेपालमा सहयोग पनि पठाइसकेको जानकारी दिए । प्रतियोगिताको मूल आयोजक एवं संस्कृति तथा सम्पदा उपसमितिका संयोजक गोविन्दप्रसाद गौतमले लामो तयारी गरेर कार्यक्रम सार्वजनिक गरिएको बताए । उनले भने, ‘सकेसम्म सबै देशबाट सहभागी गराउने प्रयत्नमा लागिरहेका छौं । यसमा सम्पूर्ण नेपालीभाषीले सहयोग गर्नुहुनेछ भन्ने आशा पनि राखेका छौं ।’ कार्यक्रममा निर्णायक मण्डलका सदस्य गायक राई तथा गायिका बर्देवा, एनआरएनएका उपाध्यक्ष डा बद्री केसी, एनसिसी अमेरिकाका अध्यक्ष सुनील शाह, गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष पूनम गुरुङ तथा सञ्चार विभागका सहसंयोजक चिरञ्जीवी देवकोटाले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया