खण्डहर बन्दै ऐतिहासिक कोट र दरबार

डोटीकोे पूर्वीचौकी, जोरायल गाउँपालिका तथा दिपायल सिलगढी नगरपालिका लगायतका क्षेत्रमा राजा रजौटाहरूले वर्षाैं पहिले निर्माण गरेका दरबार तथा कोटहरूको उचित संरक्षण तथा सम्बद्र्धन नहुँदा खण्डहर बन्दै गएका छन् । दरबार संरक्षणका लागि यहाँका स्थानीय सञ्चारकर्मीहरूले पटकपटक सरोकारवाला निकायको ध्यानाकर्षण गराएर समाचार सम्प्रेषण गरे पनि स्थानीय तहका जनप्रतिनिधि एवं प्रदेश तथा संघीय सरकारका कुनै पनि निकायले ध्यान दिएकोे छैन । यहाँका स्थानीय तहले नेपालका पुराना राज्य रजौटाहरूका पालमा निर्माण भएका दरबारको समयमै उचित संरक्षण तथा सम्बद्र्धन नगर्दा अस्तित्व मेटिँदै जान थालेको स्थानीयको गुनासो छ ।

दरबारहरूको समयमै उचित संरक्षण गर्न सकेमा यसले नेपालको एतिहासिक संरचनाको संरक्षणका अतिरिक्त आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीय बताउछन् । यस्ता ऐतिहासिक स्थानीय संरचना तथा सम्पत्तिहरूको संरक्षण स्थानीय सरकारले नै गर्नुपर्ने भए पनि उनीहरूको प्राथमिकतामा परेको छैन । जिल्लामा पुराना राज्य रजौटाका पालमा निर्माण गरिएका दर्जर्नौँ दरबार तथा कोट अहिले भग्नावशेषमा परिणत हुँदै जान थालेको दिपायल सिलगढी नगरपालिका–४ दिपायलका स्थानीय भरत द्धारिकाले बताए । उनले भने, ‘पुराना राजाका दरवार उचित संरक्षण नगरिदा खण्डहर बन्दै गएका छन्, समयमै उचित संरक्षण नगर्ने हो भने ती दरबार माटोमा बिलिन हुने देखिएको छ ।’

माटोमा बिलिन हुँदै गएका दरबारको संरक्षणका नाममा वर्षेनी बजेट बिनियोजन हुने गरेको भए पनि त्यस अनुरुपको उपलब्धि भने नखिएको दिपायल पिपल्लाहका स्थानीय तेजबहादुर डुम्रेलले आरोप लगाए । उनले भने, ‘स्थानीय सरकारले दरबार संरक्षण शीर्षकमा वर्षेनी बजेट विनियोजन गर्छ तर त्यो बजेट कहाँ खर्च हुन्छ कसैलाई जानकारी हँुदैन ।’ जिल्लाको जोरायल गाउँपालिका–६ निरौलीमा रहेको नागीमल्ल राजाले निर्माण गरेको दरवार, दिपायल सिलगढी नगरपालिका–३ दिपायल तथा वडा–६ सिलगढीस्थित नाचनथलीमा रहेको डोटी गौडा दरबारको उचित संरक्षण नहुँदा बर्सेनि भत्किँदै जान थालेका छन् । पुरातात्विक महत्व र पर्यटकीय सम्भावना बोकेका यी दरबारहरूलाई समयमै उचित संरक्षण गर्न सकिए ती स्थानीयकै सम्पत्तिका रूपमा रहने निराँैलीका स्थानीय भीमबहादुर बोहराले बताए । उनले भने, ‘डोटीलाई चिनाउने पुराना दरबारको उचित संरक्षण नगरिँदा बर्सेनि लोप हुँदै जान थालेका छन्, पुरातात्विक महत्व र पर्यटकीय सम्भावना बोकेका दरवारको समयमै संरक्षण गर्नु जरुरी भएको छ ।’

यहाँका स्थानीय तहले यी दरबारको संरक्षण तथा सम्बद्र्धनका लागि केही समय पहिले पहल नगरेका होइनन् । तर त्यो कामले निरन्तरता नपाएको भन्दै स्थानीय दुःखी छन् । डोटी राज्यको दरबार अर्थात मूलगढ हालको महाकाली अञ्चलअन्तर्गत डडेलधुरा जिल्लास्थित अजयमेरुमा थियो । जसलाई अजैमरकोट भनिन्छ । पहिला त्यहाँबाट नै डोटी राज्यको राज्य व्यवस्था सञ्चालन हँुदै आएकोमा डोटेली राजा भूपति शाहीको शासनकालमा हालको दिपायलको पूर्वीभागतिर गनैर गौडा नामक डाँडामा राजदरबार अर्थात् कोट निर्माण गरी त्यहाँबाट नै डोटी राज्यको राज्य व्यवस्था सञ्चालन हुने गरेको दिपायल राजपुरका भूपेन्द्र शाहले बताए ।

उनका अनुसार उक्त दरबारलाई तत्कालीन समयमा अद्यावधि दिपायलकोट भनिन्थो । तत्कालीन डोटेली राजाको दरबारलाई कुनै पनि प्रयोजनमा ल्याउन नसकिएबाट दिनानुदिन जीर्ण हुन गई हाल भग्नावशेषका रूपमा रहेका छन् । डोटेली राजाको मूल दरबार अजैमेरकोट हिउँदको समयमा ज्यादै चिसो हुने भएकाले शीतकालीन दरबारको रूपमा दिपायलमा कोट निर्माण भई यहाँबाट नै डोटी राज्यको राज्य व्यवस्था सञ्चालन हुने गरेको भनाइ छ । सन् १४३८ देखि १४५० सम्म डोटी र कुमाउँको युद्धपछि त्रसित तत्कालीन राजा कल्याण मल्लले दिपायलकोटमा राजधानी सारेको विभिन्न शीलालेखमा उल्लेख गरेको पाइन्छ । युद्धमा पराजयको कारण दीप शाही भारतको सिंगाही पसेकाले शरणमा आएका उनका भाई विष्णु शाहीलाई गोर्खालीको रजौटा बनाइयो । विष्णु शाहीपछि उनका ज्येष्ठ सुपुत्र पहाडी शाही (द्वितीय) रजौटा भएको भनाइ छ । रजौटा डोटेली साहेव भनिने पदमविक्रम शाहका माइला पुत्र वर्ष ७९ का विष्णु शाहीदेखि पुख्र्याैली ज्येष्ठ सुपुत्रहरू रजौटाका रूपमा रही आएको भन्ने भनाइ छ । विष्णु शाही, पहाडी शाही (द्वितीय), बलदेव शाही, सुरजंग शाह, शमशेरबहादुर शाह, पदमविक्रम शाह, मोहनविक्रम शाहले यहाँको राज्य सत्ता चलाएको इतिहास छ । ०१८ सालमा ‘राज्य रजौटा’ ऐन जारी भएपछि यहाँको रजौटा समाप्त हुन गएको बताइन्छ ।

तत्कालीन अन्तिम रजौटाका रूपमा मोहनबिक्रम शाह थिए । ०१८ सालदेखि रजौटा प्रथाको अन्त्य भए पनि डोटीको दिपायल राजपुरस्थित शाह खलकमा पुख्र्यौली ज्येष्ठ पत्रलाई आदरपूर्वक सम्मान दिइनुका साथै बडादसैँमा घरपरिवारका साथै खलकका बाल वयोबृद्ध सबैले उनका हातबाट टीका ग्रहण गर्ने र उनले पनि पारिवारिक तथा खलकको रितीरिवाजको परिधिमा रहनुपर्ने र यसको अनुशरण नगरेमा खलक तथा परिवारले सम्मान नदिने प्रचलन अहिलेसम्म कायमै रहेको स्थानीय बुढापाका बताउँछन् ।

दिपायल सिलगढी नगरपालिका–६ नाचन्थलीमा रहेको राणाकालीन दरबारको उचित संरक्षण नगरिँदा भत्किन थालेको छ । जिल्लाको ‘मल्लो ढोका’ भनेर चिनिने यो दरबार उचित संरक्षणको अभावमा भग्नावसेसमा परिणत हँुदैछ । राणा शासनकालमा हाल जिल्ला प्रशासन कार्यालय रहेको ठाउँलाई ‘तल्लो ढोका’ भन्ने गरिन्थ्यो भने ‘मल्लो ढोका’ दरबार बडा हाकिमको निवासको रूपमा प्रयोग हुने भएको थियो । करिब ४० कोठा रहेको यो दरबार संरक्षण र सम्भारको अभावमा भत्किन थालेको छ । ‘मल्लो ढोका वरिपरि कोत गार्ड, सुसारे निवास, मनोरञ्जन घर, पूजा घरहरू निर्माण भएका छन् । ती घरहरू पनि भत्किन थालेका छन् ।

बहादुर शमशेर राणा बडा हाकिम भएका बेला उक्त दरबार स्थानीय व्यक्तिलाई बिक्री गरिएको थियो । यो कहिले बिक्री भयो भन्ने पत्ता लाग्न नसके पनि बहादुर शमशेर विक्रम् सम्वत् १९९० को दशकमा डोटी गौंणामा रहेकाले त्यसैको आसपासमा यो बिक्री गरिएको अनुमान स्थानीय बुढापाकाको छ । करिब ४६ रोपनी जमिन त्यति बेला १० हजार रुपैयाँमा सिलगढीका सुरत श्रेष्ठलाइ बिक्री गरेको भन्ने सुनेको स्थानीय सिद्धराज श्रेष्ठले बताए ।

यसैगरी सन् १४३९ मा तत्कालीन निरैपाल राजाले आफ्नो शासनकालमा निर्माण गरेको जिल्लाको जोरायल गाउँपालिका–६ निरौली दरबार नाघी मल्ल राजाको शासन कालपछि खाली भएको र निरैपाल राजाका नामबाट पछि गएर यो ठाउँलाई निरौली नाम राखिएको भन्ने किंवदन्ती रहेको छ । मल्लकालीन समयमा राजा नाघि मल्ल र यही ठाउँमा रहेका भागेश्वर देवताबीच को ठूलो भन्ने विषयमा भनाभन चलेको र राजाले आफू ठूलो भएको जिकिर गरेपछि भागेश्वर देवताले राजाको दरबारमा कम्पन गराएपछि राजा डराएर देवतासँग माफी मागेर पूजा गर्न शुरु गरेको डोटेली गीत (चैत, धुमारी) मा उल्लेख गरिएको जोरायल गाउँपालिका–६ निरौलीका स्थानीय शिवराज भण्डारीले बताए ।

उनले भने, ‘नाघि मल्ल राजा र भागेश्वर देवताबीच भएको को ठूलो भन्ने विवादको कहानीमा बनाइएको धुमारीमा अहिले पनि डोटीका स्थानीय गौरा पर्वमा डेउडा खेल्ने गर्छन् ।’ निरौली गाउँभन्दा माथि अग्लो रमणीय डाँडामा यो दरबार अवस्थित छ । ऐतिहासिक तथ्यको संरक्षण गरिराख्न र यस क्षेत्रको पर्यटकीय विकास यो दरबारको उचित संरक्षण र सम्बद्र्धन गर्नुपर्ने स्थानीय बताउँछन् । यो क्षेत्रमा तत्कालीन अवस्थामा मल्ल राजाले प्रयोग गर्ने मगराउ (कुवा) पनि जीर्ण बन्दै गएको छ । त्यस्तै जिल्लाकै बडिकेदार गाउँपालिका बर्छैनमा रहेको रिसेडी दरबारबाट राजा घोडामा चढेर निरौली दरबारमा आउने जाने समयमा बीच बाटोमा घोडालाई दाना पानी दिने ढुंगा तथा फलामका तोपडा पनि संरक्षण नहुँदा टुट्फुट हुन थालेका छन् । संरक्षण अभावमा अहिले यहाँका पुरातात्विक महत्वका अरू संरचनाहरू पनि लोप हुने अवस्थामा पुगेका छन् ।

यस्ता पुरातात्विक र ऐतिहासिक महत्व बोकेका दरबार तथा कोटहरू संरक्षणको अभावमा जीर्ण बन्दैछन् । यी सम्पदाहरू भग्नावशेषमा परिणत हुँदै गर्दा पनि संरक्षणको चासो कसैमा नदेखिएको स्थानीय समाजसेवी डिल्लीराज जोशीले बताए । ‘सुदूरपश्चिम प्रदेशको प्रशिद्ध गौरा पर्वमा पनि राजा नाघि मल्ल तथा भागेश्वर देवताका बारेमा रचिएका गीत (चैत, धुमारी) गाउने चलन अझै पनि छ,’ उनले भने, ‘भएका सम्पदाहरू त लोप हुने अवस्थामा पुगिसकेका छन्, परम्परा र संस्कृतिसँग सम्बन्धित यस्ता चैत, धुमारी पनि लोप नहोला भन्न सकिँदैन ।’ उता जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले निरौली दरबारको संरक्षणका लागि गाउँपालिकाले पहल गर्ने बताए । उनले भने, ‘विज्ञहरूसँगको छलफल र स्थानीयको सुझावका आधारमा निरौली दरबारको संरक्षणका लागि काम अगाडि बढाउने तयारीमा छौँ, पालिकामा भएका दरबारको संरक्षण गरिनेछ ।’

प्रतिक्रिया