भिडभाडले निम्त्याएको कोरोनाको दोस्रो लहर

                डा. डिआर उपाध्याय

यतिबेला नेपालमा कोरोनाको दोस्रो लहर सुरु भएको छ । यसले फेरि सबैजसो क्षेत्रलाई त्रास बनाएको छ । विगत वर्षमा पनि हामी त्रासमा नै बाँच्न बाध्य भयौँ । अहिले पनि त्यही स्थिति आउने हो कि भन्ने चिन्ता छ । बिश्वव्यापी रूपमा फैलँदै आएको कोरोनासँग खेलवाड कसैले गर्नु हुँदैन । यो सँग जोगिन सबैले सतर्कता अपनाउनुपर्छ । अनावश्यक काममा घरबाहिर निस्किन भिडभाड र जमघट हुने कुनै पनि काम गर्नु हुँदैन । हामी सबैले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनु पर्छ । त्यसो भयो भने मात्र कोरोनाबाट बाँच्न सकिन्छ ।

कोरोना संक्रमण फैलियो भने यसको असर सबै क्षेत्रमा पर्नेछ । आज फेरी सबैलाई आफ्नो पेसा व्यवसाय चौपट पर्ने हो कि भन्ने चिन्ता थपिएको छ । नेपाल सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरिसकेको छ । नेपाल सरकारको यो आग्रहलाई सबैले पालना गरौँ । हामी नागरिकले मिलेर नै सरकारलाई सहयोग पुर्याउनुपर्छ । सरकारको एकल प्रयासले केही हुँदैन ।

कोरोनासँग लड्न सबै नागरिक एकजुट हुनुपर्छ । यो पार्टी र ऊ पार्टी भनेर पन्छिनु हुँदैन । राष्ट्रिय संकट आइपर्दा सबै एक ढिका भएर जानुपर्छ । कोरोनासँग जोगिन भिडभाडबाट टाढै रहौँ । धेरै मानिसको जमघट हुने तथा भाइरसको संक्रमण सजिलै फैलने ठाउँहरू तत्काल बन्द गर्नुपर्छ । अबको ध्यान यतातर्फ केन्द्रित हुनुपर्छ ।

महँगीले श्रमजीवी वर्ग सहरमा टिक्नै नसक्ने अवस्थामा पुगेका छन् । मूल्यवृद्धि कसले रोक्ने ? जनता मर्कामा परे । कोरोनाले आम्दानीको बाटो हराएकाहरू पनि भौँतारिरहेका छन् । बिहान खाए बेलुकी र बेलुकी खाए बिहान के खाने भन्ने समस्यामा श्रमजीवी वर्ग छन् । आज देशमा बजारभाउ छोइसक्नु छैन । सबैजसो चिजले आकास छोएको छ ।

कोरोनासँग आफैँ सुरक्षित हुने र दैनिकीलाई फरक ढंगबाट सञ्चालन गर्नेतर्फ सबैले ध्यान दिनुपर्ने आवश्यकता पनि देखिएको छ । विश्वमा कोरोनाको असर नपरेको कुनै पनि मुलुक छैन । कोरोनाले सबैको जनजीवन अस्तव्यस्त बनाएको छ । अर्बौंको धनमालको क्षति भइसकेको छ । अब हरेकले फरक ढंगबाट सोच्नुपर्छ र कोरोनासँग जुधेर बाँच्न सक्ने विकल्पको खोजी गर्नुपर्छ ।

कोरोना संक्रमण रोक्न बढी भिडभाड हुने क्षेत्रहरू जस्तै शैक्षिक संस्था, उद्योग कलकारखाना, होटल, व्यापारिक मललगायतका धेरै मानिसको जमघट हुने ठाउँ बन्द गर्नु अथवा स्वास्थ्य मापदण्ड अपनाई सञ्चालन गर्नु उपयुक्त देखिन्छ । अर्कोतिर यी क्षेत्रहरू बन्द हुँदा अर्थतन्त्र चौपट हुने खतरा छ । मुलुकको अर्थतन्त्रलाई चलायमान गराउनुपर्ने पनि हुन्छ । तसर्थ तत्कालका लागि शैक्षिक संस्था सञ्चालनको वैकल्पिक उपाय खोजिए पनि अन्य क्षेत्रमा विकल्प खोज्नुपर्ने बेला आएको छ ।

गत वर्ष पनि कोरोनाकै कारण लकडाउन भएपछि लामो समयसम्म स्कुल तथा कलेज बन्द रहेका थिए । केही शैक्षिक संस्थाहरूले लक डाउन हुनेबित्तिकै अनलाइन वा अन्य माध्यमबाट पढाइ सुचारु गरेका थिए भने केही विद्यालय लक डाउनको कारणले मर्कामा परेका थिए । यसको असर अहिले पनि परिरहेको छ । अब फेरी लकडाउन गर्नुपर्ने अवस्था पनि आउन सक्छ । कोरोनालाई कुनै क्षेत्रले पनि खेलवाड गरेर आफूखुसी अथवा सरकारको निणर्यलाई बेवास्ता गर्ने काम नगरौँ ।

पहिलो लहरको कोरोना संक्रमणभन्दा अहिले देखिएको कोरोना बढी मात्रमा घातक रहेको कुरा चिकित्सकहरूले बताउँदै आएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण भएका बिरामी मध्ये धेरैजसो जटिल अवस्थामा उपचार भइरहेको पाइन्छ । यदि कोरोनासँग खेलवाड गरियो भने जो सुकैको ज्यान खतरामा पर्न सक्छ । पछिल्लो समयमा आएर कोरोना संक्रमण बढ्दै गएपछि नेपाल सरकारले बढी भिडभाड हुने ठाउँहरूलाई बन्द गर्ने घोषणा गरेको छ ।

बढी मात्रमा प्रभावित हुने क्षेत्रहरू शैक्षिक संस्था, पार्टी प्यालेस, रेस्टुरेन्ट, दोहोरी साँझ लगायतका हुन् । अहिले विशेष गरेर शैक्षिक संस्था बढी मात्रामा प्रभावित भएका छन् । किनभने नजिकिँदै गरेको वार्षिक परीक्षासमेत अन्योलमा परेको छ । कोरोनाले बढी प्रभावित क्षेत्रका शैक्षिक संस्थाहरू पूर्णरूपमा भर्चुअल पठनपाठनमा फर्किएका छन् । अहिले देखिएको कोरोनाले बाल मस्तिष्कमा एक खालको त्रास उत्पन्न गराएको छ । भविष्यका कर्णधार बालबालिकामा यस्तो त्रास उत्पन्न हुँदा उनीहरूको पढाइ प्रतिको रुचि कम हुँदै गएको देखिन्छ ।

बन्दाबन्दीले गर्दा स्कुले शिक्षा प्रभावकारी रूपमा सञ्चालन हुन नसक्ने देखिएको छ । जसले गर्दा अभिभावक आफ्ना बालबच्चाको शिक्षा र मानसिक स्वास्थ्यलाई लिएर चिन्तित बनिरहेका छन् । त्यसैगरी वयस्क व्यक्ति आफ्नो सुरक्षाको बारेमा सोच्न सक्छन्, तर सानो उमेरका कलिला बालबालिकाहरू त्यसो गर्न सक्दैनन् । उनीहरू घरबाट निस्केर नफर्किएसम्म असुरक्षित रहन्छन् । यसरी कोभिड–१९ जस्तो रोगसँग जुध्ने क्रममा चालिनुपर्ने कदमबारे अहिलेसम्म पनि अन्यौल सिर्जना हुन पुगेको छ ।

अभिभावक आफ्ना बच्चाको शैक्षिक वर्ष गुमाउन पनि चाहँदैनन्, भर्चुअल माध्यमबाट पठनपाठन गराउँदा अभिभावकका आफ्ना पेसा, व्यवसाय धरापमा परेको देखिन्छ । बालबालिकाहरूलाई घरमा छोड्ने वा पेसा व्यवसाय छोड्ने यो पनि चिन्ताको विषय बनेको छ । अर्कोतर्फ समस्याको विषय यो छ कि सबैको घरमा इन्टरनेट जोड्ने औकात हुँदैन, सबैलाई पुग्नेगरी पढ्न एकैपटकमा मोबाइल, ल्यापटप उपलब्ध हुन सक्दैन । त्यसैगरी सहरी क्षेत्रबाहेक दूरदराजमा इन्टरनेटको सुविधा हुँदैन ।

त्यसैले शैक्षिक संस्था कोरोनाबाट बढी मात्रमा प्रभावित भएको मान्न सकिन्छ । यो विषयमा नेपाल सरकार र सरोकारवालाबीच छलफल गरी अन्य विकल्पहरू पनि खोज्नुपर्छ । वर्षै पिच्छे कोरोनाकै कारण भविष्यका कर्णधार बालबालिकाको भविष्य पनि बिगार्नु त भएन नि १ यस बारेमा सबैले गम्भिरतापूर्वक सोचौँ । यता प्राणघातकजस्तो कोरोनासँग पनि हेलचक्र्याइँ गर्नु भएन । समस्या यो हो । अहिले देखिएको दोस्रो लहरको कोरोनाको त्रासले बालबालिका मात्रै नभई आमनेपाली जनतालाई त्रसित बनाएको छ ।

गरिखाने वर्गका लागि यो एउटा समस्याको रूपमा देखिन्छ । नेपाल सरकारले पूर्व तयारी अपनाउनुपर्ने जरुरी देखिएको छ । जस्तै सीमानाकामा कडाइ गर्ने, चेकजाँच गर्ने साथै आमनागरिकले पनि सरकारले तोकेको स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्ने गराउने कार्य गर्नु पर्दछ । कोरोनाका कारणले नै अझै देशको अर्थतन्त्र माथि उठन सकिरहेको छैन । बिगत वर्षमा कोरोनाकै कारण धेरैले जागिर गुमाए । स्कुलमा पढाउने शिक्षक, शिक्षिकाहरू आधा तलबमा काम गर्न बाध्य भए ।

अझै पनि त्यहि स्थिति छ । निजी कम्पनीमा काम गर्ने कामदारहरूको पनि अवस्था यस्तै छ । कोरोना कहरको वहानामा श्रमजीवीहरू मर्कामा परेका छन् । व्यापार, व्यवसाय गर्नेहरूको आफनै पीडा छ । उनीहरू सटर, कोठाको भाडा तिर्न नसकेर रुँदै हिँडेको हामीले देखिरहेका छौँ ।
कोरोनाका कारण सबै क्षेत्रको भविष्य डामाडोल बनेको छ । धेरै मान्छेको आम्दानी घट्दो छ । त्यसकारणले उनीहरूलाई बाँच्न धौ धौ छ । महँगीले धेरै मान्छेलाई तनाव बनाएको छ । महँगीले श्रमजीवी वर्ग सहरमा टिक्नै नसक्ने अवस्थामा पुगेका छन् ।

मूल्यवृद्धि कसले रोक्ने ? जनता मर्कामा परे । कोरोनाले आम्दानीको बाटो हराएकाहरू पनि भौँतारिरहेका छन । बिहान खाए बेलुकी र बेलुकी खाए बिहान के खाने भन्ने समस्यामा श्रमजीवी वर्ग छन् । आज देशमा बजार भाउ छोइसक्नु छैन । सबैजसो चिजले आकास छोएको छ । तरकारीको मूल्य अकासिएको छ । भटमास, सनफ्लावरको तेलसँगै चामल, केराउ, हरियो तरकारी, कुखुराको मासु लगायतको मूल्य निकै बढेको छ । खाना पकाउने ग्यासको पनि मूल्य उच्च परिमाणमा बढेको छ ।

यस्तो भएपछि जनता कसरी टिक्ने ? समग्रमा भन्ने हो भने दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको नै हो । पेट्रोल र डिजेलको मूल्य पटकपटक बढाइएको छ । अत्यधिक मूल्यवृद्धिका कारण उपभोक्ताको ढाड सेकिएको अवस्था छ । धेरैले आफनो खर्च धान्नै नसक्ने अवस्थामा पुगेका छन् । मूल्यवृद्धिले धेरैलाई उठिवास लगाएको छ । यसै पनि अधिकांश मान्छेहरूको कोरोनाका कारण आयस्रोत कम हुँदै गएको छ । कतिपय कार्यालयले आफना कामदाहरूलाई अझै पनि आधा तलबमा काम गराइरहेका छन् ।

कतिपय कार्यालयले काममा बोलाउन सकेका छैनन् । अवस्था यस्तो छ । हरेक सामानको मूल्य बढेपछि जनताले के खाएर बाँच्ने ? यो गम्भीर प्रश्न छ । उपभोक्ताको दैनिकीसँग जोडिएका उपभोग्य वस्तुमा यसरी मनपरी मूल्य बढ्नु राम्रो मानिँदैन । अकासिँदो मूल्यवृद्धि हुँदा पनि सरोकारवाला निकाय किन मौन छ ? मूल्यवृद्धि जनताको समस्या बनेर खडा भएको छ । सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायले यसतर्फ गम्भीर बन्नुपर्ने आवश्यकता देखिएको छ । खासमा महँगीले धनीवर्गलाई खासै छोएको छैन । निम्न आय भएका वर्गलाई नै प्रत्यक्ष प्रभाव पारेको छ ।

प्रतिक्रिया