कसरी समाप्त पारिँदैछ नेपाललाई ?

अञ्जु कार्की

पास्टर तुलसी गिरीले राजा महेन्द्रको महत्वकांक्षालाई प्रयोग गरी बिपी र नरहरिनाथलाई जेलमा कोचेर मौलिक शिक्षा पद्धति ध्वस्त बनाई नेपालमा इसाई शिक्षा पद्धतिको जरो गाडे । बास्तवमा यी दुई जना विद्धान एकआपसमा मिलेको भए तुलसी गिरिको उदय नेपाल दरबारमा हुने थिएन, नेपालको शैक्षिक क्षेत्र यसरी ध्वस्त हुने थिएन ।

 

लामो समय बेलायतको उपनिवेस बेहोर्न वाध्य भएको मुलुक हो दक्षिण अफ्रिका । उपनिवेशमुक्त मलुकमध्ये सबैभन्दा धेरै प्रगति गर्ने तथा शान्ति तथा सुशासन कायम गर्नेमध्ये दक्षिण अफ्रिका विश्वमै अग्रिणी मुलुक मानिन्छ । दक्षिण अफ्रिकाका शैक्षिक संस्था तथा सार्वजनिक स्थानहरूमा ब्यानरका रूपमा टाँसिने गरिएको छ, ‘कुनै पनि मुलुकलाई ध्वस्त पार्न कुनै आणविक अस्त्र वा लामो दुरीसम्म प्रहार गर्ने क्षेप्यास्त्रको प्रयोग गर्नु आवश्यक छैन, यसका लागि त्यो मुलुकको शैक्षिक स्तर ध्वस्त गरिदिए मात्रै प्रयाप्त छ र विद्यार्थीलाई परीक्षामा चिट चोर्न दिए मात्रै पुग्छ, ताकी, त्यस्ता डाक्टरका हातबाट बिरामी मर्नेछन्, त्यस्ता इन्जिनियरबाट निर्मित सार्वजनिक संरचनाहरू मानिसका लागि काल बन्नेछन्, त्यस्ता अर्थविदका हातबाट पैसा हराउनेछ ।’

सौभाग्यबस हाम्रो मुलुक नेपाल अहिलेसम्म कसैको प्रत्यक्ष रूपमा उपनिवेश बनेन । विश्वमा विद्यमान करिब दुई सय मध्ये १० वटा सबैभन्दा पुराना देशहरूको सूचीमा आफ्नो देशको नाम उल्लेख हुनु भनेको हामी नेपालीका निम्ति गौरवको कुरा हो । मल्लकालसम्म विश्वका १० वटा सभ्य, विकसित र समृद्ध मुलुकमध्ये नेपाल पनि पथ्र्यो भन्ने इतिहासविद्हरूको भनाइ छ । मल्लकालमा निर्मित काठमाडौं उपत्यकाका भौतिक संरचनाहरू गहिरिएर अवलोकन गर्नेहरूले इतिहासविद्हरूको त्यो कुरा नकार्न पनि सक्दैनन् । किनकी मल्लकालमा नेपालमा बनेका जे जति भौतिक संरचनाहरू छन्, त्यो कालमा विश्वका थोरै मुलुकमा मात्रै यो स्तरका भौतिक संरचना निर्माण भएको चिनियाँ अध्ययनले पनि देखाएको छ । आजभन्दा पाँच सय वर्षअघि नेपाली इन्जिनियर अरनिको आफ्ना करिब ९० जनाको टोली लिएर चीन गएका थिए । त्यो टोलीले निर्माण गरेका भौतिक संरचनाहरूलाई चीनले आज पर्यान्त विदेशी पर्यटक आकर्षित गर्ने मुख्य माध्यम बनाइरहेको छ । इतिहासको त्यो कालखण्डमा चीन आफैं भौतिक पूर्वाधार निर्माणमा अब्बल मुलु्क थियो, र पनि चीनका पाठ्यपुस्तकहरूमा अहिले पनि अरनिकोबारे उल्लेख गरिएको पाइन्छ ।

मल्लकालमा नेपालमा कस्ता कस्ता इन्जिनियर रहेछन् ? भन्ने थाहा पाउन पाटनको कृष्ण मन्दिर हेरे मात्रै पनि पुग्छ, कान्तिपुरको तलेजु भवानीको मन्दिर तथा प्रांगण हेरे मात्रै पनि पुग्छ, भक्तपुरको न्यातपोल मन्दिर हेरे मात्रै पनि पुुग्छ । कृष्ण मन्दिर, तलेजु र न्यातपोल त उदाहरण मात्रै हुन्, यस्ता अद्भुत संरचना काठमाडौं उपत्यकामा अनगिन्ति छन् ।

इन्जिनियरिङ मात्रै होइन चिकित्सा ज्ञानमा त नेपालले कुनै बेला विश्वकै नेतृत्व गरेको थियो । धन्वन्तरी, च्यवन, कश्यप लगायतका ऋषिहरू नेपालकै गण्डकी क्षेत्रका हुन्, जो आयुर्वेदका प्रवर्तक मानिन्छन् । पौराणिक ग्रन्थमा उल्लेख छ, ‘मरेको मान्छेलाई ६ महिनापछि समेत ब्युँत्याउन सक्ने ताकत उनीहरूले राख्थे ।’ पौराणिक कालको त कुरै छाडिदिऔँ, मल्लकालमा बेलायतमा प्लेगको ठूलो महामारी हुँदा नेपालमै निर्मित औषधि लगेर बिरामीलाई सन्चो बनाइएको तथ्य बिर्सन मिल्दैन ।

अंग्रेजहरूको प्रभाव प्रवेश हुनु अघिसम्म नेपालमा ज्ञानको व्यावहारिक प्रयोग कतिसम्म थियो भन्ने कुरा भोजपुरका बालगुरु षडाननको विषयमा देख्ने, जान्नेहरूले नै बताएका थिए । उनी खराउ लगाएर अरुणनदीको सतहमा तैरेर हिँड्ने गरेको देख्ने जान्नेहरू केही दशक अघिसम्म जीवितै थिए । प्युठानमा रहेका स्वर्गद्वारी प्रभु र भोजपुरमा रहेका बालगुरु षडाननले योग विद्याको माध्यमबाट लामो छलफल गर्ने गरेको देख्नेहरू पनि केही दशक अघिसम्म जीवित थिए । त्यतिबेलाको पिँढीले बताएअनुसार एकपटक आफू बिरामी हुँदा बालगुरु षडाननले योगबलको माध्यमबाट स्वर्गद्वारी प्रभुलाई कुरा राखेछन् । उनले तत्कालै औषधि जम्मा गरेर प्युठानबाट पूर्वतर्फ मानिस पठाएछन् । यता बालगुरुले पनि औषधि लिन भोजपुरबाट पश्चिमतर्फ मान्छे पठाएछन् । उनीहरूको भेट दोस्रो दिन लमजुङको कुन्छा भन्ने ठाउँमा भएछ । चौथो दिन बालगुरुको हातमा औषधि आइपुगेछ ।

प्युठान र भोजपुरको अहिलेको हिसाबले २१ दिनको पैदल दुरी हो । तर, चार दिनमै औषधि आइपुग्यो । जानआउन गरेर ४२ दिने लाग्नेमा चार दिनमै आइपुग्नुको मुख्य कारण अहिले टेलिफोन संवाद भएजस्तै त्यतिबेला योगबलको माध्यमबाट संवाद हुन्थ्यो । अब दुबै टोलीहरूले १२ दिनको बाटो कसरी दुई दिनमा पार गरे ? भन्ने कुरा धेरैलाई पत्यार लाग्दैन । योगको माध्यमबाट वायुसिद्धी प्राप्त गरेको व्यक्ति त्यसरी हिँड्न सक्ने योगी नरहरिनाथले समेत खुलासा गरेका थिए । ०१६ सालमा नेपाली कांग्रेसविरुद्ध गोरखामा काण्ड मच्चाएका योगी नरहारिनाथ चौथो दिन जुम्लाबाट पक्राउ परेका थिए । सामान्यतः गोरखाबाट पैदल हिँडेर जुम्ला पुग्न १६ देखि २२ दिन लाग्छ । योगी नरहरिको क्षमता अनुभव गर्नेहरू त अहिले पनि धेरै छन् । उनको निधन भएको डेढ दशक बितेको छैन ।

सबै क्षेत्रमा यतिधेरै ज्ञान भएको नेपालको अवस्था अहिले कस्तो छ ? नेपालीको ज्ञानको हालत अहिले कस्तो छ ? भनेर तुलना गर्ने हो भने मान्छेहरू बहुलाउन बेर लाग्दैन । हामी नेपाली तृणमूलमा आइपुगेका छौँ । यसको मुख्य कारण भनेकै दक्षिण अफ्रिकाका भित्ताभित्तामा लेखिए जस्तै नेपालको शैक्षिक क्षेत्र ध्वस्त हुनु हो । अंग्रेजहरूले दक्षिण एसियाका अन्य मुलुकमा जस्तो आफूले प्रत्यक्ष शासन गर्न त सकेनन्, तर नेपालको मौलिक शिक्षा पद्धतिलाई ध्वस्त गरेर अप्रत्यक्ष शासन अपनाए ।

मल्ल राजाहरूको पतनपछि केही कालखण्ड नेपाल एकीकरणमै बित्यो । पृथ्वीनारायण शाह र उनकी बुहारी राजेन्द्रलक्ष्मीले एकीकरण बाहेक अरू कुरामा ध्यान दिने समय पाएनन्, नाती रणबहादुर शाहको पालामा आइपुग्दा नेपाल अंग्रेजहरूको अर्धऔपनिवेश बनिसकेको थियो । रणबहादुर शाहको पालादेखि नेपालको दरवारमा अंग्रेजहरूको के कस्तो चलखेल सुरु भयो ? भन्ने कुरा इतिहासविद् बाबुराम आचार्यले ‘अब यस्तो कहिल्यै नहोस्’ भन्ने पुस्तकमा उल्लेख गरेका छन् ।’ शैक्षिक क्षेत्र करिबकरिब बन्द नै भयो । गुरुकुलहरू जीवितै थिए । ब्राह्मणहरूले आफ्नो पेसा जोगाउनका लागि पनि मुलुकका कुनाकाप्चामा आफ्नै बलबुताले गुरुकुल शिक्षालाई निरन्तरता दिएका थिए । विसं १९१० मा जंगबहादुर राणाले आफ्नो परिवारका लागि शिक्षा दिन बेलायती शैक्षिक पद्धति सुरु गरे । यो पद्धति धेरै समयसम्म राणा परिवार तथा भाइभारदारहरूकै निम्ति सीमित रह्यो । राज्यका लागि आवश्यक कर्मचारीहरूको जोहो गुरुकुल तथा संस्कृति पाठशालाका उपजहरूबाटै हुन्थ्यो । त्यतिबेला गुरुकुलबाट चारपासे सम्मको शिक्षा लिनेहरूलाई अहिलेको १२ कक्षा उत्तीर्णको जत्तिकै दर्जा थियो भने ११ पासेको दर्जा अहिलेको स्नातकोत्तर जत्तिकै थियो । दलित र महिलाले शिक्षा आर्जन गर्न नपाउनु, बाहुनबाहेक अरूले ११ पासेसम्मको शिक्षा लिन आवश्यक नठानिनु गुरुकुलका पनि खराब पक्ष थिए, तैपनि गुरुकुल तथा संस्कृत पाठशालाहरूले नेपालको मौलिक शिक्षाको दियोलाई धिपधिपे रूपमा जगाएकै थिए ।

जंगबहादुर राणाका पालामा नेपाल प्रवेश गरेको इसाइ शिक्षा पद्धति घनिभूत भई मौलिक शिक्षा पद्धति मासिएको राजा महेन्द्रका पालादेखि हो । नयाँ गुरुकुल खोल्न नपाउने र साविकका गुरुकुलहरूको शैक्षिक प्रमाणपत्र खोटो हुने निर्णय महेन्द्रका पालामा भयो । राजा महेन्द्र पढेलेखेका विद्वान थिएनन्, स्वअध्यनले नै उनी काबिल बनेका थिए । त्यतिबेलै इसाइ पादरी बनिसकेका पिटर गिरि अर्थात डाक्टर तुलसी गिरिको बहकाउमा राजा महेन्द्र लागे । ०१७ सालपछि महेन्द्रको शासनकाल भरी र वीरेन्द्रको शासनको उत्तरार्धसम्म इसाइ पादरी तुलसी गिरिकै हालीमुहाली नेपालको शासन सत्तामा रहेका कारण मौलिक शिक्षा पद्धति समाप्त हुन पुगेको योगी नरहरि नाथले आफ्ना कृतिमा उल्लेख गरेका छन् ।

आधुनिक नेपालमा विद्धान तथा बुद्धिजीवीको रूपमा धेरैको नाम लिने गरिन्छ, बास्तवमा नेपाली बुद्धिजीवीका रूपमा दुई वटा पात्रलाई लिनुपर्छ । ती पात्रहरू बिपी कोइराला र योगी नरहरिनाथ हुन् । यति धेरै विद्वता हुँदाहुँदै पनि एकअर्कालाई चिन्न भने यी दुई पात्रहरू असफल रहे । बिपीको आधुनिक विद्वतासँग योगी नरहरीनाथ झस्के । योगी नरहरिनाथको विद्वतालाई बिपी कोइरालाले म्याद नाघेको औषधि ठाने । पास्टर तुलसी गिरिले राजालाई प्रयोग गरी बिपी र नरहरिनाथलाई जेलमा कोचेर मौलिक शिक्षा पद्धति ध्वस्त बनाई नेपालमा इसाइ शिक्षा पद्धतिको जरो गाडे । बास्तवमा यी दुई जना विद्वान एकआपसमा मिलेको भए तुलसी गिरिको उदय नेपाल दरबारमा हुने थिएन, नेपालको शैक्षिक क्षेत्र यसरी ध्वस्त हुने थिएन, मौलिक शिक्षा पद्धति नेपालमा पुनः जागृत हुने थियो ।

पश्चिमा शिक्षा स्तरहीन भन्न खोजिएको होइन । यही शिक्षा पद्धतिद्वारा पश्चिमाहरूले संसार जितेका छन् । यो उनीहरूको मौलिक शिक्षा पद्धति हो । आँप र स्याउलाई फलपूmलका राजा भनिन्छ । तर, तराईमा स्याउ फल्दैन, हिमाली क्षेत्रमा आँप फल्दैन । इसाइ शिक्षा पद्धति नेपालका लागि हिमाली क्षेत्रमा रोपिएको आँपजस्तै सावित भएको छ । हिमाल आरोहणसम्बन्धी शिक्षालय तराईको यादव बस्तीमा स्थापना गरियो भने के होला ? माछापालन व्यवसायको शिक्षालय हिमाली क्षेत्रमा खोलियो भने के होला ?

प्रतिक्रिया